सप्तरीमा निषेधाज्ञा जारी

सप्तरीमा निषेधाज्ञा जारी


सामुदायिक स्तरमा कोरोनाको सङ्क्रमण तीव्र रूपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले आज (साउन २०)देखि २६ गतेसम्म ६ दिनका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले यसबारे निर्णय गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले सप्तरी जिल्लाभरिमा हालसम्म ५३१ जनामा कोरोना सङ्क्रमण भेटिएपछि राजविराजसहित सप्तरी जिल्लाभरि मंगलबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभयो । जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम निषेधाज्ञा जारी गरिएको निषेधित क्षेत्रमा अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, सवारीसाधन, पसल बन्द रहने प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिका क्षेत्रभित्र अनावश्यक हिँडडुल, आवतजावत नगर्न, नगराउन जिल्ला सुरक्षा समितिले निर्णय गरेको जनाइएको छ ।

औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य सेवा केन्द्र, मालसमान ओसारपसार गर्ने र निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहरमैला सङ्कलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य, कृषि तथा पशुजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन, वर्कशपजस्ता अत्यावश्यक सेवाबाहेकका अनावश्यक आवतजावतमा निषेधाज्ञा लगाइएको विज्ञप्तिमा उल्लेख छ ।