भारतमा एकैदिनमा ९३३ जनाको मृत्यु, ६१,५०० भन्दा बढी सङ्क्रमित

भारतमा एकैदिनमा ९३३ जनाको मृत्यु, ६१,५०० भन्दा बढी सङ्क्रमित


भारतमा कोरोना भाइरसबाट एकैदिनमा ६१ हजार ५०० भन्दा बढी सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरुले शनिबार (८ अगस्त) दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार ५३७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् ।

त्यसैगरी सोही अवधिमा मात्रै कोरोनाका कारण ९३३ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

योसँगै शनिबारसम्ममा भारतमा कुल सङ्क्रमितको संख्या २० लाख ८८ हजार ६१२ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या ४२ हजार ५१८ पुगेको पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

मन्त्रालयले भारतमा अहिले पनि छ लाख १९ हजार ८८ जना सङ्क्रमित अवस्थामै रहेको स्पष्ट पारेको छ । त्यसैगरी १४ लाख २७ हजार ६ जनालाई भने निको भइसकेको छ ।

कोरोनाभाइरसबाट सवैभन्दा धेरै प्रभावित रहेको महाराष्ट्र प्रदेशमा अहिलेसम्म एक लाख ४५ हजार ८८९ जना अहिले पनि सङ्क्रमित रहेका छन् । त्यहाँ कुल सङ्क्रमित मध्ये तीन लाख २७ हजार २८१ जना सङ्क्रमणमुक्त भइसकेका छन् । महाराष्ट्रमा मात्रै कोरोनाका कारण अहिलेसम्म १७ हजार ९२ जनाको मृत्यु भएको छ ।