जिम्मेवारी बोध र शासकीय क्षमता सरकारसँग नदेखिएको काङ्ग्रेसको आरोप

जिम्मेवारी बोध र शासकीय क्षमता सरकारसँग नदेखिएको काङ्ग्रेसको आरोप


कोरोना भाइरस सङ्क्रमणको रोकथाम र उपचारलाई थप प्रभावकारी बनाउनुपर्ने माग गर्दै अनशनरत युवाको भावनालाई अविलम्ब सम्बोधन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै अनशनमा बसेको तीन साता पुग्दा पनि ठोस संवाद र समाधानका लागि सरकार गम्भीर नदेखिएको आरोप लगाएका छन् ।

अनशनरत युवाको भावनालाई अविलम्ब सम्बोधन गरी जीवनरक्षा गर्न अपिल गर्दै प्रवक्ता शर्माले कोरोनाविरुद्धको सङ्घर्षमा बढेको चुनौती सामना गर्ने ढङ्गले नवीन रणनीति एवं अपेक्षित गतिका साथ कार्य गर्न सरकारसँग माग गरेका छन् ।

कोरोनाविरुद्धको सङ्घर्षमा युद्धस्तरमा कार्य गर्न कांङ्ग्रेसले शुरुआतदेखि नै विभिन्न सुझाव र मागअघि सार्दै आएको उल्लेख गर्दै उनले पर्याप्त स्वास्थ्य सामग्री व्यवस्थापन, खरिदमा भएको भ्रष्टाचारमा कारवाही, समुदायस्तरमा व्यापक पिसिआर परीक्षण, मापदण्डअनुसार क्वारेन्टिन व्यवस्थापन, आइसोलेशन वार्ड र अत्यावश्यक भेन्टिलेटरको व्यापक व्यवस्था, विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई निःशुल्क उद्धार, सीमानाकामा कडाइलगायतका माग दोहोर्‍याएका छन् ।

जनताको जीवन रक्षा गर्न युद्धस्तरमा कार्य गर्ने जिम्मेवारी बोध र शासकीय क्षमता दुवै कुरा सरकारसँग नदेखिएको आरोप लगाउँदै उनले परिणाममा सरकारकाविरुद्ध जनआक्रोश बढ्नु र प्रदर्शन हुनु स्वाभाविक भएको बताएका छन् ।

प्रवक्ता शर्माले विभिन्न माग राखेर राजधानीमै युवाहरू आमरण अनशनमा बसेका बताउँदै सरकार स्वयंले अघिल्लो अनशनमा स्वीकार गरेको सम्झौता पालना गर्न पार्टीका तर्फबाट सरकारको ध्यानाकर्षण गराएका हुन् ।