अवैध निकासी गर्न लागिएको मटर बरामद

अवैध निकासी गर्न लागिएको मटर बरामद


आरपी उपाध्याय, नवलपरासी

नवलपरासीको सीमा क्षेत्रबाट प्रहरीले करिव १ लाख १ हजार ३ सय ८० मूल्य बराबरको अवैध मालसमान नियन्त्रणमा लिएको छ ।

सरावल गाउँपालिका वडा नं. ६ बडसारेमा नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको करिव १५ हजार मुल्य बराबरको ४ बोरा मटर (केराउ) साथै भारतबाट अबैध रूपमा ल्याउँदै गरेको करिव ८६ हजार ३ सय ८० मुल्य बराबरको विभिन्न साडी, २० थान लेडिज कुर्ताको कपडा, १९ मिटर जेन्स भित्री कपडा तथा ३८ पोका धनियाँको बिउ सीमा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको हो ।

उक्त मटर र कपडा मानिसहरूले मोटरसाइकलमा राखी लैजाँँदै गर्दा तथा ल्याउँदै गर्दा प्रहरी टोलीलाई देखेपछि उनीहरू उक्त सामान फालेर भागेका थिए ।

नियन्त्रणमा लिइएको सबै सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

त्यसैगरी ससस्त्र प्रहरी बल गुठी प्रसौनी पश्चिम नवलपरासीले पनि ४ सय केजी मटर अवैध रूपमा भारत लैजाँदै गरेको अवस्थामा बरामद गरी भन्सार पठाइएको बिओपी प्रमुख सन्तोष खरेलले जानकारी दिए ।