ट्रकभित्रै सामूहिक बलात्कार

ट्रकभित्रै सामूहिक बलात्कार


आरके श्रीवास्तव, रौतहट

अलपत्र अवस्थामा भेटिएकी युवतीलाई सामूहिक बलात्कार गर्ने ट्रक चालकसहित तीन जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला तनहुँ व्यास नगरपालिका वडा नम्बर १ बस्ने २९ वर्षीय विष्णुप्रसाद रानाभाट, सहचालक १८ वर्षीय विनोद रानाभाट र १९ वर्षीय केशर मगर रहेका छन् ।

चितवन गैँडागोटबाट भुसा लिन आएका युवकहरुले बाराको पथलैया चेकमा अलपत्र अवस्थामा भेटिएकी एक २१ वर्षीया युवतीलाई लक्ष्मीनिया विजयपुर पुऱ्याइदिन्छौँ भन्दै गत बुधबार राति ना २ ख ६७४६ नम्बरको ट्रकमा यस्तो घटना घटाएका हुन् ।

झुक्याएर ट्रकमा बसाइ रौतहटको फतुआ विजयपुर नगरपालिका वडा नम्बर १ शितलपुर बैरगनिया बजारको छेउमा रहेको सुनसान स्थानमा ट्रक रोकी साउन १५ गते बिहान साढे दुई बजेको समयमा तीनै जना मिली ट्रकभित्रै ती महिलालाई सामूहिक रुपमा करणी गरेको अवस्थामा पीडित रोइकराइ रहेको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए ।

त्यसलगत्तै इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरबाट प्रहरी निरिक्षक चन्द्रकिशोर साहको कमाण्डमा खटिएको प्रहरीको टोलीले पीडितर्को उद्धार गरेको थियो । करणी गर्ने तीनै जनालाइ ट्रकसहित पक्राउ गरी परीक्षण गराएर करणीसम्बन्धी कसुर मुद्धा दर्ता गरी रौतहट जिल्ला अदालतबाट हिरासतमा राख्ने १५ दिनको अनुमति लिई थप कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

पीडित युवतीको आफन्त हालसम्म सम्पर्कमा नआएकोले संरक्षणको लागि महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडा रौतहटमा राखि अभिभावकलाई सम्पर्कमा ल्याउने प्रक्रिया चलिरहेको बताइएको छ ।