जसको प्रधानमन्त्रीत्व कालमा नेपालको इतिहासमै पहिलो सैनिक विद्रोह भयो

जसको प्रधानमन्त्रीत्व कालमा नेपालको इतिहासमै पहिलो सैनिक विद्रोह भयो


काजी दामोदर पाँडेका साहिला छोरा रणजङ पाँडे, जन्म वि.सं. १८४५ तिर काठमाडौंमा भएको थियो । आफ्ना पिता भद्रकालीमा काटिएपछि उनी वि.सं. १८६१ मा रणबम पाँडेसँग भारततर्फ गएका थिए । वि.सं. १८७२ सालमा नेपाल फर्केका यिनले गठन गरेको ‘वार पार्टी’ले भीमसेन थापा र अङ्ग्रेज राजदूतलाई समेत हायलकायल पारेको थियो । भीमसेन थापा मुख्तियार पदबाट हटेपछि यिनी रङ्नाथ र पुष्कर शाहहरूको मन्त्रिमण्डलमा मन्त्री, प्रधानसेनापति, मुख्यमन्त्री र वि.सं. १८९६ को पुसमा प्रधानमन्त्री (मुख्तियार) भए । त्यसबेला यिनी ५० वर्षका थिए ।

रणजङ पाँडेको मुख्तियारी कालमा दुई महत्वपूर्ण घटनाहरू घटे । पहिलो नेपाली सेनाको विद्रोह र दोस्रो भारतको रामनगरमा नेपाली फौजको आक्रमण थियो । रणजङ पाँडे मुख्तियार हुँदा देशको आर्थिक अवस्था अत्यन्तै दयनीय थियो । राज्यकोषमा रकम थिएन । रणजङले राज्यकोष वृद्धि गर्न आफ्नो नामको जग्गा राष्ट्रलाई सुम्पे । यस्तो आर्थिक सङ्कटको समयमा पनि रणजङले नेपाली सेनामा नयाँ भर्ना गरे । यसरी सेनामा नयाँ भर्ना गर्नुका दुई प्रमुख कारणहरू रहेका थिए ।

पहिलो कारण रणजङ पाँडे सेनामा नयाँ भर्ना गरेर आफ्नो शक्ति बढाउन चाहन्थे । दोस्रो कारणमा अन्य भारदारहरू जस्तै यिनी पनि अङ्ग्रेजसँग पुनः युद्ध गरेर नेपालले पहिलेको युद्धमा गुमाएको भूभाग फेरि फिर्ता गराउन चाहन्थे । यसरी सैनिक सङ्ख्यामा वृद्धि भइरहँदा पुराना फौजहरूले चाहिँ दुई वर्षदेखि तलब पाइरहेका थिएनन् । यसैबीच सेनाको तलब घटाइँदैछ भन्ने हल्ला चल्यो । यस हल्लाबाट उत्तेजित भएर २१ जुन १८४० मा ६ हजार नेपाली सेनाको फौज टुँडिखेलमा विरोध प्रदर्शनमा उत्रियो । नेपाली फौजको तलब घटाउनमा अङ्ग्रेजज राजदूत ब्रेन हगटन हडसनको पनि हात छ भन्ने आशङ्कामा विद्रोही फौजले दूतावासलाई घेराबन्दी गर्‍यो तर त्यहाँ लुटपाट मच्चाउनचाहिँ सकेन ।

त्यसपछि उत्तेजित भीडले चौतरिया पुष्कर शाह, रङ्गनाथ पौडेल, कुलराज पाँडे, करवीर पाँडे आदिका घरहरू ध्वस्त पारे । कसैले पनि सैनिक आक्रोशलाई शान्त पार्न नसकेपछि राजा राजेन्द्रले आक्रोशित सेनाहरूसमक्ष उपस्थित भई सैनिकहरूको तलब पूरा दिने र अन्य कुनै पनि किसिमको कदम लिने आश्वासन दिए । त्यसपछि राजा राजेन्द्रले अङ्ग्रेजलाई पठाएको सन्देशमा ‘ब्रिटिस नेपालभन्दा धेरै शक्तिशाली छ, त्यसकारण उनीहरूसँग हामीले सन्धि गरी मित्रता कायम गर्नुपर्छ । अङ्ग्रेजसँग युद्ध गर्न हामीलाई ठूलो मात्रामा धनको खाँचो परेको छ । त्यसैले २ वर्षका लागि मात्र तलब घटाउनुपर्ने आवश्यकता महसुस भएको हो’ भन्ने उल्लेख गरिएको पाइन्छ । राजाको सन्देशको प्रतिउत्तरमा सेनाले अङ्ग्रेजसँग युद्ध गर्नुपर्छ, हाम्रो भू–भाग फिर्ता लिन्छौँ, हडसनलाई नेपालबाट हटाउनुपर्छ भन्ने सुझाव प्रेषित गरेको थियो । वास्तवमा यो नै नेपालको इतिहासमै पहिलो सैनिक विद्रोह थियो ।

रणजङ पाँडेको मुख्तियारी कालमा भएको अर्को महत्वपूर्ण घटना नेपाली सेनाको रामनगरमाथिको आक्रमण थियो । अङ्ग्रेजहरू प्रथम अफगान युद्ध र चीनमा अफिम युद्धमा संलग्न भएको मौका पारेर फौजदार जसवीर रानाको नेतृत्वमा सय जवान नेपाली फौजले उत्तरी विहारको बेतिया जिल्लामा पर्ने रामनगरको साथै एकानब्बे गाउँहरूमा आक्रमण गऱ्यो । १८७२ पछि भारतमाथि नेपालले आक्रमण गरेको यो पहिलोपटक थियो । तर अङ्ग्रेजको दबाबका कारण नेपालले रामनगरबाट बाध्य भएर आफ्नै फौज हटाउनुपऱ्यो । अङ्ग्रेज सरकारले यी सबै घटनाहरूको दोष मुख्तियार रणजङ पाँडेलाई लगाएपछि राजा राजेन्द्रविक्रमलाई दबाब पर्न थाल्यो । राजा राजेन्द्रविक्रम शाह सायद यसै अवसरको प्रतीक्षामा थिए किनकि पछिल्लो समयसम्म आइपुग्दा उनलाई रणजङ पाँडेको बदमासी र भीमसेन थापाको निर्दोषिताको कुराको ज्ञान भइसकेको थियो । यिनले रणजङ पाँडेलाई पदमुक्त गरिदिए ।

रणजङ पाँडेलाई पदमुक्त गरेपछि राजा राजेन्द्रविक्रम शाहले चौतारिया फत्तेजङ शाहलाई मुख्तियार पदमा नियुक्त गरे । तर स्वभावैले कमजोर फत्तेजङ मन्त्रिमण्डलले पनि कुनै चमत्कार गर्न नसकेपछि वि.सं. १९०० वैशाख ६ गते भारत प्रवासबाट नेपाल भित्र्याइएका माथवरसिंह थापा वि.सं. १९०० साल पुस ५ गते नेपालका प्रधानमन्त्री एवम् प्रधानसेनापति पदमा मनोनीत भए । निर्दोष भीमसेन थापालाई दण्डित गरी थापा परिवारलाई नै समाप्त गर्ने पाँडेहरूसँग बदला लिने सुनौलो अवसर यिनले चुकाएनन् । पाँडेहरूको अपराध प्रमाणित भएपछि काजी रणबम, करवीर, कुलराजलगायत पाँडेहरू काटिए । रोगले मरणान्त भएका भूतपूर्व प्रधानमन्त्री रणजङलाई उनका भाइ–छोराहरूको लास देखाउन लगियो । त्यसको केही समयपछि रणजङ आफै कालगतिले मरे ।

(‘नेपालका प्रधानमन्त्री’/यम चौलागाईं)