श्रीमती र छोरीलाई तेजाब हानेको हल्ला चलेपछि…

श्रीमती र छोरीलाई तेजाब हानेको हल्ला चलेपछि…


काठमाडौंको बौद्धस्थित चुच्चेपाटीमा गए राति एक व्यक्तिले श्रीमती र छोरीलाई तेजाब हानेको भनेर हल्ला चल्यो । घटना गम्भीर रहेको भन्दै प्रहरी तत्काल घटनास्थल पुग्यो तर अनुसन्धान गर्दा त्यहाँ तेजाब नभई रङमा लगाइने तारपिन तेल छ्यापेको पाइएको छ ।

रङरोगनको काम गर्ने राजन विष्टले घर झगडा हुँदा गए राति श्रीमती र छोरीलाई उक्त तेल छ्यापेका हुन् । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीलाई उद्धृत गर्दै राससले जनाएअनुसार तेजाब हानेको खबर आएपछि प्रहरी टोली पुगेर बुझ्दा तारपिन तेल छ्यापेको पाइएको थियो ।

बढी रक्सी पिइरहने हुँदा विष्टकै कारण बेलाबेलामा घर झगडा हुने गरेको थियो । गए राति पनि सोही प्रक्रिया दोहोऱ्याउँदा उनले तारपिन तेलले हानेको पाइएको प्र्हरीको भनाई छ ।

छोरीको आँखामा तेल परेकाले तिलगङ्गा आँखा अस्पतालमा सामान्य उपचारपछि फर्किएको र आमालाई भने केही नभएको बताइएको छ ।