कास्मिरी युवा चम्किए मुम्बईको मनोरञ्जन उद्योगमा

कास्मिरी युवा चम्किए मुम्बईको मनोरञ्जन उद्योगमा


श्रीनगर (कास्मिर)का एक युवा डेनिस काकले मनोरञ्जन उद्योगको क्षेत्रमा ठूलो छलाङ लगाएका छन् । मोडलिङको क्षेत्रबाट आफ्नो करियरको शुरुवात गर्ने काक अब एउटा महत्वपूर्ण उपलब्धि हात पार्दै साङ्गीतिक एलबम निर्माता बनेका छन् । उनले सङ्गीत क्षेत्रका प्रख्यात कम्पनीहरू जस्तै– टी सिरिज र जी म्युजिकसँग काम गरेका छन् । साथै, आफ्नो सङ्गीत कम्पनी ‘यल्लो स्काइ म्युजिक’ पनि शुरु गरेका छन् ।

काकले आफ्नो गृहक्षेत्र श्रीनगरबाटै प्रारम्भिक शिक्षा पूरा गरेपछि मिडियासँग सम्बन्धित विषयमा अध्ययन गरेका थिए । तर, निर्देशक बन्ने सपनाको अनुशरण गरेका काकले सन् २०१० मा मुम्बई पुगेर आफ्नो भाग्य अजमाएका थिए । यद्यपि, फिल्म निर्माता बन्ने आकाङ्क्षा राख्ने काकको भाग्यमा अभिनय गर्नुपर्ने लेखान्त थियो ।

उनले कलेजको समयमा थुप्रै छोटा फिल्महरू निर्देशन गरेका थिए । देख्नमा पनि सुन्दर भएकाले धेरैले उनलाई अभिनय र मोडलिङको क्षेत्रमा काम गर्ने सुझाव दिने गर्थे । विज्ञापनहरूका साथ अभिनय शुरु गरेका काकले ‘स्टुडेन्ट अफ द इयर’बाट बलिवुडमा पहिलो ब्रेक पाएका थिए । उनले धर्म प्रोडक्सनसँग काम गर्ने अनुभव महत्वपूर्ण भएको बताए ।

विगत ५–६ वर्षदेखि साङ्गीतिक क्षेत्रका ठूला कम्पनीहरू टी–सिरिज, जी म्युजिकसँग मिलेर काम गरिरहेका छन् भने आफ्नै कम्पनी ‘यल्लो स्काई म्युजिक’ पनि शुरु गरेका छन् । उनको अन्तिम लक्ष्य भनेको फिल्म निर्देशक बन्नु हो, साथै वेव सिरिजहरू बनाउनु र राम्रा सामग्री सिर्जना गर्नु पनि उनको ध्येय रहेको छ । साथै उनी कास्मिर एवम् कास्मिरी जनताको लागि पनि केही गर्न चाहन्छन् ।