मृत्युको आभासमा सङ्क्रमित समय

मृत्युको आभासमा सङ्क्रमित समय


  • प्रकाश के.सी., लण्डनबाट

अब उमेरको त्यो घुम्तीमा पुगिएछ जहाँबाट जीवनमा अहिलेसम्म भोगिएका अनुभूतिहरूको निचोडले धारणा बनाएर त्यसलाई व्यक्त्याउन सक्षम प्रवुद्धता प्रदान गरिसकेको हुन्छ । जीवनयात्राको निरन्तरताको बीचोबीच खडा भएर छोडिएका समयहरूको लेखाजोखा गर्दै आगामी यात्राको सम्भाव्यताको आँकलन गर्ने क्रममा, त्यसरी खडा भएको मेरो अहिलेको अवस्थाले भने सो प्रकारको प्रवुद्धताको न्यूनतम परिणाम नदिएको हो कि जस्तो लाग्ने गरेर वास्तवमा यता म खोक्रो भएको छु ।

मैले पकाएको अनुभवले आँक्न नसक्ने गरेर वर्तमान हालतहरू आकासिएका छन् । मेरो अनुभूतिबाट उछिट्टिएर वास्तविकता भोगको निरुद्धतामा सतहिएका छन् । मलाई यहाँसम्म मैले गुजारेको जीवनका समयहरूलाई आधार बनाएर धारणा व्यक्त गर्न असमर्थ गर्ने गरी पसारिएको वर्तमानले जीवन अनि जीविका अन्योलग्रस्त देखाएको छ । आँखाभरि सपना र मनभरि उमङ्ग लिएर जीवनलाई सिँगार्न उद्यत् युवाहरूले नदेख्ने भयावह मुस्किलहरू देखिरहेको छु यहाँबाट अगाडि । फूलहरूमा काँडा ज्यादा तिखारिए झैँ, समय आफैमा अफाप लाग्ने गरी सशंकित लाग्दछन् । स्थापित परम्पराहरूको धरोहर ढाल्ने गरी बगेको अफापिलो समयले मानवीयताको न्यूनतम सम्वेदनशीलताको दोहन गरेको देख्न वाध्य आँखाहरू अभ्यस्त हुँदै निरन्तर बदलिँदो, निरन्तर कष्टकर हुँदो नियति भोग्दैछु ।

महामारीले विश्राम लगाएको दैनिकीका निरन्तरताहरूले गर्दा योपालि मेरा स्वर्गीय आमाबाबाको वार्षिकीमा नेपाल जान सकिएन, न त यहाँ नै पुरोहित बोलाएर कर्मकाण्ड पूरा गर्न सकियो । आफ्नो पीर आकासिएको लाग्ने मानवीय चेतनामै पनि गहिरो लाग्ने गरी यहाँ मेरा कतिपय परिचित अनि श्रीमतीका तर्फबाट आफन्तहरूले पीर खेपेका छन् । मलामीमा पनि मान्छेहरू लान नसकिएका मेरो एक परिचितका बाबु एक प्रकारले अपूरो खरानी भए । मेरा एक मित्रका आफन्तले आफ्नी श्रीमतीलाई अलविदा नै भन्न पाएनन् । कोरोनाले संक्रमित उनकी श्रीमतीलाई अस्पताल लगेको तेस्रो दिन नै मृत्युले लगेको थियो, साथमा उजाडिएको सानो सुन्दर घर र एक अवोध बालिकालाई एक्लो, शून्य अनि उदास बाबुको हालातमा छोडेर ।

यस्तै, एक परिचितकी आमाको नेपालका मृत्यु भएको थियो, एक्लो छोरो उनी नेपाल जान सकेनन्, आमाको पार्थीव शरीरलाई हेर्न सकेनन्, छुन सकेनन्, दागबत्ती दिन सकेनन् । चार जना पुलिसद्वारा घरमा काम गर्न राखिएकी केटीको रोहबरमा खरानी भइन् मेरो परिचितकी आमा । पारम्परिकता मात्रै होइन, धार्मिक पद्धति, वैदीय तथा सनातन रीति नै तहसनहस पार्ने गरेर कोरोना भाइरसले त्यस्ता हजारौँ जीवनहरू लियो र लिइरहेको छ । ‘म ठीक भएर छिट्टै आउँछु..’ भनेर मुस्कुराउँदै अस्पताल गएका मानिसहरूका आफन्तले तिनका मुखबाट भेण्टिलेटर हटाएर तिनले विस्तारै आँखा चिम्लेको भिडियोकलमा हेर्न बाध्य तिनका परिवारहरूका मानसिक आन्दोलन र पिरलो विस्फोटनको कुरा गरेर साध्ये छैन ।

संसार ठप्प भएको लाग्ने गरी महामारी संसारमा संक्रमित छ । महामारीको आक्रान्ततामा निःशब्द भोगाइ भोग्न अभिशप्त रहेका मानिसहरू, अप्ठ्याराहरूका अशेष आभास बटुलेर विस्फोटनको जँघारमा पुगेका छन् । अन्य जस्तै हामी नेपालीहरू पनि त्यसबाट पृथक रहेनौँ, सरकारले जति नै शुरो बोले पनि हामी पनि त्यही हौँ जहाँ शुरु र अन्यबीचको मात्रै जीवन भनिन्छ । बिलौनाको हद हो, लाचारीको हद हो, कतिपय सामाजिक सञ्जालमा सिलिङफ्यान राख्ने हुकलाई प्रतिबन्ध लगाउन सरकारसँग माग गरिएको छ । कति रुनु त्योभन्दा ज्यादा यो जमानामा ?

काभ्रेबाट ७ वर्षपहिला सपनाहरूको आकासिएको चुलीलाई नजिकैबाट नियाल्दै बेलायत छिरेका रामहरि सापकोटा विगत तीन महिनादेखि बेरोजगार छन् । शुरुको दुई महिना सरकारी अनुदानअनुसार आफ्नो तलवको ८० प्रतिशत थापेका रामहरिले पछिल्लो महिनामा ५० प्रतिशत थापेका छन् र अर्को महिनामा त्यो पूरै बन्द हुने भएको छ किनकि उनले काम गर्ने पसल सदाकै लागि बन्द हुने भएको छ । उनकी श्रीमती गीता काभ्रेमा नै छिन्, श्रीमतीलाई यता ल्याउनका लागि चालिएका उनका कदमहरू आर्थिक असक्षमताले गर्दा स्थगित भएको छ । रामहरि भन्छन्…बाँच्न नै पो गाह्रो हुने भो भन्या ।… जीवन वास्तवमै अति अमूल्य उपहार हो तर जीवन त्यतिखेर सस्तो अनि खस्रो लाग्छ जतिखेर मानिसले भोग्ने भोलि आजभन्दा कष्टकर लाग्छ वा देखिन्छ । वर्तमान, समस्या अनि अप्ठ्याराहरूका भारी बोकेर अगाडि अढेसिन्छ र भविष्य, सिमलको पातजस्तो हावामा तितरवितर हुँदै अन्यौल भौँतारिन्छ । आफ्नी दुई बहिनीहरूलाई पढाउनु, हुर्काउनु अनि विवाह गराउनुदेखि लिएर आमाको उपचार गराउनु, बुवाको आशा बन्नुपर्ने अवस्थामा रहेका रामहरि यहाँ अहिले आफै साहारा खोज्नुपर्ने अवस्थामा पुगेको बताउँछन् । ७ जनाको लागि दर्खास्त आह्वान गरिएको एक रेष्टुरेन्टमा ४०० जना मानिसले रोजगारीका लागि दर्ता गरेको ठाउँमा उनी खडा हुन सकेनन् । अग्ला गोह्रा र कालाहरूको त्यो लामो लाइनमा हराएका उनी आफैलाई निकालेर बाहिर ल्याउन लाचार रहे ।

मानिसहरूले जीवनमा जिउनदेखि हात किन उठाउँदछन् ? प्रकृतिको अमूल्य उपहारस्वरुप पाएको जीवनलाई साँच्न नसक्ने अवस्थाको के कुनै समाधान छैन र ? यो रामहरि बोलेका होइनन्, पारिवारिक आशा र वर्तमान समस्याहरूको झटारोको दुखाइको अभिव्यक्ति हो त्यो । नेपालमा हजारौँ रामहरिहरू छन् । हात्ती चढ्नेहरूलाई देखेर घरको धूरी चढ्ने प्रवृत्तिहरू छन् । अप्ठ्यारो, असहज अनि अफापिलो राजनीतिक परिवृत छ । नेपालीहरूका कतिपय रामहरिहरू सिलिङमा अड्क्याइएको फ्यानको हुकहरू ताक्न खोज्छन्, निस्सासिएर, नारासिएर अभावदेखि अनि अफापदेखि ।

सन् १९९८को अप्रिल महिनाको २२ तारिख पोखरा छोडेर भोलिपल्ट काठमाडौं हुँदै हङकङ भित्रिएपछि वास्तविक रुपमा नेपालबाट पलायन भएको मेरो जीवनले आप्रवासी उमेर २२ वर्ष गुजारिसकेछ । महामारीको तटस्थताको सन्दर्भ नै हुन सक्छ, समय पर्याप्त मिलेको छ सम्झनाहरूलाई केलाउनका लागि । जगमग जगमग गरेर सपनाहरू मानसिकतामा झलमलिएका लाग्दथे, फूर्तिहरू उदण्ड लाग्दथे । जीवनमा पहिलोपटक परदेशिएका मजस्ता कैयौँ साथीहरू हङकङको भूमिमा जिउनका लागि अचानकै सडकमा आएका थियौँ । तथाकथित सपनाहरू चिथोरिएका थिए तथापि मानविय मनोविज्ञानअनुसार विषम परिस्थितिमा पनि समयानुसार सपना उमार्न सक्षम अरुजस्तै हामीहरू नयाँ किसिमले सपनाहरू उमार्न व्यस्त भएका थियौँ । दुःख अनि अप्ठ्याराहरूमा फलाएका मित्रताहरू जीवनको कुनै त्यस्तो कुनामा व्यवस्थित हुन्छन् कि जसलाई समय–समयमा खोतल्दा अतीत मुस्कुराउने गर्दछ ।

हङकङे जीवनको शुरुमा, हङकङमा एक किसिमले व्यवस्थित नहुन्जेल, साथ रहेका साथीहरूलाई कसैले सायदै भुल्लान् । मैले पनि भुल्न सक्दिनँ । कमल, देवेन्द्र, विकास र लक्ष्मी ती व्यक्तिहरू थिए, जोसँग वास्तवमा जीवनलाई अर्काको भूमिमा कसरी बचाउन सकिन्छ भनेर सँगसँगै सिकिएको थियो । शुरुका सानो समयसम्म साथ रहेका यी साथीहरू तत्पश्चात् त्यहीँ हङकङकै हराएका थिए, या हुन सक्छ तिनको समागमबाट म हराइएको थिएँ, तर पनि तिनीहरू मेरो अनुभवबाट, ती अनुभवका सम्झनाहरूबाट कहिल्यै हराएनन् । हङकङ वास्तवमै अचम्म लाग्ने शहर हो, जहाँ कसैलाई भेट्दिनँ भन्दा पनि बारम्बार भेटिन्छन्, यसो भनौँ ठोकिन्छन् नै, तर कसैलाई भेट्न खोज्दा पनि वर्षौं वर्ष भेट्न सकिन्न । तीमध्ये एक मित्र थिए लक्ष्मी सोल्टी । उनको अक्सर किन पनि चर्चा चल्थ्यो मेरो उप्रान्तका दिनहरूमा भने, उनी भ्यागुता देख्नासाथ भाग्दथे । मोटो किसिमले तन्दुरुस्त लाग्ने लक्ष्मी भन्ने गर्दथे…मलाई भ्यागुतालाई हेर्दा यस्तो लाग्छ, यो मेरो पूर्वज हो र यसले मुख चलाएर गाली गरिरहेको छ, अब झम्टेर कोपर्छ…। हामी, चुन ओ कम्पनीले लिएको, हङकङ सरकारको लागि विभिन्न ठाउँहरूमा तीन मीटर खाल्डो खनी माटोको स्याम्पल निकाल्ने काममा लागेका थियौँ, सोअनुसार डाँडाकाँडाहरूमा काम गर्नु पर्थ्यो । लक्ष्मी सोल्टी मोटा भएकाले अलि उकालो ठाउँमा उक्लन नसक्ने थिए, उनलाई उकाल्नको लागि हामीलाई स्यानो भ्यागुता खोज्नु मात्र पर्थ्यो, उनी भ्यागुता देख्नासाथ यसरी भाग्थे कि, उनलाई त्यतिखेर कुनै उकालो र अप्ठ्यारोले रोक्दैनथ्यो । वानचाईको सब्जी मार्केटमा भएको एक बिल्डिङको पहिलो तलामा बस्ने उनकोमा हामीहरू अक्सर मासु बोकेर जान्थ्यौँ, उनी तुरुन्तै पकाउँथे । उनकी सानी छोरी थिइन्, जो बाबुलाई भ्यागुता देखाएर तर्साउँथिइन्, सोही स्यानी केटीलाई काखमा राखेर अन्य साथीसहित खिचेको तस्बिर हेर्दा उनलाई सम्झेर खोज्ने प्रयत्न नगरिएका पल कहिल्यै आएन । उनको सम्झना मात्रले पनि हङकङकोे शुरुको कष्टकर जीविकोपार्जनको मिठास आउँदथ्यो ।

१९ वर्षपछि सोही मित्रले बेलायत आएर मलाई मेसेन्जरमार्फत सम्पर्क राखेका थिए । घण्टौँ कुराहरू गरिए । डाइबिटिजले गर्दा केही वर्षअगाडि उनको दुवै खुट्टाहरू काटिएका रहेछन् । साह्रै–साह्रै दुःख लाग्यो । दुई–तीन महिनापहिले मात्र यहाँ छोरीसँगै आएका रहेछन् । बेलायतमा उपचार राम्रो हुने उनकोलगायत परिवारको निक्र्यौल रह्यो होला सायद । समय यतिखेर लकडाउनको थियो । फोनमा बाहेक भेटघाट नहुने अवस्था थियो । उनलाई पक्कै भेट्ने प्रतिबद्धता जनाएँ । त्यसपछि पुराना दिनको सम्झना गर्न थाल्यौँ र १९ वर्षअगाडिको समय जीवन्त भएर अगाडि आयो । बितेको कुरा यतिखेर सम्झनु भनेको बितेको कुरा वर्तमानमा बाँच्नु रहेछ । चेरीलाई बताएँ । उनले एलबमहरू निकाल्न थालिन् । म लक्ष्मी सोल्टीलाई सरप्राइज दिन चाहान्थेँ तर भेटिएन र पछि खोजेर देखाउने बाचा गरेर सो दिन लगभग तीन घण्टा बोलेपछि हामीले फोन राखेका थियौँ ।

तपाईंले साह्रै दुःख पाउनुभएछ, तर हरेस नखानुस्, तपाईं बेलायतमा हुनुहुन्छ । यहाँ मस्तीसँग बाँच्नको लागि पुग्दो नदिए पनि मर्न दिँदैनन् सितिमिति, त्यसैले भरोसा राख्नुस्, तपाईंलाई केही हुँदैन । तपाईंकी त छोरी पनि ठूली भइसकिन्, छोरो ठूलो भइसक्यो । हरेस नखानुस् ।…म जसरी भए पनि फोटो खोजेर पठाउँछु र यो लकडाउन केही खुकुलो हुनासाथ भेट्न आउँछु ..भनेँ । उनले ..हुन्छ, मरिएन भने अवश्य भेटौँला सोल्टी..

त्यसको एक हप्तापछि मेसेन्जरमा उनले फोन गरे । दाँत दुखेर अस्पतालमा भर्ना भएको व्यहोरा बताए । ..दाँत दुख्नु कुनै ठूलो कुरो होइन,.. भनेँ । आफ्नो एकताका दाँत दुखेर सुन्निएको गालाको तस्बिर उनलाई पठाएँ, उनले पनि आफ्नो सुन्निएको गालासहितको निन्याउरो, दुब्लो अनि बुढो देखिने तस्बिर मोबाइलबाट खिँचेर पठाए । अति दुःख लाग्यो । आगोजस्तो धप्प बल्ने लक्ष्मी सोल्टीलाई १९ वर्षको क्रूर समयले ज्यादै चिथोरेछ । त्यसको तेस्रो दिन उनले फेरि फोन गरे । सञ्चोबिसञ्चो सोधेँ । गाला सुन्निएको निको नभएको बताए । म अचम्ममा परेँ । अस्पतालमा भर्ना गरिसके तापनि उनको दाँत दुखेको किन निको भएन, र निको नभएको व्यक्तिलाई किन घर पठाइयो ? .. गिँजाको सानो टुक्रा अनसन्धानको लागि लिएर गएका छन्, क्यान्सर हो कि भन्छन् सोल्टी, म त मर्छु पो क्या रे । ..तपाईँसँग हाम्रा पुराना फोटो भए पठाउनुस्, साह्रै हेर्न मन लाग्यो । … उनको भनाइले मनलाई साह्रै नै गलायो । चेरीले अक्स्फोर्डतिर भेट्न जाऔँ भनिन् । लकडाउन पूरै खोलिएको थिएन । चेरी आफै पनि अप्रेशन गरिएकी अनि उच्च रक्तचापकी बिमारी भएकी उनको लागि पनि यस्तो बेलामा अन्यत्र जानु हानिकारक थियो, सम्झाएँ । त्यसपछि उनी फेरि एक एक एलबमका हरेक पानाहरू पल्टाउन थालिन् । मैले लक्ष्मीलाई … तपाईंले साह्रै दुःख पाउनुभएछ, तर हरेस नखानुस्, तपाईं बेलायतमा हुनुहुन्छ । यहाँ मस्तीसँग बाँच्नको लागि पुग्दो नदिए पनि मर्न दिँदैनन् सितिमिति, त्यसैले भरोसा राख्नुस्, तपाईंलाई केही हुँदैन । तपाईंकी त छोरी पनि ठूली भइसकिन्, छोरो ठूलो भइसक्यो । हरेस नखानुस् ।…म जसरी भए पनि फोटो खोजेर पठाउँछु र यो लकडाउन केही खुकुलो हुनासाथ भेट्न आउँछु ..भनेँ । उनले ..हुन्छ, मरिएन भने अवश्य भेटौँला सोल्टी… भने ।

धेरै खोजियो सो तस्बिर । एल्बम, कम्युटर, एक्स्टर्नल हार्ड डिस्क सबैतिर खोजे पनि तस्बिर भेटिएन । त्यसपछि धेरैपटक मेसेन्जरमा फोन गरेँ, म्यासेज पठाएँ, उनको फेसबुकमा उनका साथीहरूलाई सम्पर्क राख्ने प्रयास गरेँ, दुइटालाई फ्रेण्ड रिक्वेस्ट पनि पठाएँ तर कतैबाट उनको हालातको बारेमा केही थाहा भएन । केही अगाडि अक्स्फोर्डतिर जाँदा उनको बारेमा सोधपुछ गरेँ । उनी सायद नयाँ भएकाले, जसलाई सोधें, तिनले चिनेनन् । धेरैपछि, हङकङका धेरै पुराना मित्र गणेश इजम, जो लगभग महिनादिन अस्पतालमा बिताएर, कोरोना भाइरसलाई पराजित गरी घर फर्केका थिए, सँगको घण्टौँ घण्टौँको गफगाफको क्रममा थाहा लाग्यो, अक्सफोर्डमा रामप्रसाद भनिने लक्ष्मीको क्यान्सरका कारण लगभग एक महिनाअगाडि मृत्यु भएको रहेछ । … मैले आफूले तत्काल भोगेको खेद र दुःखको मापन गरेर लेख्नै सकिनँ । जीवनमा मानसिकतामा त्यति गहिरोसँग सायदै धरासयी भएँ होला । लक्ष्मी सोल्टीसँग गरेको सानो कसम पनि पूरा गर्न सकिनँ ।

लेखिएको नभई छाड्दैन भन्छन् । पुर्परोमा भावीद्वारा लेखिएकै अनुसारले आफ्नो भागको भोगाइ भोग्न अभिशप्त छौँ हामीहरू भन्छन् । तथापि मानिसहरू जीवनको दौडमा तँछाडमछाड गरेर भागिरहेका छन् । बेलायत बसाइको क्रममा दर्जनौँ मित्रहरू भेटिए । कोही धनको ध्वाँस, कोही शक्तिको ध्वाँस, कोही पारिवारिक सम्पन्नताको ध्वाँस अनि कोही विज्ञताको ध्वाँस देखाउने खाले भेटिए । कति आफन्तहरू टाढिए, कति पराइहरू नजिकिए । पुराना साथीहरूका साथ तोडियो, अनि कति नयाँ साथीहरू बनेँ । सबै साथीहरू आ–आफ्नै खालका डम्बरु बजाउन व्यस्त भए । अनुभूतिशील सम्बन्धहरूमा न्यानोपनको अभावमा खासगरी भन्ने भए अचेल मेरा समयहरू परावर्ती भएका छन् । आफैसँग भलाकुसारी गर्ने रुचि जागेको छ । एक किसिमले चहलपहल अनि भागदौडबाट विश्राम लिएको झैँ तर सिर्जनात्मक रूपमा आत्मापुरक भएको लाग्छ आफैलाई ।

अगाडि देखिने अग्लो थुम्कोमा उक्लिएर त्यहाँबाट पर हेर्ने लालशा रहेन । अलि ज्यादा दौडेर परको घुम्तीबाट उताको दृश्य हेर्ने रहर लागेन । खुशी अनि रहर एक प्रकार पुरक लागे पनि तिनलाई स्वामित्वमा राख्ने लत समानान्तर तन्किन थालेको लाग्छ । कहिल्यै नमिल्ने गरेर । समय, जस्तो रोकिएको लाग्छ । फेसबुकमा सभा, सेमिनार, भोज, भतेर, जमघटहरूमा चम्किएका मुखारवृत्तहरू देखिन छाडेका छन् । त्यो खुशीदायक लाग्छ । जीवन कति क्षणङ्गुर हुन्छ भन्ने हजारौँको संख्यामा उदाहरणहरू समाजमा छन् । भविष्य अनिश्चित देखिने गरी तटस्थ लाग्दछ । कतै मानिसहरू बाँच्छु भन्दाभन्दै जीवन गुमाइरहेका छन् त कतै कसैलाई जीवनमा भोग्न बाध्य नियतिले जिउने रहरदेखि बेजार बनाउँदै लगेको छ ।

हिथ्रो विमानस्थलमा खाँदिएर हवाइजहाजहरू थन्किएका छन् । अफिस, कारखाना, सपिङ मलहरू लगायत पब्लिक कारपार्कहरू खाली खाली छन् । हरेक रेजिडेन्स कार पार्क भने खचाखच छ । मानिसहरू घरमा छन् । कोही बाहिर गए मरिएला कि भन्ने डरमा छन् त कोही बाहिर काम नभएर घरभित्र आन्दोलित भएर बस्न बाध्य छन् । हाम्रो जमानाको यो वर्ष निक्कै नै मानसिक रुपको आततायी भएर रहने पक्का छ । यो सायद उमेरको त्यो घुम्तीमा पुगिएको आभास होला, जहाँ यतिन्जेल जीवनबारे जानेझैँ गरी लेख्न भ्याएँ । समय जो अढेसिएर हात परेको छ ।