सन् २०२१ सम्ममा कोरोनाविरुद्धको खोप लाखौँ मात्रामा उत्पादन गर्ने रुसको दाबी

सन् २०२१ सम्ममा कोरोनाविरुद्धको खोप लाखौँ मात्रामा उत्पादन गर्ने रुसको दाबी


विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एडोनोम गेब्रिएससले कोभिड–१९ विरुद्ध कुनै अचूक औषधि नभएको र सम्भवतः कहिल्यै यस्तो औषधि तयार हुन नसक्ने भन्ने अभिव्यक्ति दिएका छन् ।

यसरी डब्लुएचओ प्रमुखले निरशाको बोली बोलिरहेकै बेला रूसले आगामी महिनादेखि नै कोरोना भाइरस खोपको उत्पादन ठूलो मात्रामा सुरु गर्ने र सन् २०२१ को सुरू सम्ममा प्रतिमहिना लाखौँ मात्रामा खोपको उत्पादन गर्ने दाबी गरेको छ ।

रूसले खोपका धेरै नमूनाहरूको अनुसन्धानहरूलाई अगाडि बढिरहेको उल्लेख गर्दै मस्कोको गमलेया इन्स्टिच्युटमा तयार गरिएको खोपको विकास उन्नत चरणमा पुगेको दाबी गरेको हो ।

‘हामी सेप्टेम्बरसम्ममा सामूहिक उत्पादन सुरु गर्नेमा विश्वस्त छौँ,’ रसियन उद्योगमन्त्री डेनिस मन्तुरोभले रूसी समाचार संस्था तास न्यूज एजेन्सीसँगको साक्षात्कारमा बताएका छन् ।

उनले भनेका छन्– ‘हामी एक महिनाका लाखौं मात्रा उत्पादन गर्नसक्ने छौँ र आगामी सेप्टेम्बरदेखि खोपलाई अत्यधिक उत्पादन गर्ने सुनिश्चित गर्न सक्षम हुनेछाँै । अर्को वर्षको शुरूसम्ममा करोडौँको खोपको मात्रा उत्पादन गर्नेछौँ ।’

खोप विकासमा लागेको उक्त संस्थाले मध्य रूसका तीन स्थानमा उत्पादन टेक्नोलोजी तयार गरिरहेको पनि रूसी समाचार संस्थाहरूले बताएका छन् ।

गमलेयाले तयार पारेको खोपको क्लिनिकल परीक्षणहरू सम्पन्न भइसकेको र राज्यमा दर्ताका लागि आवश्यक प्रक्रिया सुरू भइरहेको स्वास्थ्यमन्त्री मिखाइल मुराश्को भनाई छ । मुरास्काले भनेका छन्– ‘साइबेरियामा रहेको भेक्टोर प्रयोगशालाले विकसित गरेको अर्को खोप हाल क्लिनिकल परीक्षणमा रहेको छ र अर्को दुई महिनामा मानव परीक्षण सुरु हुनेछ ।’

गमलेयाको खोप ‘भेक्टर भ्याक्सिन’ हो । यसको मतलब यसले अन्य भाइरसहरूलाई प्रयोग गरी डीएनए एन्कोडिङमार्फत आवश्यक प्रतिरक्षा कोशिका उत्पादन गरी उपचारमा सहयोग गर्छ ।

गमालेयाको खोपले ‘एडेनोभाइरस’ उत्पादन प्रविधि हो जुन चीनको क्यानसिनोले उत्पादन गरेको खोपको लाई काममा लिएको छ, चीनको क्यान्सिनोले विकास गरेको कोरोनाभाइरस खोपको प्रविधिसँग मिल्दोजुल्दो रहेको छ । क्यान्सिनोको खोपको पनि क्लिनिकल परीक्षणको अन्तिम चरणको परीक्षण भइरहेको छ ।

अनुसन्धानकर्ता र निर्देशकहरूले केही महिना अघि खोपको प्रोटोटाइपलाई अनधिकृत रूपमा आफूमा प्रयोग गरेपछि गमलेया इन्स्टिच्यूट आलोचनाको शिकार बनेको थियो । विशेषज्ञहरूले यस कदमलाई अपरम्परागत शैलीको रूपमा आलोचना गरेपछि मानव परीक्षण सुरु गरिएको थियो ।

वैज्ञानिकहरूलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार रूसले यसको खोपलाई ठूलो उत्पादनमा अनुकूलन गर्न सङ्घर्ष गर्नेछ किनकि रूसमा भाइरल भेक्टर जस्ता उन्नत टेक्नोलोजी, कच्चा पदार्थ, पर्याप्त सुविधा र अनुभवको अभाव छ ।

केही रूसी अधिकारीहरूले सोभियत युगमा पहिलो स्याटेलाइट उत्पादन गर्ने अन्तरिक्ष दौडसँग दाँजेर यसको भ्याक्सिन ल्याउने देश पहिलो हुने बताएका छन् ।

यसैबीच रूसी गुप्तचर सेवासँग सम्बन्धित ह्याकर समूहले पश्चिमी प्रयोगशालाबाट कोरोनाभाइरस खोपको बारेमा जानकारी चोरी गर्न खोजेको भन्ने बेलायत, संयुक्त राज्य र क्यानडाका आरोपहरू खारेज गरेको छ ।

रूस कोरोनाभाइरस सङ्क्रमणका हिसाबले संयुक्त राज्य अमेरिका, ब्राजिल र भारतपछि विश्वमा चौथो स्थानमा रहेको छ ।