हृदयानन्द

हृदयानन्द


■ रमेश भट्टराई ‘सहृदयी’

को होला जगमा म मानिस भनी घुम्दै छ संसारमा
आयो श्वास गयो उडेर पलमै यै हो म भन्ने यहाँ
बुझ्दैनौँ तर यो विशाल भवको लीला छ कस्तो भनी
भुल्छौँ केवल खेलमा फगत नै आफैँ ‘म’ जान्ने बनी ।१।

यो मेरो सब हो म लान्छु धनकै इच्छा छ चारैतिर
यस्तै हो जनको अभाव मनको साझा छ यस्तै पिर
तिर्खा भोक छ शोक क्रोध दुनियाँ के बुझ्छ आफैँ न हो
जोख्ने वा न त गन्न सक्छ भवले आकार यो श्वासको ।२।

सक्दैनौँ दिन त्यो झिकेर न लिनै सक्छौँ र इच्छा हुँदा रु
लाखौँको धनले न किन्न सकिने फर्कन्न हामी रुँदा
यस्तो यो जनको अमूल्य निधि हो यै शान्ति यै कान्ति हो
सारामा छ समान भेद नलिने भण्डार आनन्दको ।३।

यो सारा जति सृष्टि हो सब कुरा आनन्दभित्रै छ यो
बुझ्दैनौँ तर यो अशान्तपनमै संसार दुःखी भयो
कस्तूरी छ सुगन्ध नाभि उसकै खोज्दै छ संसारमा
खोजेमा जनले स्वयम् हृदयमा भेट्नेछ दिव्यै जहाँ ।४।

बोके भित्र अशान्ति बाहिर सफा राम्रै भए नै पनि
दूधैमा छ घृतै भनेर मसला पट्कन्न चिल्लो बनी
खाने हो पिउने कमाउँ बटुलौँ यै हो भने जीवन
चिन्दैनौँ जब शान्ति दास मनको बन्नेछ भुल्ने जन ।५।

वाणी सद्गुरुको सुनेर जनले लिन्छन् र बुझ्छन् भने
पाई ज्ञान र चिन्दछन् हृदयमा ती ढुक्क ज्ञानी बने
सच्चा ज्ञान चिनेर राख दिलमा हाँसेर बाँच्नेहरू
हुन्छन् भाव विभोर ती हृदयमा हाँसेर नाच्नेहरू ।६।