काठमाडौं जिल्ला तेक्वान्दोको कार्यवाहक अध्यक्षमा खड्का

काठमाडौं जिल्ला तेक्वान्दोको कार्यवाहक अध्यक्षमा खड्का


तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले काठमाडौं जिल्ला तेक्वान्दो संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् । जिल्ला संघको कार्यसमितिको बैठकले खड्कालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघिका अध्यक्ष प्रमोद पराजुलीले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । त्यस ठाउँमा जिल्ला कार्यसमितिका उपाध्यक्ष खड्कालाई अध्यक्षको जिम्मेवारी दिइएको हो । पराजुली राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत भक्तपुर जिल्ला खेलकुद विकास समितिमा तेक्वान्दो सहायक प्रशिक्षकका रुपमा कार्यरत छन् ।

राष्ट्रिय खेलकुद ऐन–२०७७ मा राखेपमा कार्यरत कुनै पनि कर्मचारीले कुनैपनि तहको खेलकुद संघमा बस्न नपाउने प्रावधान रहेको छ । सोही अनुसार पराजुलीले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । नयाँ ऐनकै प्रावधान अनुसार कार्यसमितिका उपाध्यक्ष राजकुमार लामाले पनि पदबाट राजीनामा दिइसकेका छन् । उनी सिन्धुपाल्चोक जिल्ला खेलकुद विकास समितिमा तेक्वान्दो सहायक प्रशिक्षक हुन् । उक्त पद भने पछि पदपूर्ति गरिने कार्यसमितिले जनाएको छ ।

निवर्तमान अध्यक्ष पराजुलीले तेक्वान्दो मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ, कार्यसमितिका पदाधिकारी र तेक्वान्दो डोजाङका प्रमुखलगायतको उपस्थितिमा भएको कार्यक्रममा खड्कालाई कार्यसमितिको निर्णय पुस्तिका हस्तान्तरण गरे । सो अवसरमा पराजुलीले खड्कालाई कार्यकाल पूर्ण सफलताका शुभकामना दिँदै सबैको सरसल्लाह लिएर तेक्वान्दोको विकासमा लाग्न सुझाए ।

अध्यक्ष खड्काले तेक्वान्दोका अग्रज र साथीभाइको सुझाव÷सल्लाह अनुसार अगाडि बढ्ने बताउदै कार्यसमितिलाई देशकै नमुना संघका रुपमा स्थापित गर्न प्रयत्न गर्ने प्रतिबद्धता जनाए ।

खड्काले २०५० सालदेखि तेक्वान्दो खेल्न सुरु गरेका थिए । सन् २००९ मा प्रतियोगिता खेल्ने क्रममा उनको खुट्टामा गम्भीर चोट लागेपछि करिब २ वर्ष खेल यात्रामा ‘ब्रेक’ लागेको थियो । चोटमुक्त भएपछि पनि ग्योरोगी (फाइट) विधालाई त्यागी उनले पुम्से विधामा आफ्नो खेल यात्रालाई सुचारु गरे । उनले सुदूरपश्चिमाञ्चलमा भएको छैटौं राष्ट्रिय खेलकुदमा पुम्सेतर्फ स्वर्ण जितेका थिए ।

हाल खड्का प्रशिक्षक र निर्णायकका रुपमा बढी व्यस्त छन् । खेलाडी, प्रशिक्षकका साथै निर्णायकको भूमिकामा उनले करिब ३२ राष्ट्रको भ्रमण गरिसकेका छन् । खेलाडीका रुपमा उनले १९ अन्तर्राष्ट्रिय स्वर्ण जितेका छन् भने केयौँ पटक उत्कृष्ट निर्णायक पनि चुनिएका छन् । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दो तीनै विधाका एक्लो नेपाली अन्तर्राष्ट्रिय निर्णायक हुन् ।

खड्काले डाँछीमा तेक्वान्दो एकेडेमी पनि सञ्चालन गर्दै आएका छन् । नेप्लिज तेक्वान्दो एकेडेमीका नाममा सञ्चालित यस एकेडेमीमा उनले आर्थिक अवस्था कमजोर भएका १५ जनालाई निःशुल्क प्रशिक्षण गराउदै आएका छन् । उनी एकेडेमीका अध्यक्ष पनि हुन् ।

समाजसेवामा पनि सक्रिए ३३ वर्षीय कागेश्वरी मनोहरा नगरपालिका, थली निवासी खड्काले २०७२ सालको भूकम्प पीडित र हाल विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) बाट समस्यामा परेकालाई राहत वितरण गरेका थिए । त्यस्तै समयसमयमा घाइते खेलाडीको उपचार र समस्यामा परेका खेलाडीका परिवारलाई पनि आर्थिक सहयोग जुटाइ दिने गरेका छन् ।