संक्रमणको त्रासले सिंहदरबार प्रवेशमा कडाइ

संक्रमणको त्रासले सिंहदरबार प्रवेशमा कडाइ


कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । गृहमन्त्रालयका अनुसार अत्यावश्यक कामबाहेकका व्यक्तिलाई प्रवेशमा कडाइ गरिएको हो ।

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार अत्यावश्यक कामका लागि आवश्यक सुरक्षा मापदण्ड अपनाएर जाँदा प्रवेशमा कुनै समस्या छैन तर सामान्य रुपमा भेटघाट, गफगाफका लागि भने ध्यान दिनैपर्छ, त्यसैमा रोक लगाएको हो ।

जोखिम नबढोस् भनेर ध्यान दिनुपर्ने भएकाले अत्यावश्यक कामबाहेकका लागि उक्त व्यवस्था लागू गरिएको उनले जानकारी दिए । भित्रबाट पास पठाएर प्रवेश अनुमति दिने कार्यमा पनि तत्कालका लागि रोक लगाइएको छ ।

अहिलेको जटिल परिस्थितिमा नागरिक आफैंले पनि सुरक्षा सावधानी अपनाउन र अत्यावश्यक काम नपरी बाहिर ननिस्किन तथा सिंहदरबार नआउनसमेत उनले अनुरोध गरेका छन् । प्रेस पास भएका पत्रकारलाई कुनै रोक नलगाइएको पनि उनले प्रष्ट्याए ।

ज्ञातव्य छ, पछिल्लो समयमा काठमाडौं उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढिरहेको छ । मङ्गलबार मात्रै उपत्यकामा ६२ जनामा कोभिड–१९ देखिएको छ ।

सङ्क्रमण बढेपछि उपत्यका प्रवेशमा थप कडाइ गरिएको र स्वास्थ्य मापदण्ड लागू नगर्ने व्यक्ति वा व्यावसायिक प्रतिष्ठानलाई कारवाही गर्न थालिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । अटेर गर्नेलाई कैद सजाय गर्ने चेतावनीसमेत उनले दिएका छन् ।

यसैबीच सर्वोच्च अदालतका तीन जना सवारी चालकमा कोरोना संक्रमण भएको छ । तीनै जना संक्रमित न्यायाधीशहरुको सवारी चालक रहेका र एक चालक न्यायाधीश हरिकृष्ण कार्कीका रहे पनि अन्य दुई जना कुन कुन न्यायाधीशका हुन् भन्ने खुलासा भइसकेको छैन ।

गत सोमबार सर्वोच्च अदालतबाट सय जनाको स्वाब परीक्षण गरिएको थियो । तीमध्ये बुधबार ६० जनाको रिपोर्ट आएकोमा तीन जनामा कोरोना पोजिटिभ देखिएको हो ।