संक्रमण नियन्त्रणका लागि कपिलवस्तुका यी निकाय साउनभर बन्द

संक्रमण नियन्त्रणका लागि कपिलवस्तुका यी निकाय साउनभर बन्द


प्रतिनिधि, कपिलवस्तु

जिल्लामा अधिक जनसम्पर्क हुने कार्यालयहरु, बैंक तथा वित्तिय संस्था र सार्वजनिक यातायातका साधनहरुलाई १० दिनका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार जारी गरेको सूचना अनुसार शुक्रबार (२३ साउन) बिहान ५ बजे देखि ३२ गते राति १२ बजे सम्मका लागि यी कार्यालय तथा सेवाहरु बन्दको आह्वान गरिएको छ ।

निजी सवारी साधनको हकमा भने जोर दिन जोर नम्बर र बिजोर दिन बिजोर नम्बर प्लेटका सवारी साधनलाई संचलान गर्न दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उद्योग धन्धा, कलकारखाना र पसल एवं रेष्टुरेन्टहरु भने सुरक्षाका मापदण्डहरु अपनाएर संचालनमै रहने छन् ।

जिल्लामा कोरोना संक्रमण समुदाय स्तरमा देखिन थालेपछि यसको नियन्त्रणको लागि अहिलेको पहिलो चरणमा यस्तो प्रयास शुरु गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । जिल्लामा हाल सम्म कोरोना संक्रमितको संख्या ८ सय ४० जना पुगेको छ ।