संक्रमित देखिएपछि आदमघाटमा ‘सटडाउन’

संक्रमित देखिएपछि आदमघाटमा ‘सटडाउन’


विकास रौनियार, धादिङ

धादिङको गजुरी गाउँपालिका वडा नम्बर-६ अन्तर्गत आदमघाट बजारमा कोरोना संक्रमित भेटिएपछि शनिबार (२४ साउन) देखि बजार आसपासका क्षेत्रलाई सिल गरिएको छ ।

शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौंमा गरिएको परीक्षणमा आदमघाटनिवासी एक ६२ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको थियो ।

संक्रमित भेटिएपछि अन्य व्यक्तिमा संक्रमण फैलिन नदिन भन्दै गजुरी गाउँपालिकाले शनिबार एक सूचना जारी गर्दै साउन ३२ गतेसम्म आदमघाट बजार र आसपासका क्षेत्र सिल गरेको हो ।

आजैदेखि लागु हुने गरी अर्को सूचना नभए सम्म आदमघाट बजारका अत्यावश्यकीय बहेकका पसलहरू सञ्चालनमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले जानकारी दिनुभयो ।

उहाँले स्वास्थ्य सुरक्षा र कोरोना संक्रमणको जोखिम रोक्न सावधानी अवलम्बन गरी सहयोग गर्न वडाबासीलाई आग्रह गर्नुभएको छ ।

त्यस्तै कोरोना संक्रमण बढिरहेको समय विनामास्क घरभन्दा बाहिर हिँडिरहेका व्यक्तिहरुमाथि इलाका प्रहरी कार्यालय गजुरीले पनि कारवाही गर्न सुरु गरेको छ।

इलाका प्रहरी कार्यालय गजुरी धादिङका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले मास्कको प्रयोगबिना बाहिर ननिस्कन दिएको निर्देशनविपरीत हिँड्डुल गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्ने बताउनुभयो ।

कोरोना सङ्क्रमण निवारण नभएकाले नागरिकलाई भौतिक दूरी कायम गर्न र मास्क अनिवार्य रूपमा लगाउन माइकिङ गरी सूचना गरिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।