विप्लवका जिल्ला नेता पक्राउ

विप्लवका जिल्ला नेता पक्राउ


नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका काभ्रेपलान्चोक जिल्ला नेता प्रेम लामा भनिने ३३ वर्षीय प्रशान्तकुमार मोक्तानलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ ।

रोशी गाउँपालिका–५ शिसाखानी छाप निवासी मोक्तानलाई भक्तपुरको सूर्यविनायकस्थित लक्ष्मीमार्गबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाका अनुसार मोक्तानलाई मुलुकी अपराध, २०७४ को परिच्छेद–५ सार्वजनिक हीत, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध कसुरअन्तर्गत दफा ११८ अभद्र ब्यवहार गर्न नहुने कसुर शीर्षकमा मुद्धा दर्ता भई शुक्रबार जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट सात दिनको म्याद थप गरिएको छ ।

यसअघि, गत जेठ १४ गते सो समूहका नेता लेखराज गजमेर धुलिखेलबाटै गिरफ्तार भएका थिए । त्यतिबेला गजमेरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले थुनामुक्त गरेलगत्तै सादा पोशाकका प्रहरीले पुनःगिरफ्तार गरी काठमाडौं ल्याएको थियो ।

सङ्गठित अपराधअन्तर्गत विस्फोटक पदार्थ मुद्दामा केही महिनाअघि पक्राउ परेका गजमेर सर्वोच्च अदालतको आदेशमा थुनामुक्त गर्न आदेश दिएकै दिन जिल्ला प्रहरी कार्यालयको अघिल्तिरबाट पुनः गिरफ्तार भएका थिए ।