एक ‘ह्याक’ले समाप्त पारेको पत्रकारिता र सामाजिक जीवन !

एक ‘ह्याक’ले समाप्त पारेको पत्रकारिता र सामाजिक जीवन !


■ किरण सेन सिंह

कहिलेकाहीँ जीवनमा भोगेका तिता–मिठा, सुख–दुःख, सफलता–असफलता, अभाव अनि सङ्घर्षका पलहरू सम्झिन मन लाग्दोरहेछ । सामान्यतया सुखका पल, सफलताका पलले मान्छेलाई फुरुङ्ग बनाउँदो रहेछ । फेरि त्यही पलमा पुग्न पाए, त्यही पल जिउन पाए भन्ने लालसा पलाउने रहेछ । तर, दुःख, अभाव, असफलताको पलले मन भारी बनाउने रहेछ । ओहो ! मैले त्यो पल कसरी बिताएँ भनेर आफैलाई आश्चर्य लाग्दोरहेछ । फेरि त्यो पल जीवनमा नआओस् भनेर मनमनै कामना गर्न मन लाग्दोरहेछ । समस्या हर कोही मान्छेसँग हुन्छ । जन्मपछि मृत्यु जस्तै समस्यासँगै समाधान गर्ने उपाय पनि हुन्छ । तर अपनाउने उपाय के भन्नेमा भर पर्छ । यो कुरा बुझ्नु जरुरी हुन्छ कि एकजनाको सही वा गलत नियतले अरु कसैको जिन्दगीमा आकाश–जमिनको फरक पार्न सक्छ भनेर । जस्तो कि सही नियतले नै हामीलाई डाक्टरले उपचार गर्ने बेला सुइ लगाउँछन्, बेहोस बनाउँछन्, चिर्छन्, घाउ बनाउँछन्, पेटमा, छातीमा, टाउकोमा, घाँटीमा । उस्तै परे हातखुट्टा नै काटेर पनि फाल्छन् । तर त्यो पीडा दिनलाई होइन, हामी मा भएको रोगलाई, समस्यालाई निर्मुल पारेर हामीलाई स्वस्थ र निरोगी बनाउनको लागि ।

गलत नियत भएका अर्कोथरि मान्छे यही समाजमा हुन्छन् । जो अरुलाई पीडा मात्रै दिने हिसाबले, अझै भनुँ मार्ने हिसाबले प्रहार गरिरहन्छन् । एकले अर्कोलाई पिट्छ, काट्छ, मार्छ, तथानाम गाली गर्छ । अरुको दुखाइमा ताली बजाएर हाँस्छ अनि नाच्छ । अरुलाई हराएकोमा, गिराएकोमा उ आफू सफल भएको सम्झिन्छ अनि खुशियाली मनाउँछ । जमाना खराब हो कि मान्छेको चाहना, नियत खराब हो खै छुट्ट्याउनै मुस्किल छ । अरुको हाँसीखुशी जिन्दगी देखिनसहने मान्छेले कसरी अरुलाई बिचलित बनाउँ, उसको जिन्दगी तहसनहस पारौँ भन्ने मात्रै सोच्दारहेछन् । हरेक मानिसको आफ्नै व्यक्तिगत जीवन हुन्छ । कसैको व्यक्तिगत जीवनमा कोही कसैले दखल पुऱ्याउने बदनियत राख्दा उ माथि र उसँग जोडिएका घर–परिवारदेखि आफन्तसम्म कस्तो असर पर्छ भन्ने कुरा कसरी उ बिर्सन सक्छ ?

एउटा घटना सम्झनामा आयो । त्यो आजभन्दा करिव ८–९ वर्ष अगाडिको थियो । त्यो समयमा म काठमाडौंको एउटा एफएम रेडियोमा कार्यरत थिएँ । काठमाडौंको बसाइ अनि जागिर, विभिन्नखाले समस्याका बाबजुद रमाइरहेको पेशा थियो रेडियो पत्रकारिता । पत्रकारिता पेशामा नै आफ्नो सुनौलो भविष्य देखेर अगाडि बढिरहेकी थिएँ । नियति भनुँ या समयको दोष, पत्रकारितामा देखेको सुनौलो मेरो भविष्य त्यहीँ तुहिएको छ कहिल्यै उठ्न नसक्ने गरी । कल्पना नगरेको, देख्दा सानो देखिने तर यस घटनाले मेरो जीवन कुन परिस्थितिबाट कहाँ पुऱ्याएको छ त्यो म भोग्ने ‘म’ पात्रलाई मात्र महसुस भएको छ । सो समयमा म आफूले चलाएको नितान्त आफ्नो ब्यक्तिगत फेसबुक एकाउन्ट ह्याक गरियो । मसँग फेसबुकमा जोडिएका साथीभाइ आफन्तलाई मेरो आइडीबाट मेरो चरित्रसँग जोडेर धेरै नराम्रा तथा अश्लील कुराकारी सञ्चार गर्न थालियो । मेरै नामको एकाउन्टमा अश्लील तस्बिरहरू जसमा मेरो टाउको जोडिन्थ्यो अरु कसैको नाङ्गो शरिर जोडिन्थ्यो । मेरै टाउको जोडेर त्यस्तै खालका अश्लील भिडियोहरू सञ्चार गर्न थालियो । कहीँ–कतै उजुरी गरे मार्ने धम्की आउन थाल्यो ।

त्यो बेला मैले भोगेको एक–एक पल त म बयान गर्न सक्दिनँ । (कति कुरा भन्छु लेख्छु भन्दाभन्दै पनि मनको अन्तःस्करणमा दबिएरै रहन्छ) । कति रातहरू निदाउन नसकेर अनिँदो रहे, कति दिनहरू खाना नरुचेर भोकभोकै हिँडेँ । मनभरि छटपटी र पीडा बोकेरै भए पनि अरुको अगाडि हाँसि रहेँ । (खुशी नै देखिने कोसिस गरेँ) । तर म बाटोमा निस्किँदा सबैले हेर्ने दृष्टिकोणबाट म गिरिसकेकी थिएँ । बाटोमा देख्नेले पनि त्यही नजरले बोलाउने, जिस्काउने गर्न थाले । अश्लीलताको पराकाष्टा नै भयो, सीमा नै नाघ्यो । सह्य नभएपछि प्रत्येक पटक बाहिरबाट कोठामा आएपछि पङ्खामा डोरीले आफ्नो घाँटी नापे । जो मेरो शुभचिन्तक थिए, जसले मलाई राम्रोसँग चिन्थे, बुझ्थे उनीहरूले फोन गरेर, म्यासेज गरेर घरमै बोलाई, घरमै आएर भेटे, सान्त्वना दिए जसले हिम्मत गरेर नेपाल प्रहरीको साइबर ब्युरोसम्म जाने आँट आयो । हनुमानढोकादेखि पोखरासम्म लगभग कुनै प्रहरी विभाग धाउनु बाँकी राखिनँ । प्रहरीसमक्ष पुगेपछि समस्या समाधान होला भन्ने कल्पनाले मन फुरुङ्ग थियो, शान्तिसँग जिउन पाउने झिनो आशा बाँकी थियो । प्रहरीबाट पनि तत्काल राहत हुने खालको कुनै कानुनी उपचार पाउन सकिनँ । प्रहरी प्रशासनबाट त केवल आश्वासन मात्रै मिल्थ्यो । उनीहरू भन्थे– ‘यदि तपाईंको ठाउँमा अरु कोही कमजोर आत्मविश्वास भएका दिदी–बहिनी हुन्थे भने आत्महत्या गरिसक्थे होला । तर तपाईंमा हिम्मत रहेछ ।’

नबिराउनु नडराउनु, धैर्य गर्नु बिस्तारै समस्या समाधान हुन्छ । प्रहरीहरूको यो मल्हमपट्टिबाट फाटेको मनले फेरि पनि पङ्खा र डोरी नै सर्वोत्तम विकल्प देख्यो । म एक–दुइपटक आफूले आफैंलाई बचाउन सकेँ तर धेरैपटक आफूलाई बचाउन सक्छु भन्ने हिम्मत गर्न सकिनँ । म गलत छैन र मैले हिम्मत हार्नु हुन्न भन्ने आत्मविश्वास त मलाई पनि थियो तर ज्यानको बाजी लगाएर काम गर्ने अवस्था थिएन । भोलि ज्यान नै नरहे केको हिम्मत ? केको आत्मविश्वास ? गायक राज सिग्देलको ‘यो माया हराएको शहर हो प्रिया, नउठ्दै ढलेको एउटा घर हो प्रिया…’ धेरै पटक सुनेँ, साँच्चै यहाँ त माया मात्र होइन न्याय पनि हराएको सहर हो प्रिय भन्दै आफ्नो मनलाई जसोतसो सम्हाल्दै जिउनको लागि सुनौलो भविष्य पत्रकारितालाई थाँति राख्दै घर–परिवारको सहमतिमा तातो घाममा फाटेको मनलार्ई सिउन र शितलता दिन तातो अरबतिर उडेँ । समस्यापछि केही वर्ष फेसबुक चलाउनै बन्द गरेँ । केही वर्ष नाम परिवर्तन गरेर चलाएँ ।

कतिलाई विश्वास लाग्छ, कतिलाई लाग्दैन थाहा छैन ज्योतिष शास्त्रमा । तर मलाई खासै लाग्दैनथ्यो । अरुले भन्ने गर्थे कि भविष्यमा हुने कुरा त्यस्तै हो बितेको समयको कुरा सही बताउँछन् ज्योतिषले । संयोग भनुँ वा के भनुँ । विदेशिएको ३ वर्ष पछि पारिवारिक कारणले म ज्योतिषकाहाँ पुगेँ । हात हेराउने चिना देखाउने सिलसिलामा ज्योतिषले जे भने त्यो कुराले म अचम्मित भएँ । उनले ‘आजभन्दा ३ वर्षपहिले यदि तपाईंले यो ठाउँ (नेपाल) नछोडेको भए तपाईं कसैको हातबाट मारिने लेखा रहेछ’ भने । त्यसपछि मलाई पनि विश्वास लाग्यो । थाहा छैन के दुश्मनी थियो मसँग त्यो अपराधीको, के पायो होला त्यसले मेरो चरित्र हत्या गरेर, मलाई विचलित बनाएर ? मलाई मारेर के पाउँथ्यो होला ? अर्काको जिन्दगीमाथि खेलबाड गर्नेको मुटु केले बनेको हुन्छ ? जसले मलाई दुःख दियो, मेरो परिवारिक र सामाजिक जीवन तहसनहस बनाउने योजना बनायो । उसले आफू एकपटक यो समाजको छोरी (नारी) भएर किन सोचेन ? उसलाई जन्म दिने पनि एक नारी नै हो भन्ने किन भुल्यो ? किन सोचेन कि मेरो ठाउँमा उसको श्रीमती दिदी–बहिनी छोरी भा’को भए तिनीहरूले कसरी यो समस्या सामना गर्थे होला ? अहिलेसम्म पनि अनुत्तरित नै छन् यी प्रश्नहरू ।

अझै पनि यो समाजमा केही पात्रहरू जो नारीलाई बस्तुजस्तै प्रयोग गर्नुपर्छ र गर्न सकिन्छ भन्ने सोचमा छन् । जब चाह्यो आफ्नो स्वार्थको लागि, आफ्नो दुश्मनी निभाउनको लागि उ कुनै पनि हदसम्म गिरेर हर्कत गर्न पछि पर्दैनन् । जहिले कसैको केही नबिगारुँ, कसैलाई भनि नबिराउँ, कसैको चित्त नदुखाउँ भनेर आफ्नो बाटो आफ्नो कर्म गरेर हिँड्दा हिँड्दै पनि आफैं असुरक्षित हुने दिन आउने रहेछ । मेरो सपनाको पेशा पत्रकारिताबाट म अहिले यो अवस्थामा आइपुग्नुको दोषीलाई कारवाहीको कल्पना मेरो वशको कुरा भएन । यहाँको कानुन त पैसामा विक्ने रहेछ । हामीजस्ता मध्यम तथा गरिवले कानुनी राज्यको आशा गर्नु त कालिदास मुर्खले आफू रुखको हाँगाको टुप्पोमा बसी सो हाँगा फेदबाट काट्नु जस्तै रहेछ ।

८–९ वर्षपछि आएर हेर्दा पनि यो समस्या उस्तै छ, कुनै निकायले यसमा कुनै ठोस पहल चालेको देखेकी छैन । केही महिना अगाडि मात्र म आफैले काम गरेको स्थानीय आँधिखोला एफएम स्याङ्जा वालिङका कार्यक्रम सयोंजक टिकराज गुरुङको र सोही एफएमकी समाचार विभाग प्रमुख कला रानाको पनि फेसबुक एकाउन्ट ह्याक भैसकेपछि दुवै जना धैरै पटक काठमाडौं धाउनुभयो, तर हात लाग्यो सुन्य ! एक महिनाअगाडि मात्र एक प्रतिष्ठित बैंकको उच्च तहको कर्मचारी पनि यो समस्याबाट ग्रस्त भए जुन अहिले उनको आइडी प्रयोग गरेर गरिएको कुराकानी आधारमा भएको आर्थिक हिनामिनाको शिकार बनिरहेका छन् । हाल आएर यो ह्याकिङ समस्या समाजको निकै ठूलो सामाजिक समस्या बन्दै गएको छ । यसले समाजमा अपराधजन्य घटनाहरूमा वृद्धि गराएको छ । यसको शिकार हुने पात्र फेरिन्छन् समस्या जस्ताको तस्तै रहन्छ । समाजमा हाल जुनसुकै ओहोदाका, समुदायका ब्याक्ति पनि यस समस्याबाट शिकार हुनुपरेकै छ जसको उपचार कहाँ खोज्ने, सम्बन्धित निकायमा जाँदा समस्याको जटिलतालार्ई सहज रूपमा लिइदिनुले झन् समस्या थपिएको छ । यसैको कारण पनि आज धेरै मानिस अनाहकमा आत्महत्याको शिकार बन्ने गरेका छन्, आखिर यो कहिलेसम्म ? यसको जवाफदेहिता कसले लिने ? जवाफ कोसँग खोज्ने ?