राष्ट्रिय खेल भलिबलको छुट्टै कभर्डहल नहुनु विडम्बना : सिलवाल

राष्ट्रिय खेल भलिबलको छुट्टै कभर्डहल नहुनु विडम्बना : सिलवाल


राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवालले जुन विश्वासका साथ आफूलाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ त्यो विश्वासलाई कहिल्यै टुट्न नदिने बताएका छन् ।

नेपाल भलिबल संघले आयोजना उनकै सम्मानमा आयोजित स्वागत तथा बधाइ कार्यक्रममा सदस्यसचिव सिलवालले भने– ‘खेलकुदको विकासका लागि जुन विश्वासका साथ मलाई नियुक्त गरिएको छ त्यसमा इमानदार भएर अगाडि बढ्ने छु । मलाई पुनः जिम्मेवारी दिएकोमा नेपाल सरकार, खेलकुद मन्त्रालय र सदस्यसचिवमा सिफारिस गर्ने समितिलाई धन्यवाद दिन चाहन्छु । उहाँहरूको विश्वासलाई कहिले टुट्न दिने छैन ।’

सदस्यसचिव सिलवालले राष्ट्रिय खेल भलिबलको एउटा छुट्टै कभर्डहल पनि नहुनु दुःखको कुरा भएको बताउदै आफ्नोतर्फबाट त्यसका लागि पहल सुरु गरिसकेको बताए । उनले भलिबल संघलाई पनि कभर्डहल निर्माणका लागि गम्भीर भएर अगाडि बढ्न सुझाउँदै अबको चार वर्षको अवधिमा खेलकुदलाई सम्मान योग्य क्षेत्र बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

सो अवसरमा सदस्यसचिव सिलवालसहित राखेपका नवनियुक्त सदस्यद्वय रिमबहादुर रानाभाट र इन्दिरा निरौलालाई पनि नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जितेन्द्र चन्दलगायतका पदाधिकारीले बधाइ दिँदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएका थिए ।