नेपालमा कोभिड-१९ संक्रमित संख्या २१ हजार ३ सय ९०

नेपालमा कोभिड-१९ संक्रमित संख्या २१ हजार ३ सय ९०


नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार (२१ साउन) दिएको जानकारीअनुसार यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ३ सय ९० पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ५९ जनाको पीसीआर परीक्षण गरिएको र हाल देशभर ९ हजार ९ सय २५ जना क्वारेन्टिनमा रहेका बताए । यस्तै, पछिल्लो २४ घण्टामा १३० जना कोरोना संक्रमित डिस्चार्ज भएको र डिस्चार्ज हुनेहरुको संख्या अब १५ हजार १५६ पुगेको जानकारी उनले दिए । यस्तै हाल देशभर ६ हजार १ सय ७४ जना सक्रिय संक्रमित रहेको पनि बताइएको छ ।

चौध जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा

नेपालमा फैलँदै गएको कोरोना महामारी नियन्त्रणका लागि देशभरका १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । सरकारले देशमा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा कोरोनाको अवस्थालाई हेरेर बन्दाबन्दी गर्ने वा खोल्ने अधिकार सम्बन्धित जिल्ला र स्थानीय तहलाई दिएसँगै १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

गृह मन्त्रालयका अनुसार सप्तरी, धनुषा, नुवाकोट, बाँके, मोरङ, पर्सा, बारा, महोत्तरी, झापा, सुनसरी, बझाङ, दार्चुला, सर्लाही र स्याङ्जामा निषेधाज्ञा जारी गरिएको छ । सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङ्जा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने पर्सा, बारा र सर्लाहीमा अनिश्चितकालीन निषेधाज्ञा गरिएको छ । यस्तै, सप्तरीमा साउन २६, बाँकेमा साउन २४ र स्याङ्जामा साउन २३ गतेसम्म निषेधाज्ञा जारी गरिएकोे छ ।

दार्चुलाको मार्मा गाउँपालिका, झापाको बिर्तामोड र अर्जुनधारा नगरपालिका, मोरङको विराटनगर महानगरपालिका, सुनसरीको बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६, ७ र ८, महोत्तरीको जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिका, धनुषाको जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिका, नुवाकोटको सदरमुकाम क्षेत्र, बझाङको थलारा गाउँपालिका–५ र केदारस्यू गाउँपालिका ६ र ७ मा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।