काङ्ग्रेस खेलकुद विभागद्वारा स्वर्णविजेता असी जना खेलाडीको सम्मान

काङ्ग्रेस खेलकुद विभागद्वारा स्वर्णविजेता असी जना खेलाडीको सम्मान


गत वर्ष नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकूद (साग) मा स्वर्ण पदक विजेता खेलाडीका लागि नेपाली काङ्ग्रेसले सम्मान कार्यक्रम सम्पन्न गरेको छ । काङ्ग्रेसको केन्द्रीय खेलकूद विभागले पार्टी केन्द्रिय कार्यालय सानेपामा शुक्रबार (१६ साउन) आयोजना गरेको सम्मान कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेलाडीको हकहितका लागि सङ्घीय संसद्मा आवाज उठाउने बताउनुभयो ।

खेलाडी देशको गहना र शान भएको उल्लेख गर्दै सभापति देउवाले काङ्ग्रेसको सरकार भएका बेला खेलाडीका लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभयो । विगतमा पनि काङ्ग्रेसले सरकारको नेतृत्व गरेको बेला खेलाडीको हितमा काम गरेको स्मरण गराउँदै उहाँले खेलाडीले नै विश्वमा नेपालको इज्जत र प्रतिष्ठा बढाएको बताउनुभयो ।

आफ्नो संक्षिप्त मन्तव्यमा सभापति देउवाले १३औँ सागमा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेकामा उहाँहरूको प्रशंसा गर्नुभयो । खेलाडीले देशको गौरव बढाउन खेल्ने भन्दै उहाँले हरेक नागरिक स्वस्थ रहन खेलकूद आवश्यक भएको उल्लेख गर्नुभयो । काङ्ग्रेस सधैँ खेलाडीको पक्षमा रहेको बताउँदै उहाँले केही अप्ठेराहरू भए खेलाडीको पक्षमा लाग्न आफूले सरकारलाई दबाब दिने बताउनुभयो ।

कोरोना भाइरसको सङ्क्रमणका बेला खेलाडी आफू स्वस्थ रही देशलाई नै स्वस्थ बनाउन भूमिका निर्वाह गर्न उहाँले सम्पूर्ण खेलाडीलाई आग्रह गर्नुभयो । कोरोना सङ्क्रमण बढ्दै गएको तर्फ उपस्थित सबैको ध्यान केन्द्रित गर्दै सभापति देउवाले कार्यक्रम आयोजना गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय काठमाडौँ उपत्यकामा पनि कोरोनाको सङ्क्रमण बढ्दै गएको भन्दै उहाँले त्यसप्रति सचेत रहन सबैलाई आग्रह गर्नुभयो ।
सम्मान कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले देशको इतिहास बोकेको पार्टी काँग्रेसले खेलाडीलाई सम्झेकामा राखेपका तर्फबाट धन्यवाद दिनुभयो । रकम ठूलो होइन सम्मान ठूलो कुरा हो भन्दै उहाँले देश विदेशमा राष्ट्रिय धुन बजाउन खेलाडीको अहम् भूमिका रहेको उल्लेख गर्नुभयो ।

सम्मानित खेलाडीका तर्फबाट बोल्दै सागमा करातेमा दोहरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठले कोरोना कहरका बीचमा समेत सम्मान गरेकामा सम्पूर्ण खेलाडीका तर्फबाट आयोजकलाई धन्यवाद दिनुभयो । खेलाडी एक्लैले पदक प्राप्त गर्न नसक्ने भन्दै उहाँले आयोजकले खेलाडीसँगै प्रशिक्षकलाई पनि सम्मान गर्न सुझाव दिनुभयो ।

काङ्ग्रेस खेलकूद विभागले चार स्वर्ण जित्नेलाई रु २५ हजार, दोहोरो स्वर्ण जित्नेलाई रु १५ हजार तथा एउटा स्वर्ण जित्नेलाई रु १० हजार नगद र प्रमाणपत्रसहित खेलाडीलाई सम्मान गरेको हो । सर्वाधिक चार स्वर्ण जित्ने पौडीकी गौरिका सिंहले रु २५ हजार तथा दुई–दुई स्वर्ण जितेका करातेका मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फ खेलाडी सुवास तामाङले जनही रु १५ हजार प्राप्त गर्नुभयो ।

कार्यक्रममा सागमा एकल र समूहगत रूपमा स्वर्ण जित्ने कूल ८० खेलाडीलाई सम्मान गरिएको थियो ।

गत वर्ष मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन भएको १३औँ सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित २०६ पदक प्राप्त जितेको थियो । नेपालले व्यक्तिगत र समूहगत गरी १३ खेलमा स्वर्ण पदक जितेको थियो ।

सोअ अवसरमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पार्टीको केन्द्रीय खेलकूद विभाग प्रमुख मोहनबहादुर बस्नेतले १३औँ सागमा स्वर्ण जित्ने खेलाडीलाई मात्र नभई रजत र कास्य प्राप्त गर्ने खेलाडीलाई पनि विभागले सम्मान गर्ने बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राख्दै अहिले स्वर्ण जित्नेलाई मात्र सम्मान गरिएको उहाँको भनाइ थियो ।

सम्मान कार्यक्रममा काङ्ग्रेस महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा प्रकाशशरण महत, पूर्वमन्त्री एवं नेता गोपालमान श्रेष्ठ, काँग्रेस केन्द्रीय खेलकूद विभागका उपप्रमुख मोहनकुमार राई, विभागका सचिव मीनकृष्ण महर्जन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका संस्थापक अध्यक्ष एवं ओलम्पियन दीपक विष्ट, सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, पूर्वसांसद राजीवविक्रम शाह, विभिन्न खेल सङ्घका अध्यक्ष तथा पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

pict:rss