छोराबाटै पछ्याइन थालिन् निराकार !

(प्रलय प्रारम्भ–२१)

■ देवप्रकाश त्रिपाठी

निराकार पूर्ण निद्रामा थिइन् । हल्का वर्षा भइरहेको थियो । निद्रामै उनी सुन्दर बगैँचामा पुगिन् । त्यहाँ पुतली र माहुरीहरूका बीच खेल्दै थिइन्, कालो न कालो कपडामा बेरिएर हाँस्दै अभ्यस्त आयो । उसको आँखा ज्यादै डरलाग्दो थियो र हाँसो पनि अस्वाभाविक । निराकारको अगाडि आएर ऊ ठिङ्ग उभियो । निराकारलाई शिरदेखि पाउसम्म नियाल्यो, अनि दुवै हात अघि बढायो, उनी दुई कदम पछि हटिन् । ऊ तीन कदम अघि बढ्यो र उनलाई समातेर यसरी अँठ्यायो कि फुत्कन असम्भव भयो । उनले अभ्यस्तको हात हटाउन अनेकौँ कोसिस गरिन् तर सकिनन् ।

त्यसपछि हार खाँदै उनले भनिन्, ‘बाबु हात छोड ।’ अभ्यस्तले हात हटायो ।

यो मौकाको सदुपयोग गर्न उनी चुकिनन्, फरक्क फर्किइन् र कुदिन् ।

अभ्यस्त पनि उन्मादले पागलसरह भएको थियो, त्यत्तिकै छोड्नेवाला थिएन, पछिपछि कुद्यो पक्रन । निराकारको सवाल जिन्दगीको थियो । निराकार ‘बचाऊ–बचाऊ’ भन्दै चिच्याउँदै कुदिन् । सामान्य अवस्थामा चढ्नै नसक्ने ढिस्का र कान्लाहरू चढ्दै उनी जङ्लछेउमा पुगिन् । त्यहाँबाट सिधै तल ओर्लिन् र खोला तरिन् । अभ्यस्तले पछ्याउन छोडेन ।

अकस्मात् ब्येहोर्नुपरेको यो सङ्कटले निराकारमा मानसिक हैरानी त पैदा गराएकै थियो, धेरैबेरको कुदाइको कारण शारीरिक रूपमा पनि उनी थकित भइसकेकी थिइन् । यसरी जति कुदे पनि अन्ततः अभ्यस्तको फन्दामा पर्ने नै भइयो भन्ने उनले ठानिन् ।

त्यसपछि दौडँदै गएर एउटा अलिक ठूलो रुखमा चढिन्, एउटा हाँगो भाँचेर लौरोको रूप दिइन् र केही माथिको ठूलो हाँगामा आड लिएर बसिन् ।

अभ्यस्त रूखमै चढ्यो, फटाफट आमा भएतिर बढ्यो । निराकार अझै माथितिर सरिन् । तर, उसले आफ्नो गति रोकेन, आमालाई पक्रने मनसायले अघि बढि नै रह्यो । निराकारले आफूसँग रहेको लठ्ठीले अभ्यस्तको हातमा जोडले प्रहार गरिन् । हाँगोमा समातिरहेको हातमा लौरोको प्रहार परेपछि अभ्यस्तको हात हाँगाबाट छुट्यो, उसले आफूलाई नियन्त्रणमा राख्न सकेन, असन्तुलित भयो र ढुनमुनिदै रुखबाट जमिनमा खस्यो ।

निराकारलाई ठूलो गल्ती गरेको महसुस तत्क्षण भयो र उनी बेसरी चिच्याइन्, ‘अभ्यस्त !’

आमाको आवाजले सुतिरहेको अभ्यस्त बिउँझियो, निराकार त चिच्याहटसँगै यब्युँझेकी छंँदै थिइन् । अभ्यस्तले ‘के भयो’ आमा भनेर सोध्यो, ‘किन चिच्याउनुभएको यसरी’ भनेर पटक–पटक उसले सोधेपछि उनले भनिन्, ‘केही होइन बाबु, एकदमै नराम्रो सपना देखेँ अनि सपनामै चिच्याउन थालेछु ।’

‘कस्तो सपना देख्नुभयो आमा, त्यसरी चिच्याउनुपर्ने गरी ?’ अभ्यस्तले जिज्ञासा राख्यो ।

जवाफमा उनले यति मात्र भनिन्– ‘त्यो बडो डरलाग्दो थियो ।’

त्यसपछि निराकार अभ्यस्तको नजिकै आइन् र उसको छेउमै बसिन् । अभ्यस्त छक्क पऱ्यो, ‘सधैं दूरीमा बस्ने आमा किन यसरी जोडिएर नै बस्न आएकी होलिन् ।’ उसले फेरि सोध्यो, ‘के भयो आमा ?’

‘डरलाग्दो सपना थियो, म एकैछिन यहीँ बस्छु तिमी सुत !’ उनले भनिन् ।

‘तपाई नसुती म पनि सुत्दिनँ’, अभ्यस्तले पनि अड्डी लिने विचार गऱ्यो । ‘कि सपना कस्तो थियो भन्नुपऱ्यो’, उसले थप्यो ।

‘नराम्रो सपना कसैलाई पनि भन्नुहुँदैन’, सन्दर्भलाई टुङ्ग्याउँदै उनले भनिन् ।

‘त्यसो भए सुत्नुहोस् न त, रात अझै बाँकी छ धेरै’, अभ्यस्तको यो आग्रहलाई उनले काटिनन्, आफ्नो बिछ्यौनामा गइन् र सुतिन् ।

सुत्न त सुतिन् तर उनी निदाउन सकिनन् । सपनाकै दृश्य मानसपटलमा घुमिरह्यो उनको । कुनै पनि दिन हुन नसक्ने विपना थिएन त्यो सपना । अहिलेसम्म त छोरा आज्ञाकारी छ, तर्क गर्छ, तर के कुनै दिन उसले धैर्य गुमाएर मर्यादा भङ्ग गर्न तम्सियो भने..?

धर्तीका जम्मा दुई मानव त्यसमा पनि सहोदर आमा–छोरा, त्यहीसँग आज यति असुरक्षित महसुस गर्दै छिन् निराकार, जति प्रलयको समयमा उनले महसुस गर्नुपरेको थियो । तर, पोखेर हल्का महसुस गर्ने अवसर पनि उनलाई छैन । एउटा अर्को प्रलय जो आफ्नै आँखाको सामु छ, त्यसलाई कसरी रोक्ने ? सोच्दासोच्दै उनी निदाइन् ।

अभ्यस्त भने पहिले नै निदाइसकेको थियो । त्यसैले बिहान हुनुअगावै उसको निद्रा खुल्यो । आमाको ओछ्यानतिर उसले चियायो, उनी मस्त निद्रामा थिइन् ।

अब सोच्ने पालो अभ्यस्तको भयो, आगामी कैयन वर्ष यसरी नै बितेछ भन्ने उसलाई परिरहेकै थियो । आमा सृष्टिको निरन्तरताको पक्षमा हुनुहुन्न भन्ने निश्चय उसले गरेको थियो । ‘अब मैले के गर्ने ?’ उसको मानसपटलमा यही प्रश्न घुमिरह्यो ।

भविष्यमा एक्लै हुनुपर्छ, उसलाई थाहा छ, तर ऊ अहिले नै एक्लो महसुस गर्न थालिसकेको छ । ‘अब मैले आमासँग यो विषयमा निर्णायक कुरा गर्नैपर्छ’, उसले अठोट गऱ्यो र उज्यालोको प्रतीक्षा गर्न थाल्यो ।

पूर्व क्षितिजमा उज्यालो देखियो, आकाशमा सूर्य देखापरेको थिएन । आमाको निद्रालाई दखल नपुगोस् भनी ऊ बडो होसियारीसाथ उठ्यो र नित्यकर्मका लागि बाहिर निस्कियो । छहरामा सदाझैँ पानी ओर्लिरहेको थियो, छङछङ आवाज र प्रवाहमा निरन्तरता ।

किन–किन आज अभ्यस्त छहराप्रति अलिक बढी नै मोहित भएको छ । ऊ सोच्दै छ, ‘छहराले बरू सृष्टिको निरन्तरता धानेको छ । आफू त चेतनशील मानिस भएर पनि प्रकृतिको बिँडो थाम्न नसकिने भइयो !’

उ अब कुनै पनि निर्णयका लागि तयार भएको छ । तथापि एकपटक आमासँग निर्णायक कुरा गर्नैपर्ने कुरालाई भने उसले दिमागबाट हटाएको छैन । ‘आमासँग आजै निर्णायक कुरा गर्छु’– दृढ सङ्कल्प गऱ्यो अभ्यस्तले ।

नित्यकर्म सकेर ऊ घर फर्कियो । घर पुग्दा आमा पनि घरबाट बाहिर निस्कन तयार भइसकेकी रहिछन् । अभ्यस्त भित्र प्रवेश गर्ने र निराकार बाहिरिने एकैपटक भयो । दुवै जना एकअर्कालाई हरेर मुस्कुराए, तर शब्द दुवैबाट निस्किएन ।

एकैक्षणपछि निराकार फर्किन् । घरमा आउनेवित्तिकै खाना तयार गरिन् । तयार गर्नु के थियो, तताउने र पस्कने काम गरिन् ।

बिहानको पहिलो खाना खाने क्रम शुरु भयो । खाँदै गर्दा केही प्रश्न गर्ने मनसायले अनेकौँपटक अभ्यस्तले निराकारतर्फ टाउको उठायो, तर कहाँबाट कुरा शुरु गर्ने भन्ने कुरामा स्पष्ट नभएर ऊ अकमकियो र मोडियो । अनेकौँ पटक केही भन्न खोज्ने तर नभन्ने गरिरहेको निराकारलाई मन परेन । उनले भनिन्, ‘के भन्न खोजेको बाबु ? किन अड्किरहेका छौ ?’

‘कुरा के भने नि आमा, तपाईंको शेषपछि म कसरी बाँच्ने होला, किन बाँच्ने होला, अचेल मेरो दिमागमा केवल यस्तै प्रश्नहरू आइरहन्छ’, उसले बडो मुस्किलले शब्दको मुहान खोल्यो ।

‘यो कुरा अझै धेरै टाढा हुनुपर्छ बाबु, धेरै टाढाको कुरा सोचेर आफूलाई तनावमा राख्नुहुन्न’, निराकारले कुरा यहीँ टुङ्ग्याउने विचार गरिन् ।

तर, अभ्यस्त त आज निर्णायक कुरा गर्ने मानसिकतामा थियो । त्यसैले ऊ रोकिएन ।

कुरा लम्ब्याउने कोसिस गर्दै भन्यो, ‘म त चाहन्छु, त्यस्तो दिन नै नआओस् । तर, यो मेरो इच्छाले निर्धारण गर्ने कुरा होइन । जुन दिन आउला एक दिन त त्यो आउँछ, तपाईं र मलाई छुटाउँछ अनि हामी सदाका लागि एक्लिने छौँ ।’

‘हामी परमात्मामा लीन हुनेछौँ, ढिलो र चाँडोले के फरक पार्छ र ? हामीमध्ये जो एक्लिन पनि सक्छौँ र नएक्लिन पनि ।’

‘नएक्लिने कसरी ?’

‘एकै दिन दुवैले धर्तीको बास छोड्न पनि सकिन्छ, तर यस विषयमा अहिले नै सोच्ने बेला भएको छैन’, निराकारले फेरि पनि कुरा छोट्याउन चाहिन् । तर अभ्यस्तको ढिपी रोकिएन । उसले निराकारलाई अन्तिमपटक कोट्याउने मनसायले सोध्यो, ‘पृथ्वीका अन्तिम मानव हामी नै हौँ, होइन त आमा ?’

‘हो, एकदमै हो ।’

‘नयाँ मान्छेहरू प्रकट हुने सम्भावना छैन होइन ?’

‘खै, मैले त त्यसको सम्भावना देखिरहेकी छैन ।’

‘पक्का होइन त ?’

‘एकदम हो, यहाँ अब नयाँ मान्छेहरू कसरी प्रकट होलान् र ?’

निराकारका यी जवाफपछि अभ्यस्तको मुहारमा निराशापूर्ण भाव देखियो । ऊ केही बोलेन, जुरुक्क उठ्यो र चुपचाप घरदेखि तलतिर लाग्यो । निराकारले पनि कहाँ जान लागेको भनेर सोधिरहन आवश्यक ठानिनन् । आँगनको डिलसम्म आएर हेरिन्, ऊ बेजोड गतिमा टाढिँदै थियो । हेर्दाहेर्दै झाडीमा ऊ कतै विलीन भयो ।(क्रमशः)

यसअघिको खण्ड हेर्नुहोस्–
सृष्टिलाई निरन्तरता दिनु पर्छ या पर्दैन ?



प्रतिक्रिया