काङ्ग्रेस पुनःसंरचनाको अपरिहार्यता !

काङ्ग्रेस पुनःसंरचनाको अपरिहार्यता !


■ देवप्रकाश त्रिपाठी

नेतालेसामान्य छलफलसम्म नगरिकन नीति बदलिदिँदा, विरोधिले घरमा आगो लगाउँदा र विदेशीले आफ्ना नेताको ‘नेतृत्व लिँदा’ आहाल बसेको गैंडाझैँ हलचल नगर्ने कार्यकर्ता कुन अवस्थामा जागरुक हुन्छन् भन्ने कुराको राम्रो जानकारी काङ्ग्रेसका ‘स्थायी नेता’हरूलाई छ । सबै अवस्थामा मौन र निष्कृय रहेका काङ्ग्रेस कार्यकर्तालाई ‘अधिवेशन या महाधिवेशन’ शब्द सुनाइदिनुपर्छ उनीहरूको दौडधुप शुरु भइहाल्छ । इतिहासको कुनै कालखण्डमा राणाशाही र पञ्चायतका विरुद्ध लडेको काङ्ग्रेस सिद्धान्तच्यूत भइसकेपछि त्यस पार्टीका नेता र कार्यकर्ताबाट विचार, नीति र आदर्शका निम्ति लड्ने चेतना गायब भइसकेको महसूस गरिँदै छ ।

विचार, आदर्श र निष्ठाविनाको जमातमा बाहिरी शक्तिसँग भिड्ने इच्छा र सामथ्र्य रहँदैन, त्यसैले यस्तो जमातभित्र आफ्नैहरूसँग लडेर विजयी बनेको तुष्टि लिने प्रवृत्ति हुन्छ । काङ्ग्रेसमा यतिबेला आपसी लडाइँमा रमाउने र विजय प्राप्त गर्दा खुशी हुने प्रवृत्ति संस्कारका रूपमा विकसित भइसकेको छ । यस प्रकारको संस्कारले अधिक मनोरञ्जन लिनसक्ने ठाउँ महाधिवेशन हो, महाधिवेशन शब्द सुन्ने बित्तिकै काङ्ग्रेसका नेता–कार्यकर्ता तत्काल सल्बलाउन थालिहाल्छन् । विधानअनुसार निर्वाचित कार्यसमितिको पाँचवर्षे कार्यकाल पूरा हुन ६ महिना बाँकी हुँदा विभागहरूलाई पूर्णता दिने हास्यास्पद कार्य शुरु भएको छ । ६ महिनापछि हुने भनिएको महाधिवेशन लागेर काङ्ग्रेसका नेता–कार्यकर्ताहरू मदमा लठ्ठिएको भक्कुको राँगोझैँ सबैलाई बैरी ठान्ने मानसिकतामा प्रकट हुँदैछन् । एउटा काङ्ग्रेसले परास्त गर्न सक्ने भनेको आफ्नैलाई हो, आफ्नाविरुद्ध लडेर ‘बहादुर’ प्रमाणित हुन काङ्ग्रेसका हरेक सदस्य यतिबेला कस्सिएका छन् । वास्तवमा काङ्ग्रेसले एउटा राजनीतिक दल हुनुको स्वतो गुमाइसकेको छ, शीर गुमाइसकेपछि पनि बाँकी शरीरमा देखिने छटपटाहटलाई नै जीवन ठान्ने भ्रम काङ्ग्रेसका कार्यकर्तामा उत्पन्न भएको छ ।

राजनीतिक दल बन्नका निम्ति निश्चित दर्शन, विचार, सिद्धान्त, नीति, कार्यक्रम, गन्तव्य र सङ्गठन अनिवार्य मानिन्छ । पार्टी भनेको मानिसको मन र मस्तिष्कमा रहने एउटा विचारभाव हो । राजनीतिक दार्शनिक एडमण्ड बर्कको विचारमा ‘समान र निश्चित सिद्धान्तमा सहमत भएर राष्ट्रिय हितका निम्ति एकतावद्ध हुँदै लक्ष्यप्राप्तिका निम्ति संयुक्त प्रयास गर्नेहरूको समूह नै राजनीतिक दल हो ।’ तर काङ्ग्रेस अहिले कुन आदर्श, विचार, नीति र सिद्धान्तबाट निर्देशित छ ? यसको लक्ष्य के हो र काङ्ग्रेससँग लक्ष्य प्राप्त गर्ने कस्तो प्रकारका नीति र कार्यक्रम छन् ?

कुनै समय नेपाली काङ्ग्रेस एउटा राजनीतिक दल थियो, यसको गठन प्रजातन्त्र स्थापनाका निम्ति भएको थियो । राणा शासन र पञ्चायतका विरुद्ध लामो लडाइँ लडेको काङ्ग्रेस पछिल्लो राजनीतिक परिवर्तनसँगै यसरी बदलियो कि हारेको जुवाडेझैँ अर्थहीन बकबक मात्र उसँग बाँकी देखिन्छ । काङ्ग्रेससँग पहिले आफ्नै मौलिक आदर्श, नीति र कार्यक्रम थियो । राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र संवैधानिक राजतन्त्रप्रति उसका अकाट्य प्रतिबद्धता थिए । मौलिक राष्ट्रिय परम्परा र संस्कृति संरक्षणसहितको समृद्धि चाहने एउटा प्रजातान्त्रिक शक्तिका रूपमा काङ्ग्रेसले आफ्नो विशिष्ट पहिचान बनाएको थियो । सुस्पष्ट नीतिका साथ यसको आफ्नै गतिशील नेता पनि थिए । त्यसैले जो नेपाली राष्ट्रियतावादमा विश्वास गर्थे, जसमा आफ्नो धर्म, संस्कृति, परम्परा र इतिहासमाथि गौरव महसूस हुन्थ्यो, जो राजसंस्थासहितको प्रजातन्त्र र प्रजातन्त्रसहितको समृद्धि चाहन्थे, तिनका निम्ति काङ्ग्रेसको कुनै विकल्प मुलुकभित्र थिएन । तर अहिले काङ्ग्रेस कम्युनिष्टभन्दा ठूलो गणतन्त्रवादी, मधेशी राजनीतिजीवीभन्दा बढी क्षेत्रियतावादी, बाबुराम र आङ्काजीहरूभन्दा जातिवादी र समग्रमा ओरिजिनल बामपन्थीभन्दा ज्यादा बामपन्थीका रूपमा देखापरेको छ ।

जो नेपाली राष्ट्रियतावादमा विश्वास गर्थे, जसमा आफ्नो धर्म, संस्कृति, परम्परा र इतिहासमाथि गौरव महसूस हुन्थ्यो, जो राजसंस्थासहितको प्रजातन्त्र र प्रजातन्त्रसहितको समृद्धि चाहन्थे, तिनका निम्ति काङ्ग्रेसको कुनै विकल्प मुलुकभित्र थिएन । तर अहिले काङ्ग्रेस कम्युनिष्टभन्दा ठूलो गणतन्त्रवादी, मधेशी राजनीतिजीवीभन्दा बढी क्षेत्रियतावादी, बाबुराम र आङ्काजीहरूभन्दा जातिवादी र समग्रमा ओरिजिनल बामपन्थीभन्दा ज्यादा बामपन्थीका रूपमा देखापरेको छ ।

माओवादीको हिंसात्मक सङ्घर्ष आफैंले स्थापना गरेको प्रजातन्त्रविरुद्ध भएको मार्मिक यथार्थप्रति काङ्ग्रेस रत्तिभर सम्वेदनशील देखिएन । गैह्रकम्युनिष्टको विचारमा राज्य लोककल्याणकारी निर्णायक साधन हो, तर कम्युनिष्ट मान्यताअनुसार राज्य एउटा शोषण र लुटको साधन मात्र हो । मौलिक विचार परित्याग गरेर रूप बदल्न खोज्दा सच्चा काङ्ग्रेसले चिन्नै नसकिने अवतार बदलिएकोे छ । कम्युनिष्टको विचार मार्गमा हिँडेर आफ्नो भविष्य खोज्न कस्सिएकाहरूले के बुझेको देखिएन भने यो यात्राबाट पुगिने भनेको कम्युनिष्ट बन्धनमै हो । कम्युनिष्ट बन्न पार्टीको नाममा नै कम्युनिष्ट राखिरहनु पर्दैन, नेपाल मजदुर किसान पार्टी नाम राखेर पनि नारायणमान विजुक्छेले कम्युनिष्ट पार्टी सञ्चालन गरिरहेका छन् । लेनिनले पनि रसिएन सोसल डेमक्रेटिक लेबर पार्टीको बहुमत आफ्नो पक्षमा पारेर सन् १९१७ मा रसियाको सम्पूर्ण सत्ता कब्जा गर्ने सफलता प्राप्त गरेका हुन् । त्यसैले कम्युनिष्ट नामाकरण नभएका कारण कसैलाई बामपन्थी ठहर गर्न नसकिने या नहुने भन्ने हुँदैन । हरेक कम्युनिष्ट बामपन्थी हुन्छन् तर सबै बामपन्थी कम्युनिष्ट होइनन् भन्ने मान्यतालाई बुझियो भने पनि काङ्ग्रेसलाई बुझ्न सहज हुनेछ ।

वि.सं. २०६३ पछिको काङ्ग्रेस पार्टी कम्युनिष्ट पार्टीको हितैषी बामपन्थी समूह हो । सोभियत सङ्घको उदयपश्चात युरोपमा गैह्रकम्युनिष्ट एवम् प्रजातन्त्रवादीहरूले आफ्नो अस्तित्व रक्षाका निम्ति ‘समाजवादी’ भन्नु र बन्नु परेझैँ काङ्ग्रेसले कम्युनिष्टका एजेण्डा ग्रहण गर्नु परेको हो भने पनि समयान्तरमा उसले आफूलाई ‘करेक्सन’ गर्नुपर्ने थियो, गरेन र ‘करेक्सन’ गर्ने तत्परता पनि लिएन ।

विश्व राजनीतिमा अनेक खेल भइरहेका हुन्छन् । जुन प्रजातान्त्रिक मुलुकमा कम्युनिष्ट वामपन्थीहरूको बाहुल्य रहन्छ त्यहाँ तीन द्रब्य तत्वको अभाव हुन्छ, ती द्रब्य हुन्– शान्ति, स्थिरता र समृद्धि । राज्य सत्तामाथि सम्पूर्ण नियन्त्रण नभएसम्म क्रान्ति र जनताका नाममा अनेक नौटङ्की चलिरहने हुनाले प्रजातान्त्रिक प्रणालीभित्रको वामपन्थी कम्युनिष्ट शक्ति शान्ति, स्थिरता र समृद्धि प्राप्तिमा कुनै न कुनै प्रकारले बाधक बनिरहेका हुन्छन् । राजनीतिलाई सिधै पेटसँग मात्र जोड्ने भएकोले पेटवादीहरूको ठूलो हिस्सा कम्युनिष्ट पार्टीकै वरिपरि चक्कर लगाउन पुग्छन्, जसले कम्युनिष्ट पार्टीलाई सामाजिक दृष्टिमा शक्तिशाली दर्शाइरहेको हुन्छ ।

कम्युनिष्ट बन्न पार्टीको नाममा नै कम्युनिष्ट राखिरहनु पर्दैन, नेपाल मजदुर किसान पार्टी नाम राखेर पनि नारायणमान विजुक्छेले कम्युनिष्ट पार्टी सञ्चालन गरिरहेका छन् । लेनिनले पनि रसिएन सोसल डेमक्रेटिक लेबर पार्टीको बहुमत आफ्नो पक्षमा पारेर सन् १९१७ मा रसियाको सम्पूर्ण सत्ता कब्जा गर्ने सफलता प्राप्त गरेका हुन् । त्यसैले कम्युनिष्ट नामाकरण नभएका कारण कसैलाई बामपन्थी ठहर गर्न नसकिने या नहुने भन्ने हुँदैन । हरेक कम्युनिष्ट बामपन्थी हुन्छन् तर सबै बामपन्थी कम्युनिष्ट होइनन् भन्ने मान्यतालाई बुझियो भने पनि काङ्ग्रेसलाई बुझ्न सहज हुनेछ ।

कम्युनिष्टको शक्ति वृद्धि भएमा त्यसलाई न्यून गराउन जातिवाद र क्षेत्रियतावादलाई प्रोत्साहन गरिने अन्तर्राष्ट्रिय अभ्यास हुँदै आएको छ । यस्तै अभ्यासको प्रयोग इथियोपिया र अफगानिस्तानमा पनि भएको हो । इथियोपिया विभाजित हुनु परे पनि त्यहाँ जातिवाद र क्षेत्रियतावादले कम्युनिष्ट समाप्त पारिदिएको छ । अफगानिस्तानमा पनि जातिवादी विचारले कम्युनिष्टलाई विस्थापित त गऱ्यो, तर शक्तिराष्ट्रहरू बीचको खेल मैदान बनेका कारण दशकौँअघि शुरु भएको त्यहाँको गृहयुद्ध अझै अन्त्य हुन सकेको छैन । यसरी शत्रुपक्षले कम्युनिष्टलाई कमजोर तुल्याउन जाति र क्षेत्रियतावादी अवधारणा अघि सार्न थालेपछि कम्युनिष्ट आफैंले जाति र क्षेत्रियतावादी मुद्दासँग आफुलाई जोड्न थाले । टर्कीका माओवादी कम्युनिष्टहरूले आफ्नो आन्दोलन र गन्तव्यसँग जातिवादलाई जोडेका थिए, तर त्यहाँ जातिवाद र क्षेत्रियतावाद यसरी विस्तार भयो कि कम्युनिष्ट आन्दोलन नै पछाडि पऱ्यो र, उनीहरू हेरेका हेऱ्यै भए ।

नेपालमा पनि आइएनजीओहरूले अर्बौं लगानी गर्दा उठ्न नसकेको जातिवाद र क्षेत्रियतावाद कम्युनिष्टले काँध दिएपछि ह्वात्तै उठेको हो । जाति र क्षेत्रको नाममा मानिसलाई नभड्काएसम्म स्थापित सांस्कृतिक एवम् राजनीतिक सत्ता विस्थापनको सम्भावना नदेखिएपछि नेपालमा आइएनजीओ र कम्युनिष्ट आन्दोलन सहकार्य गर्ने स्थितिमा पुगेका हुन् । उनीहरू बीचको सहकार्य अझै जारी छ । माओवादी हिंसात्मक युद्धको एक नाइके प्रचण्ड ‘एमाले’मा हुर्कंदै गरेको प्रजातन्त्र र राष्ट्रवादसम्मत विचार र व्यवहारलाई ध्वङ्श गर्न नेकपाभित्रै पसेर प्रयास गर्दैछन् भने अर्का नाइके बाबुराम जातिवादी र क्षेत्रियतावादी मोर्चाको कमाण्ड सम्हाल्न तराई मधेशतिर खटिएका छन् । यी दुवैथरि कालान्तरमा एकै ठाउँमा आउने र राष्ट्रियता एवम् प्रजातन्त्रका सम्पूर्ण अवयवहरूको समूल नष्ट गरेपछि मात्र उनीहरूले विश्राम लिनेमा शङ्का गर्नु पर्दैन । रोचक तर विडम्बनायुक्त पक्ष के छ भने काङ्ग्रेस पार्टी वामपन्थी समाजवादउन्मूख संविधान जारी गरेर अधिनायकवादी शासन व्यवस्था शुरु गराउने प्रचण्ड–सपनाको सहयात्री बनेको छ र मधेश–तराइतिर पृथकतावादीहरूको मतियार भूमिकामा पनि काङ्ग्रेस नै देखापरेको छ ।

यसरी कम्युनिष्टले राजनीतिक समाजवाद प्राप्त गर्ने लक्ष्यका साथ जातिवादलाई समेत आफ्नै अङ्ग बनाएपछि यिनलाई कमजोर बनाउन धर्मको अश्त्र मात्र कामयाब हुन सक्थ्यो । नेपालका सबै मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षण गर्ने वैदिक सनातन हिन्दुराष्ट्रको एजेण्डा यदि काङ्ग्रेसले ग्रहण गर्ने हो भने त्यसले कम्युनिष्ट आन्दोलन र जाति एवम् क्षेत्रियतावादलाई रक्षात्मक बनाउन सम्भव हुनसक्थ्यो । तर काङ्ग्रेस कम्युनिष्टहरू जत्तिकै धर्मनिरपेक्षताको हिमायती बनेको छ । समाजवादी आर्थिक कार्यक्रम त काङ्ग्रेसले धेरै पहिले नै परित्याग गरेको हो । जातिवाद र पृथकतावादलाई प्रोत्साहन गर्ने विचार ग्रहण गरेपछि काङ्ग्रेस राष्ट्रियता र एकीकृत राष्ट्रियताको मान्यताबाट पनि स्खलित भइसकेको छ । त्यसैले अहिलेको काङ्ग्रेसलाई कम्युनिष्ट भन्दा भिन्न तथा जातिवादी र पृथकतावादी भन्दा पृथक ठान्नुपर्ने कुनै एउटै कारण छैनन् । बहुलवादमा आधारित संसदीय प्रजातान्त्रिक प्रणालीप्रतिको प्रतिवद्धता त्यागेर काङ्ग्रेसले संसदीय प्रजातान्त्रिक मूल्य–मान्यताविपरीत समावेशी र समानुपातिक अवधारणा अवलम्बन गर्न पुगेको छ ।

बामपन्थी सम्भ्रान्त भनेका ती हुन् जो धन र पश्चिमा शिक्षाका कारण आफैंलाई पूर्ण ठान्छन्, राजा–महाराजाको अस्तित्व तथा प्रचलित संस्कृतिसँग पनि यिनको वैरभाव रहन्छ, र कम्युनिष्ट बन्न पनि सक्दैनन् या चाहँदैनन्, ती सम्भ्रान्त बामपन्थी हुन् । आरजु राणादेखि प्रतिभा राणा र सुनिल थापादेखि गगन थापासम्मका व्यक्तिहरूले काङ्ग्रेसलाई सम्भ्रान्त बामपन्थीहरूको अखडामा रूपान्तरण गरिसकेका छन् ।

काङ्ग्रेस यसरी आफ्नो मौलिक विचार मान्यताबाट स्खलित भएको मात्र नभई कम्युनिष्ट वामपन्थी र पृथकतावादीहरूको सहयोगी भूमिकामा क्रियाशील रहेकोले यो समूहलाई काङ्ग्रेस ठान्नु भनेको मरेका पतिलाई कुनै पत्निले आफ्नो बिछ्यौनाको साथी बनाउन खोज्नु जस्तै हो । गिरिजाप्रसाद कोइरालाले कम्युनिष्ट र जातिवादीहरूलाई सैद्धान्तिक रूपमा अवलम्बन गरेका थिए, शेरबहादुर देउवाले कम्युनिष्टको पक्षमा चुनाव प्रचार गरी मतदान समेत गर्न लगाएर ब्यवहारतः काङ्ग्रेस पार्टीको स्वतन्त्र अस्तित्वको औचित्य विसर्जन गरिदिएका हुन् । शेरबहादुरदेखि रामचन्द्र र विमलेन्द्र हुँदै गगन पुस्तासम्मको बामपन्थीकरणले काङ्ग्रेसमा विचारको मौलिकतालाई पुनस्र्थापन गर्ने सम्भावनाको अन्त्य गराएको छ ।

यद्यपि, काङ्ग्रेसको मौलिक विचार शिद्धान्तका हिमायतीहरू नै देशमा रित्तिएको अवस्थाचाहिँ होइन । ओरिजिनल काङ्ग्रेसका पक्षपातीहरू देशभर छरिएर रहेका छन्, यिनलाई समेत सङ्गठित गरी काङ्ग्रेसको पुनर्संरचना गर्नु आजको अपरिहार्यता हो । होइन भने काङ्ग्रेस बामपन्थी र सम्भ्रान्तहरूको एउटा अखडा बन्ने र जातिवादी एवम् क्षेत्रियतावादी तथा कम्युनिष्टहरूको मतियार भूमिकामा मात्र रमाएर बस्ने निश्चित छ ।

बामपन्थी सम्भ्रान्त भनेका ती हुन् जो धन र पश्चिमा शिक्षाका कारण आफैंलाई पूर्ण ठान्छन्, राजा–महाराजाको अस्तित्व तथा प्रचलित संस्कृतिसँग पनि यिनको वैरभाव रहन्छ, र कम्युनिष्ट बन्न पनि सक्दैनन् या चाहँदैनन्, ती सम्भ्रान्त बामपन्थी हुन् । आरजु राणादेखि प्रतिभा राणा र सुनिल थापादेखि गगन थापासम्मका व्यक्तिहरूले काङ्ग्रेसलाई सम्भ्रान्त बामपन्थीहरूको अखडामा रूपान्तरण गरिसकेका छन् । काङ्ग्रेसको पुनः संरचना हुन सकेन भने नेपालमा राष्ट्रियता, प्रजातन्त्र, राष्ट्रवाद र समाजवादी आर्थिक कार्यक्रमसहित धर्मसापेक्षताको पक्षधर नयाँ राजनीतिक शक्तिको उदयलाई कसैले रोक्न सक्ने देखिँदैन ।

नीति र नेता दुवै बदल्नुपर्ने अवस्थामा पुगिसकेको काङ्ग्रेस पार्टीले महाधिवेशन मात्र सम्पन्न गरेर आफ्नो उपादेयता र औचित्य पुष्टि गर्न कदापि सम्भव देखिँदैन । केवल आफ्नालाई मात्र हटाउन सक्ने मनोवृत्तिका व्यक्तिहरू थुप्रिएको काङ्ग्रेसले कहिलेकाहिँ अर्को पक्षको पराजयमा विजयोत्सव मनाउने अवसरसम्म पाउन सक्ला, तर त्यो उत्सव राष्ट्रियता र प्रजातन्त्रप्रेमी जनसमुदायका निमित्त अर्थहीन हुनेछ ।