ब्रह्ममुहूर्तको मर्म : जीवनशैली कस्तो छ ?

ब्रह्ममुहूर्तको मर्म : जीवनशैली कस्तो छ ?


■ बबिता बस्नेत

हामी बिहान कतिबेला उठ्छौँ ? त्यसले हाम्रो दिनभरीको काम र दिनचर्यालाई निर्देश गरिरहेको हुन्छ । रातीको ड्युटी गर्नेहरूलाई त केही भन्न सक्ने अवस्था रहेन तर सामान्य अवस्थामा भने ब्रह्ममुहूर्तमा उठ्नु सबैभन्दा राम्रो समय मानिन्छ । ब्रह्ममुहूर्त बिहान सूर्योदय हुनुभन्दा करिब दुई घण्टाअगाडिको समय हो, जसलाई गाउँघरतिर ‘बिहानको राती’ भन्ने चलन छ । हामीमध्ये कतिपय जन्मदाको समय आमा र परिवारका सदस्यहरूको हातमा घडी थिएन, त्यसैले बिहानको राती जन्मिएको भन्ने गरिन्थ्यो । आमाहरूले बिहानको राती जन्मिएको भनेका कारण ज्योतिषले बिहान साढे तीनदेखि साढे पाँच बजेको समयभित्र आफ्नै अन्दाजले चिना (जन्मकुण्डली) बनाइदिन्थे ।

हामी सानो छँदा बिहानको राती उठेर पढ्दा पढेको सम्झिइन्छ भन्ने थियो । बिहानको राती अर्थात सूर्योदयभन्दा डेढ–दुई घण्टाअघिको समय पृथ्वीमा निकै महत्वपूर्ण समय हो, जसलाई ब्रह्ममुहूर्त भनिन्छ । कतिले ब्रह्ममुहूर्त ३ बजेर ४० मिनेटमा सुरु हुन्छ भनेका छन्, कतिले ४ बजेर १५ मिनेटदेखि भनेका छन् । पृथ्वीमा घामको प्रकाश पर्नु केही अघिसम्म यो रहन्छ । यो समयमा लेखपढ, योग–ध्यान, चिन्तन–मनन जे गरे पनि उपयुक्त मानिन्छ । बुढापाकाले ओछ्यानमा घाम आउन्जेल सुत्नु हुँदैन, चाँडै उठ्नु पर्छ भन्नुको अर्थ ब्रह्ममुहूर्तमा गरेका क्रियाकलापले जिन्दगीमा विशेष अर्थ राख्ने कारणले रहेछ भनेर बुझ्न यो पङ्क्तिकारलाई धेरै वर्ष लाग्यो । ब्रह्माण्ड र मानिसको शरीरबीच गहिरो सम्बन्ध छ । मानिस ब्रह्माण्डमा बस्ने विवेकयुक्त प्राणी मात्र होइन स्वयम्मा ब्रह्माण्ड हो । यो ब्रह्माण्डले तय गरेका सबै कुरा मानिसको शरीरभित्र छन् । प्रकृति र शरीर दुवैै ‘सिस्टम’मा चलेका हुन्छन् । जतिसुकै कालो रात भए पनि बिहान घाम लाग्छ नै, जतिसुकै हट्टाकट्टा भए पनि मानिस बुढो हुन्छ नै । मानिस स्वयम्ले विनाश ननिम्त्याउने हो भने प्रकृति र शरीर दुवै कुरा ‘फिक्स’ (पहिल्यै तय) छन् ।

‘लकडाउन’पछि हामीमध्ये धेरैको दिनचर्यामा परिवर्तन आएको छ । बिहान उठ्ने समयदेखि सुरु हुने हाम्रो दिनचर्यामा दिनभरि गरिने कामहरू हुँदै राती सुत्ने बेलासम्ममा ब्यापक बदलाव छ । ‘लकडाउन’को बहानालाई सोसियल मिडियाको भरपुर साथ छ । राती दशदेखि एघार बजेको बीचमा सुत्ने मानिसहरूमध्ये धेरैलाई बाह्र, एक बजेको पत्तै हुँदैन । सामाजिक सञ्जालमा कसले के लेख्यो, टेलिभिजन क्यामेरामा कसले, कहाँ, के बोल्यो, चाहिने–नचाहिने, लिनुपर्ने–नपर्ने सबै प्रकारका सूचना र जानकारी लियो । मध्यरातसम्म आफू किन जागा बसेँ भन्ने थाहै नपाइ मानिसहरू जागा बसिरहेका छन् । कसैले राती जागा्रम बस भनेको भए, धेरै गाह्रो हुने थियो होला तर आफूखुशी बसेको हुनाले गाह्रो भए पनि सहज झैँ गरी दिनचर्या अघि बढिरहेको छ ।

दिन–प्रतिदिन बाबुआमा बन्नु निकै कठिन काम बन्दै छ । सन्तानले खाना समयमा खाइदिए गुन लगाएको मान्नुपर्ने जमानामा सन्ध्याकाल या ब्रह्ममुहूर्तको फाइदाको बारेमा जानकारी दिन सजिलो छैन ।

विशेषगरी स्कुल, कलेज पढ्दै गरेका युवाहरूको दिनचर्या अस्वस्थ बन्दै गएको छ । रातभरि इन्टरनेटका गेम, सामाजिक सञ्जाललगायतमा अल्झिने र दिनभर सुत्ने । हिजोआजका सन्तानलाई अविभावकले यसो नगर भन्न सक्ने अवस्था पनि छैन । पहिला–पहिला बाबुआमाले भनेको छोराछोरीले मान्थे । घरको आफ्नै नियम हुन्थ्यो जसअन्तर्गत कतिबेला उठ्ने, सुत्ने, खाने, घरबाहिर जाने, फर्कने जस्ता कुराहरू पर्थे । तर अहिले बाबुआमाबाहेक अरुले भनेको मान्ने अवस्थामा सन्तानहरूको मानसिकता देखिन्छ, सबैको होइन, अधिकांशको । दिन–प्रतिदिन बाबुआमा बन्नु निकै कठिन काम बन्दै छ । सन्तानले खाना समयमा खाइदिए गुन लगाएको मान्नुपर्ने जमानामा सन्ध्याकाल या ब्रह्ममुहूर्तको फाइदाको बारेमा जानकारी दिन सजिलो छैन । सन्तुलित जीवनका लागि खाना र विश्रामको जति महत्व छ, खाना खाने र सुत्ने, उठ्ने समयले त्यतिकै ठुलो अर्थ राख्छ । समग्रमा मानिसको जीवन भन्नु शरीर, मन, भावना र उर्जा हो । यी तीनबीचको सन्तुलनका लागि बेलुका चाँडै सुत्ने र बिहान चाँडै उठ्ने कुरा महत्वपूर्ण हुन्छ । स्वस्थ शरीरका लागि कम्तिमा ६ देखि ८ घण्टा सुत्नुपर्छ । आध्यात्म र चिकीत्सकीय दृष्टिकोणमा मात्र होइन सबै धर्ममा सूर्योदयअघि उठ्नु राम्रो हुने उल्लेख छ । दिन र रातको समय चक्रमा सबै भन्दा बढि उर्जा ब्रह्ममुहूर्तको समयमा प्राप्त गर्न सकिन्छ भन्ने छ । विद्यार्थीदेखि सन्यासीसम्मका लागि आफ्नो काम गर्न ब्रह्ममुहूर्त उपयुक्त समय हो ।

मानिसको शरीर पञ्चतत्वले बनेको हुन्छ भन्ने हाम्रो शास्त्रीय मान्यता छ, जल, बायु, पृथ्वी, अग्नी र अकाश । यसको अर्थ सारा ब्रह्माण्ड हाम्रो शरीरभित्रै छ । हाम्रो शरीरमा पानी ७२ प्रतिशत, पृथ्वी १२ प्रतिशत, वायु ६ प्रतिशत, अग्नी ४ प्रतिशत र बाँकी अकाश अर्थात् मष्तिष्कले भरिएको हुन्छ भनिन्छ । यी पाँच तत्वको सन्तुलन नै मानिसको शरीर हो । शरीर, मष्तिष्क, मन, भावना र उर्जा फरक कुरा हुन्, मष्तिष्कले यी सबैलाई निर्देश गरिरहेको हुन्छ । स्वस्थ शरीरका लागि जीवनशैली महत्वपूर्ण कुरा हो । हामी के खान्छौँ मात्र होइन हामी के सोच्छौँ भन्ने कुराले पनि ठुलो अर्थ राख्छ । कसैलाई गालीगलौज गर्नका लागि पहिला आफूभित्र नकारात्मक उर्जा उत्पादन गर्नुपर्ने हुन्छ । सम्बन्धित मानिसका बारेमा नकरात्मक सोच्नुपर्ने हुन्छ जसको असर हाम्रो मानसिकतामा पर्छ । अरुमाथि विष छर्नका लागि पहिला आफूलाई विषाक्त बनाउनुपर्ने हुन्छ । हरेक कुरामा नकारात्मक दृष्टिकोण राख्ने मानिसहरू प्रायः दुःखी हुन्छन् । आफुलाई दुःखी र विषाक्त बनाउनमा उनीहरू स्वयम्को हात हुन्छ । जसलाई आफूले बाहेक अरुले सुधार्न पनि सक्दैन । कसैको प्रशंसा गर्दा या कसैलाई राम्रो भन्दा आफूभित्र सकारात्मक उर्जा उत्पन्न हुन्छ । जसको असर शरीर र मष्तिष्क दुवैमा पर्छ । कसैको बारेमा राम्रो कुरा गर्दा, सकारात्मक सोच्दा मानिसले खुशी र स्फुर्ति महसूस गर्छ । जसले उसलाई सफलतातर्फ उन्मुख गराउँछ ।

पछिल्ला दिनमा कोरोनाले मानिसलाई जीवनशैली परिवर्तन गर, एक्लै होउ भनिरहेको छ । कहिलेकाहीँ त कोरोना र सामाजिक सञ्जाल मिलेमतो गरेरै अघि बढिरहे जस्तो पनि लाग्छ । यी दुवैले मानिसलाई एक्लो बनाउँदै छन् ।

अहिले हाम्रो जीवनशैली अस्वस्थ हुँदै जानुमा प्रविधिको ठूलो भूमिका छ । प्रविधिले आफ्नै वरिपरिको दुनियाँलाई फराकिलो बनाउँदै लाँदा मानिसको आफ्नोपन भने साँघुरिदै जाँदैछ । सोसियल मिडियाका कारण मानिसको देखावटी संसार फैलिएजस्तो लागे पनि वास्तविक संसार खुम्चिहेको छ । पछिल्ला दिनमा कोरोनाले मानिसलाई जीवनशैली परिवर्तन गर, एक्लै होउ भनिरहेको छ । कहिलेकाहीँ त कोरोना र सामाजिक सञ्जाल मिलेमतो गरेरै अघि बढिरहे जस्तो पनि लाग्छ । यी दुवैले मानिसलाई एक्लो बनाउँदै छन् । विगतमा अलि फुर्सद भयो कि आफन्तहरू भेटिन्थ्यो, साथीहरूसँग दुःख–सुखका कुरा गरिन्थ्यो, घरबाट बाहिर हिँडिन्थ्यो । तर अहिले एकातिर अलि फुर्सद भयो कि मोबाइलमा ठुलै कुरा छुटिसक्यो झैँ गरी टाउको घोप्ट्याएर बसेपछि समय बितेको थाहै हुँदैन । अर्कोतिर आफन्तसँग जमघट, भेटघाट र नजिक हुन कोरोनाले दिँदैन । बिहान ब्युँझिएपछि घर–परिवारमा को उठे, को उठेन, कसैलाई केही भइरहेको छ कि भनी एकार्काको सोधीखोजी गर्ने समय समाजिक सञ्जालले लिँदैछ । यता कोरोनाका कारण घर–परिवार, कार्यालय सबैतिर मानिस एक्लो बन्नुपर्ने अवस्था छ । हामीकहाँ विपद्को रूपमा भूकम्प पनि आएको थियो तर त्यतिबेला कम्तिमा मानिस सामूहिक रूपमा बस्न सक्थे, एकार्कामा दुःखसुख सेयर गर्न सक्थे । त्यतिबेला सडकमा हिँडिरहेका धेरै मानिसलाई लिफ्ट दिइयो, लिइयो तर अहिले त बाटोमा छट्पटाइरहेको मानिसलाई देखेर पनि नदेखे जस्तो गर्नुपर्ने अवस्था छ । कोरोनाले मानव जीवनमा ठुलो चुनौती ल्याइरहेको छ । आफूले गरेका अन्दाजहरू फेल खाइरहेको यो विशेष परिस्थितिमा हामीले कतिपय पुराना आदतहरू परिवर्तन गरी नयाँ जीवनशैली अपनाउनु आवश्यक छ ।

यो पनि हेर्नुहोस्-

नयाँ पुस्ताको सोच कसरी यस्तो भयो ?
जनता बनेर बाँची हेर जिन्दगीका दुःखहरू
लकडाउनमा ‘सम्बन्ध’मा देखिएको समस्या