राजा शक्तिसिंहराम वर्द्धन, गोकुलप्रसाद बास्कोटा र काभ्रेपलान्चोक

राजा शक्तिसिंहराम वर्द्धन, गोकुलप्रसाद बास्कोटा र काभ्रेपलान्चोक


■ श्रीकृष्ण धिमाल

मानदेवको पालाको वि.सं. ५६० को अभिलेख पलाञ्चोकमा पाइएको छ । विजयस्वामिनीले राखेको त्यस अभिलेखबाट शाक्त सम्प्रदायको बारेमा विशेष प्रकाश पर्नुको साथै त्यस क्षेत्रमा शिक्षाको प्रसार भएको कुरा पनि बुझिन्छ । पलाञ्चोक र पलाञ्चोक वरिपरिका क्षेत्रमा भेटिएका लिच्छविकालका शिलालेखहरूले तात्कालिक अवस्थामा प्रकाश पर्नुका साथै त्यस भेक हालको पाँचखालमा कम्तीमा पनि किराँतकालमा समृद्ध बस्ती बसिसकेको थियो भनेर भन्न सकिन्छ ।

काभ्रेपलान्चोकको पलाञ्चोक शहरमा नेपालका तत्कालीन राजा शक्तिसिंह रामवर्द्धनले हालको पाँचखाल सुनकोसीपूर्वलार्ई समेत नेपाल मण्डलमा मिलाएर हालको पाँचखाल नपालार्ई देशकै राजधानी बनाएको प्रसङ्ग चीनका राजा ताहिमिङले शक्तिसिंह रामलाई पलाञ्चोक शहरमा राजधानी भएका… भनेर लेखेको पत्रले प्रमाणित गर्दछ, विभिन्न समयका लेख तथा दस्तावेजअनुसार लिच्छवी राजा मानदेवको पलाञ्चोक भगवतीमा रहेको शिलालेख, भेटिएका भोगिनी र सिंहअङ्कित मुद्रा मानाङ्क, १४६२ मा पलाञ्चोक उपत्यकामा शक्ति सिंहले राज्य सञ्चालन गरेको पाइन्छ । इतिहासकारका अनुसार शक्ति सिंहले पलाञ्चोकमा स्वतन्त्र किसिमले शासन गरेका थिए । उनले चीनसँग लेखापढी गरेर शक्तिसिंह नामाङ्कित छाप र लामो उपाधिसमेत पाएको उल्लेख छ । चीनका वादशाह युङ्लोले नेपालमा आफ्ना दूतहरू पठाउँदा श.गा.सिं दि. (शक्तिसिंहदेव) नेपालको पलाञ्चोक उपत्यकाको राजा भएकोे चीनको इतिहासमा समेत पाइएको इतिहासकार भनाइ छ । यसको प्रमाण चीनले शक्ति सिंहको नाममा पठाएको पत्रको अभिलेख परराष्ट्र मन्त्रालयसँग रहेको छ ।

नेपाल सम्वत् ५३५ (१४७२ तिर) शक्ति सिंहले स्वनामाङ्कित मुद्रा चीनबाट पाएका थिए । यसबारेको पुष्टि गर्ने विभिन्न आधार सूर्यविक्रम ज्ञवालीको नेपाल उपत्यकाको मध्यकालीन इतिहासलगायतका लिखित दस्तावेजमा उल्लेख छ । शक्ति सिंहलार्ई स्वतन्त्र राजाका रूपमा शासन गरेको तथा चीन सरकारले राजोपाधि (महाराजधिराज परमेश्वर परम भट्टारकजस्ता शब्द उल्लेख भएको)समेत प्रदान गरेको इतिहास छ । उनले पटक–पटक काठमाडांैमाथि आक्रमण गर्दै अधिपत्य हासिल गरेका थिए । हाल यस स्थानलार्ई शक्तिपुर अर्थात् सिखरपुर थाडापाख्रा भन्ने गरिन्छ । यस स्थानमा रामायणकालीन तथा महाभारतकालीन इतिहास समेत रहेको किम्वदन्ती रहँदै आएको छ ।

लिच्छविकालपछि नेपाल टुक्रने क्रम शुरु भयो र विभिन्न राज्य खडा भए । पूर्वमध्यकालमा नेपालको केन्द्रअन्तर्गतको महत्वपूर्ण क्षेत्रमा पलाञ्चोक क्षेत्र पनि रह्यो । पलाञ्चोक शहरको रामवर्द्धन परिवारले त्यस बेलाको नेपालको शासनमा महत्वपूर्ण योगदान दियो । वि.सं. १४०६ मा बङ्गालका सुल्तान समसुद्दीनले टुक्रा पारेको पशुपतिको मूर्ति त्यसै रहिरहेको थियो । वि.सं. १४१७ मा रामवर्द्धन परिवारका जयसिंहरामले विधिपूर्वक पशुपतिको मूर्तिको स्थापना गरे । त्यसैगरी अरु सम्पदाको रक्षार्थ बौद्वनाथ, स्वयम्भूनाथ, काष्ठमण्डप चैत्य पनि यस परिवारले योगदान गरेको पाइन्छ । यसरी राजनैतिक क्षेत्रको साथै अरु विभिन्न क्षेत्रमा पलाञ्चोक शहरका रामवर्द्धन परिवारको ठूलो योगदान नेपालको इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ ।

जयसिंहरामका भाइ मदनरामको शासनकालमाा वि.सं. १४४१ मा चीनबाट बौद्ध भिक्षुको नेतृत्वमा दूतमण्डल आएको वर्णन पाइन्छ । मदनरामले विभिन्न कोसेलीसहित चीनमा पठाएको दूतमण्डल वि.सं. वि.सं. १४४४ र १४४७ मा चीन पुगेको वर्णन पाइन्छ । वि.सं. १४७२ मा मदनरामका छोरा शक्तिसिंहरामलार्ई चीनका बादशाहले रञ्जना लिपिमा संस्कृत भाषामा लेखी पठाएको परवानाबाट यो सम्बन्ध उच्च तहमा पुग्यो । नेपालसम्वत्लार्ई महाचीनाब्द अर्थात् महाचीनको सम्वत् भनिएको यस पत्रबाट नेपालको उत्तरी छिमेकीसँगको सम्बन्धमा पलाञ्चोक क्षेत्रको महत्वपूर्ण योगदान रहेको स्पष्ट हुन्छ ।

यक्ष मल्लपछि नेपालमण्डलको राज्य टुक्रिएपछि केहि काल बनेपाराज्यअन्तर्गत रहेको यो क्षेत्र पछि भक्तपुरराज्यअन्तर्गत रह्यो । त्यसबेला यो क्षेत्र सैनिक दृष्टिले पनि महत्वपूर्ण क्षेत्रको रूपमा रहिरह्यो । पृथ्वीनारायण शाहद्वारा नेपालको पुनः एकीकरणको प्रसङ्गमा यो क्षेत्र पनि एकिकृत नेपालअन्तर्गत पर्न आयो । यस क्षेत्रको प्रामाणिक अनुसन्धान गरी प्रकाश पार्न सकियो भने यसले नेपालको राष्ट्रिय एकीकरणमा महत्वपूर्ण योगदान दिनेछ ।

१३औँ शताब्दिदेखि नै पलाञ्चोक क्षेत्र खास रहेको, शक्तिसिंहराम, उनका पिता र भाइले समेत राज्य चलाएको र काठमाडौंमा रहेको पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भूनाथ काष्ठमण्डपसमेत पुनःनिर्माण गरेको शिलालेख हामीसँग हुँदासमेत हामीले पलाञ्चोक उपत्यकामा जन्मिएर शिर झुकाउनु पर्ने कारण इतिहासको अध्ययन नभएर हो ।
इतिहासको कालखण्डमा अनेक आरोह–अवरोहको दुःख–पीडा ब्यहोर्नुपरेको कारण पलाञ्चोक सुस्तायो होला, तर सिद्विनरसिंह मल्ल, लक्ष्मीनरसिंह मल्ल, जयप्रकाश मल्ल र पृथ्वीनारायण शाहको पालामा त काशीराम थापाले गोर्खाली फौजसँग डटेर लडेको प्रसङ्ग आज पनि जीवित नै छ । त्यसपश्चात् रामकृष्ण कुँवर र बलभद्र कुँवरको वीरताले भरिएको भमरकोट पलाञ्चोक उपत्यकाको काखमा जन्मिन पुग्छ । भमरकोटले किराँतकाल लिच्छविकालदेखि पूर्वमध्य काल र आधुनिक कालसम्म आइपुग्दा बलभद्र कुँवर जस्ता महान वीर सपुतको जन्म दिन्छ जसले काँगडा र नेपाल–अङ्ग्रेज युद्वमा नेपालको वीरताको जीवन्त प्रमाण प्रत्याभूत गर्दछ ।

नेपालका आदिकवि भानुभक्तभन्दा पनि पूराना कवि वसन्त शर्मा उपाध्याय पौड्याल कसैले लुइँटेलसम्म भनेका, जसले श्रीकृष्णचरित्रको रचना गरे, ती व्यक्ति ब्रमायणीको काख नयाँगाउँ देउपुर आसपास नै जन्मिएका हुन् । जसको रचना महाकवि, आदिकवि राष्ट्रकवि, युगकवि, भन्दा पनि शक्तिशाली हो भन्ने प्रमाण उनको ब्रमायणी र इन्द्रावती रचनाले प्रष्ट पारेको छ । नयाँगाउँ देउपुरमा वि.सं. १८५५ मा जन्मिएका भानुभक्तभन्दा अगाडिका कवि वसन्त शर्मा उपाध्याय पौड्यालको रचना–

उत्तर द्दौपुर ग्रामनिवासी !
वसन्त कवि हुँ ब्राह्मण जैसी !!
सुक्ष्म रूपले ज्ञान बताञा !
सज्जनका सारी दिञा !!
(समुन्द्रलहरी, श्लोक ९३, रचनाकाल– वि.सं. १८७६)

यिनले लेखेको श्रीकृष्णचरित्र देउपुर ब्रह्मायणीलाई अर्पण गरेको हुनाले पनि निम्नलिखित तथ्यको आधारमा वसन्त शर्मा उपाध्याय पौड्याल काभ्रेपलान्चोकस्थित हालको मण्डन देउपुरमै जन्मिएको प्रष्ट हुन आउँछ ।

पश्चिम बागमती पवित्र यमुना, पूर्वै दिशा कौशिकी !
दक्षिण् चन्द्रगिरी हिमालयमहाँ औतार लिया हरि !!
उत्तर्हेमगिरी त पर्वत बन्यो उत्पन्न इन्द्रावती !
श्रीब्रह्मायणी माईका शरणमा श्री कृष्णलीला इति !!

(श्रीकृष्णचरित्र, उत्तराद्र्ध श्लोक १६५, रचनाकाल– वि.सं. १८८२)

अन्वेषणका क्रममा भेटिएको विराटपर्व (१८९४) पनि यिनैले लेखेको हुन सक्ने यथेष्ट आधार भेटिएको छ ।

वर्तमानमा पलाञ्चोक उपत्यकाको उत्तरपश्चिम भागको नयाँगाउँ देउपुर, ब्रमायणीको काखमा एउटा सामान्य ब्राह्मण परिवारमा जन्मिएर मन्त्रीसमेत भइसकेका गोकुलप्रसाद बास्कोटाबारे केही तथ्य नेपाल–चीन सम्बन्धका सेतु बनेका शक्तिसिंहराम वद्र्धनसँग मिल्न जाने देखिन्छ । संयोग भनौँ वा खोज, यिनै शक्तिसिंहरामबारे पङ्क्तिकार स्वयम्ले गएको वर्ष चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणताका शक्तिसिंहराम र नेपाल–चीन सम्बन्धबारे श्रृङ्खलावद्व लेख प्रकाशन गरेको थियो । राजा वद्र्धन र बास्कोटाका केही स्वभावबारे नलेखिरहन सकिएन, कारण थियो– शक्तिसिंहरामले आफ्ना बाबु मदनरामलार्ई तपाईं साँगा पश्चिम भूभाग हेर्ने भए, ७० प्रतिशत ढुकुटी पलाञ्चोकलाई हस्तान्तरण गर भने । कारण म प्राचीन शहरलार्ई पुनर्निर्माण गर्छु भन्ने ध्येय थियो । पलाञ्चोक शहरको लिच्छविकालीन शिलालेख शक, ४२५ र वि.स ५६० अध्ययनपछि शक्तिसिंहराम पुरानो पलाञ्चोक शहर बनाउन कस्सिएका बुझ्न गारो छैन ।

बाबु मदनसिंहराम, दाजु जयसिंहराम वर्द्धनसँग पौंठेजोरी खेलेरै भए पनि उनले पलाञ्चोकमा भादगाउँको राजधानी सारेर शहर बनाएरै छाडे, मन्दिर, पाटी, खानेपानीको उचित प्रबन्ध गरेको प्रमाण २ वर्षअगाडि पुरातत्व विभागले उत्खनन् गरेपश्चात्को प्रतिवेदनमा उल्लेख गरेकै छ । वि.सं. १४०६ मा नेपालभर मुसलमानले आक्रमण गरेर लुटेको, ध्वस्त गरेको मठ–मन्दिर पुनर्निर्माण गरेको प्रमाण इटुमबहालको शिलालेख, स्वयम्भूनाथ बौद्धनाथको शिलालेख हाम्रा प्रमाण हुन् भने वर्तमानमा काभ्रेपलान्चोकका गरौवगाथा पनि हुन् । वर्तमानमा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले भूकम्पबाट थलिएका भत्किएका मठ, मन्दिर, पाटी पुनःनिर्माणमा जुन चासो राखेर ब्रमायणी देउपुर, पनौती, धुलीखेल, पाँचखाल, नमोबुद्व, बनेपा पलाञ्चोक मन्दिर पुनर्निर्माणमा दौडधुप गरेको स्वभाव र नेपाल देशका प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रेमपूर्वक, हार्दिकताका साथ, दबाब बनाएर, रोएर, याचना गरेर वर्तमानमा जसरी काभ्रेपलान्चोक जिल्लामा विकास योजना प्रवेश गराए, त्यसले वि.सं. १४१७ देखि १४८२ सम्मको झझल्को वर्तमानमा ६०० वर्षपछि काभ्रेपलान्चोक जिल्लाले न्याय पाएको आभास गराउँदछ ।

शक्तिसिंहरामले आजको बनेपा, पनौती, धुलिखेल, पाँचखाल, नमोबुद्वलगायतका नगरहरूमा प्राचीन मन्दिर, पाटी, ढुङ्गेधारा भूमिगत पाइपलाइन लागायतका संरचना जति देख्नु र भेट्नुहुन्छ ती सबै शक्तिसिंह राम र वर्द्धन परिवारका पलामा भएका हुन् र वर्तमानमा सभ्यता र संस्कृतिको संरक्षण गर्दै, काभ्रेपलान्चोक जिल्लाका बहुचर्तित ठुला परियोजना जुन प्रधानमन्त्रीका गृहजिल्ला झापामा समेत छैन, बनेपामा निर्माण गर्न लागिएको हवाइअड्डा, मदन भण्डारी विश्व विद्यालय पाँचखाल, पाँचखाल सुनकोसी खानेपानी, सिँचाइ परियोजना, काभ्रे एकीकृत खानेपानी परियोजना, प्रतिरक्षा विश्वविद्यालय साँगा, पनौती प्राविधिक विश्वविद्यालय, मण्डन सिचाइँ र खानेपानी, रोशी करिडोर, सुनकोसी जलासय परियोजना, महाभारत विद्युतीकरण, बनेपा धुलिखेल पनौती करिडोर, महाभारत टेलर, धुलिखेल (नगरकोट ग्रेटवाल, प्रेस सेक्युरिटी, पलाञ्चोक उपत्यका पुरातत्त्व खोज, पलाञ्चोक भगवती बृहतर विकास कोष, श्रीरामपाटी लिच्छविकालीन प्राचीन रानिपोखरी संरक्षण आयोजना, नमोबुद्व विकास कोष परियोजना, तामागाल–रामेछाप ट्रयाक जस्ता बहुचर्चित खर्बौंको आयोजना काभ्रेपलान्चोक भित्रिनु शक्तिसिंहरामबारे यही समयमा प्रमाण बाहिर आउनु यो संयोग हो वा ६ सय वर्षपछि काभ्रेपलान्चोकमा राजा शक्तिसिंहरामको पुनर्जन्म वा उदय हो ! गोकुल बास्कोटा र शक्तिसिंहरामबारे मिलेका दश स्वभावहरू– कसैसँग नझुक्ने, मेहनत गर्ने, दृढ विचार सङ्कल्प, नआत्तिने, नमात्तिने, समदूरी सम्बन्ध स्थापित गर्ने, सम्पदा र धर्म संस्कृतिसँग सम्झैता नगर्ने, देश, मातापिता, मित्र र सनातन वेदिक धर्मसँग सम्झौता नगर्ने, गऱ्यो त गऱ्यो भन्ने खालका स्वभावहरूले गोकुल बास्कोटालार्ई शक्तिसिंहराम जति नै प्रभावशाली बनाएको छ ।