प्रतिबन्धित नेकपाका रुकुम जिल्ला सेक्रेटरीसहित चार पक्राउ

प्रतिबन्धित नेकपाका रुकुम जिल्ला सेक्रेटरीसहित चार पक्राउ


नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका रुकुम (पश्चिम) जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले रुकुमको आठबीसकोट नगरपालिका–९, राडी बजारबाट जिल्ला सेक्रेटरी हिरामणि रावलसहित चार जनालाई पक्राउ गरेको हो ।

गोप्य ढंगले कार्यक्रम गरिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्लाको मुसीकोट नगरपालिका–६ का ३९ वर्षीय जिल्ला सेक्रेटरी रावलसहित पार्टीका जिल्ला सदस्य २८ वर्षीय घमण्ड महर र विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष १९ वर्षीय प्रेमप्रशान्त बोहरालाई पक्राउ गरेको प्रहरीको भनाई छ ।

सोही टोलीमा रहेका पार्टीका कार्यकर्ता २० वर्षीय तुलबहादुर घर्ती पनि पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । जाँच गर्दा राडीबजारको एक होटलको कोठामा छलफल गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रनाउ केसीको भनाई छ ।