उजुरी चार मन्त्रीविरुद्ध राजीनामा दिने एकैजना

उजुरी चार मन्त्रीविरुद्ध राजीनामा दिने एकैजना


केपी शर्मा ओली सरकारका मन्त्रीहरूमध्ये अहिलेसम्म चार जनाविरुद्ध उजुरी परेको र एक जनामाथि गम्भीर आरोप लागेको भए पनि एक जनाले मात्र पदबाट राजीनामा दिएर अनुसन्धान तथा छानबिनका निम्ति मार्ग प्रशस्त गरिदिएका छन् ।

भ्रष्टाचारको आरोप लगाउँदै मन्त्री युवराज खतिवडा, भानुभक्त ढकाल र ईश्वर पोखरेलविरुद्ध हालै अख्तियारमा उजुरी परेको छ । रक्षामन्त्री पोखरेल र स्वास्थ्यमन्त्री ढकालविरुद्ध स्वास्थ्य सामाग्री खरिदका नाममा करोडौँ भ्रष्टाचार गरेको दशीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको बुझिएको छ ।

त्यस्तै, अर्थमन्त्री युवराज खतिवडाले विशाल ग्रुप भनिने मारवाडी व्यापारीहरूको समूहलाई विशेष लाभ पुऱ्याउने नियतले बजेट नीति तर्जुमा गरेका थिए । खतिवडाले करिव ५०० वटा विद्युतीय गाडीहरू ‘सहुलियत भन्सार’मा रातारात भित्र्याएर भन्सारको दर ह्वात्तै बढाउने निर्णय गरेका थिए । भन्सार सहुलियतमा गाडी भित्र्याइसकेपछि अधिक मूल्य (नयाँ भन्सार दर जोडेर) मा बिक्री गर्ने अवस्था बनाइ खतिवडाले नीतिगत भ्रष्टाचार गरेको तत्काल आमजानकारीको विषय बनेको थियो ।

विशाल ग्रुपको मात्र १३० वटा विद्युतीय गाडी वीरगञ्ज भन्सारबाट सहुलियत भन्सारमा छुटाएको भोलिपल्ट नै अर्थमन्त्री खतिवडाले विद्युतीय गाडीमा चर्को भन्सार लाग्ने नीतिगत व्यवस्थासहितको बजेट भाषण संसदमा पढेका थिए । स्मरणीय छ, विशाल ग्रुपसँग खतिवडाको निकै पुरानो तथा गाढा सम्बन्ध रहेको र उक्त ग्रुपमार्फत खतिवडाले लगानी गर्ने गरेको बताइन्छ ।

त्यसैगरी युवराज खतिवडाले कोरोना नियन्त्रणको नाममा खर्च गरेको भनिएको दश अर्ब रुपैयाँको हिसाब देखाउन पनि उजुरीकर्ताहरूले माग गरेका छन् । यसअघि सिक्योरिटी प्रेस खरिदका क्रममा अनियमितता गर्न खोजेको भन्ने आरोप लाग्नेवित्तिकै तत्कालिक सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले छानबिनलाई सहज बनाउन भन्दै राजीनामा दिएका थिए । बास्कोटासँगको टेपवार्तालाई लिएर अख्तियारले छानबिन शुरु गरेको सात महिना बितिसकेको छ । बास्कोटाले आफूमाथि आरोप लाग्ने बित्तिकै राजीनामा दिएको भए पनि खतिवडा, ढकाल र पोखरेलले भने दशीसहित उजुरी नै पर्दा पनि पदबाट राजीनामा दिएका छैनन् ।

यसअघि खानेपानी मन्त्री बिना मगरले घुस मागेको आरोप बहालवाला सचिव गजेन्द्र ठाकुरले पत्रकार सम्मेलनमै लगाएका थिए । आफ्नै मन्त्रालयका सचिवले त्यसरी गम्भीर आरोप लगााउँदा पनि बिनाले पद त्यागेर छानबिन गराउने नैतिक दायित्व पूरा गरिनन् । उनी अहिलेसम्म मन्त्री पदमै बहाल रहेकी छिन् ।