सिपिएल खेल्न गएका सन्दीपको कोरोना रिपोर्ट नेगेटिभ

सिपिएल खेल्न गएका सन्दीपको कोरोना रिपोर्ट नेगेटिभ


क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेको कोरोना भाइरसको पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

सिपिएलका लागि टोबागो पुगेका सन्दिपको पिसिआर गरिएको थियो । उनको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको सन्दिपका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिएका हुन् ।

सिपिएल खेल्न गत साता टोबागो पुगेका सन्दिप हाल १४ दिनको क्वारेन्टिनमा बसेका छन् । उनीलगायत प्रतियोगिताका सबै खेलाडीलाई होटलमा क्वारेन्टिनका रुपमा राखिएको छ । प्रतियोगिता खेल्ने सबैको कोरोना परीक्षण अनिवार्य गराउनुपर्ने नियम भएकाले सन्दिपको पनि परीक्षण गरिएको हो ।

सिपिएल आगामी भदौ २ गतेदेखि शुरु हुनेछ । त्यसअघि पुनःसन्दिपको कोरोना परीक्षण गरिने शिवाकोटीले जानकारी दिए । सिपिएल खेल्न सन्दिप कोरियन एयरको चार्टर्ड जहाजमार्फत गत साता दक्षिण कोरिया र त्यहाँबाट अमेरिका हुँदै टोबागो पुगेका हुन् । नेपालबाट टोबागो जानुअघि पनि उनले पिसिआर परीक्षण गराएका थिए, जसको रिपोर्ट पनि नेगेटिभ नै आएको थियो ।

ज्ञात रहोस्, सन्दिपलाई यसपटक सिपिएलका लागि ९० हजार अमेरिकी डलरमा जमैका तल्लावाहजले अनुबन्ध गरेको छ । तेस्रोपटक सिपिएल खेल्दै गरेका सन्दिपले यसअघि सन् २०१८ र सन् २०१९ मा सिपिएल खेलेका थिए भने यस वर्षको सिपिएलका लागि १९ वर्षीय सन्दीपसँगै २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए ।