बेरुतमा भएको विस्फोटनका कारण ६० जना अझै बेपत्ता

बेरुतमा भएको विस्फोटनका कारण ६० जना अझै बेपत्ता


लेबनानको राजधानी बेरुतमा भएको महा विस्फोटनका कारण बेपत्ता भएका मध्ये ६० जना अझै सम्पर्कविहीन रहेका बताइएको छ । दुर्घटना भएको चार दिन बितिसक्दा पनि बेपत्ता भएकाहरुलाई पत्ता लगाउन नसकिएको सम्बद्ध अधिकारीहरुले जनाएका छन् ।

शक्तिशाली विस्फोटनका कारण अहिलेसम्म १५० भन्दा बढीको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । ‘अहिलेसम्म मृत्यु भएकाहरुको संख्या १५४ पुगेको छ । ती मध्ये २५ जनाको अहिलेसम्म पनि पहिचान हुन सकेको छैन,’ एक अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

अहिलेसम्म पनि ६० जना बेपत्ता नै रहेको र उनीहरुको खोजी तथा उद्धार प्रयास भइरहेको ती अधिकारीले बताएका छन् । लेवनानका स्वास्थ्यमन्त्रीले शुक्रबार झण्डै ५ हजार जना घाइते भएका र ती मध्ये १२० जनाको अवस्था गम्भीर रहेको बबताएका थिए ।

विस्फोटनपछि झण्डै ३ लाखभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् भने त्यही रहेकाहरु पनि त्रसित अवस्थामा रहेका छन् । शक्तिशाली विस्फोटनका कारण उनीहरु घरबारविहीन भएकाले उनीहरु विस्थापित हुन परेको अधिकारीहरुले जनाएका छन् ।

लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा गत मङ्गलबार अबेर विनाशकारी र शक्तिशाली विस्फोट भएको थियो । करिब दुई हजार ७५० टन ‘एमोनियम नाइटे«ट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटनको आवाज धेरै ढाटासम्म सुनिएको थियो ।

यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइटे«ट’ भण्डारण गरिएको थियो । यस विस्फोटनको घटनाप्रति विश्वभरका नेताहरुले सहानुभूति र समवेदना व्यक्त गर्दै खेद व्यक्त गरेका छन् भने कतिपय देश तथा अन्तर्राष्ट्रिय निकायहरुले लेबनानलाई सहयोग पनि गरेका छन् ।

घटनाको अनुसन्धानका लागि हामीलाई अनुरोध भएको छैन : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले बेरुतमा भएको भिषण विस्फोट र त्यसपछि भएको सयभन्दा बढी मानिसको ज्यान गएको घटनाको अनुसन्धानका लागि संयुक्त राष्ट्रसंघलाई कुनै अनुरोध नआएको जनाएको छ ।

यस घटनालाई लेबनानको इतिहासमा नै एक खतरनाक घटनाका रुपमा लिइएको छ । सो विस्फोट राजधानी बेरुतमा रहेको एक गोदाममा राखिएका रासायनिक पदार्थहरुका कारण भएको र यसको थप अनुसन्धान गर्नुपर्ने बताइएको छ । त्यसैले सो अनुसन्धानका लागि आफूहरुलाई अनुरोध नआएको संयुक्त राष्ट्रसंघका एकजना सहायक प्रवक्ताले प्रष्टिकरण दिएका हुन् ।

राष्ट्रसंघका सहायक प्रवक्ता फराहन हकले भने– हामीलाई बेरुतमा भएको सो दुर्घटनाको बारेमा अनुसन्धान गर्न लेबनान सरकारबाट कुनै आग्रह आएको छैन । तर यस घटनाको अनुसन्धान गर्न संयुक्त राष्ट्रसंघ भने तयार रहेको बताएको छ । यस दुर्घटनाको अनुसन्धान गर्न र आवश्यकता अनुरुप सहयोग गर्न तत्पर रहेको पनि सहायक प्रवक्ता हकले बताएका छन् ।