गोविन्द-पुष्करमाथि कारवाही र सुनील थापालाई स्वागतको सन्देश

■ दीपकराज जोशी

अब नेपाली काङ्ग्रेसको कार्यालयका साथै काङ्ग्रेसका कार्यकर्ताले आफ्नो आस्थाको एउटै फ्रेममा बीपी कोइराला र सूर्यबहादुर थापाको तस्बिर सजाएर राख्ने दिन आएको छ । नेपाली काङ्ग्रेसको त्यो फ्रेमबाट अब कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, सुवर्ण शम्शेरमध्ये एउटाको तस्बिर हट्ने अवस्था आयो ।

२०३३ सालमा बीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किंदा बपीलार्ई फाँसी दिनुपर्छ भन्ने प्रमुख पात्र थिए– सुर्यबहादुर थापा, र उनैका छोरा सुनिल थापासहितको टीमलार्ई पार्टीमा स्वागत गरेलगत्तै नेपाली काङ्ग्रेसले आफ्नै सिद्धान्तको घाँटी थिचेको छ, जसरी आफ्नै सन्तानको घाँटी थिच्छन् मान्छेहरू ।

खैर, नेपाली काङ्ग्रेसको एउटा शुभचिन्तकको हैसियतबाट यति भन्न सकियो कि बीपी कोइराला अमर रहुन्, सुर्यबहादुर थापा अमर रहुन् ! हुन त ‘मभित्रको हामी’ भन्ने नारा बोकेको काङ्ग्रेसको ‘हामी’भित्र को र कस्तो चारित्रिक विशेषता भएको नेता अटाउने भन्ने प्रावधान छैन रहेछ । त्यसैले त माले, मसाले र मण्डले एउटै हुन् भन्दै आएको काङ्ग्रेस अब आफैँ ‘मण्डले’भन्दा कुनै कुराले फरक छैन भन्नुपर्ने दिन आएको छ । यसरी काङ्ग्रेसको अधोगति भएको देख्दादेख्दै पनि आफ्नो स्वार्थको लागि चुप लागेर बस्ने काङ्ग्रेसी छद्मभेषी युवा नेताहरूलाई नयाँ पुस्ताले कसरी ग्रहण गर्ला ? त्यो चाहिँ हेर्न बाँकी छ ।

पार्टीको हित सोच्नेलाई कारवाही गरेर काङ्ग्रेसले आफ्नो सक्रियता देखाउन खोजेको होला । किनकि जनतासामु आफ्नो अस्तित्व बिस्तारै सकिँदै गएपछि भाइरल बजारमा बिक्री हुन पनि त केही नयाँ मसला लिएर आउनु पऱ्यो । विडम्बना नै मान्नुपर्छ काङ्ग्रेसका लागि रगत–पसिना बगाएर घर परिवार छोराछोरी केहि नभनी आफ्नो जिन्दगी नै पार्टी हितमा समर्पित गर्नेहरूलाई पुर्वाग्रह राखेर प्रतिशोधका आधारमा कारवाही गरेर चिसै हात खुङ्खार पूर्वपञ्चहरूलाई पार्टीमा स्वागत गरियो । र, पनि पार्टीभित्रका जिम्मेवार मानिएका मान्छेहरू मौन छन् । अलिकति लाज नपचाइकन राखेको भए पछि काम लाग्न सक्थ्यो । लज्जाशरणम् ! कुरी कुरी !!

बाउ काङ्ग्रेस वा कम्युनिष्ट हुँदैमा छोरो अर्को पार्टीमा जानु हुँदैन भन्ने होइन । तर पनि विवाह गर्दा त तीनपुस्ते नातागोता हेरिन्छ भने यो त सिङ्गो संगठनको कुरा हो । जसमा अरु पार्टीको मान्छेलाई भित्र्याउँदा त्यसको दीर्घकालिन असरको बारेमा लेखाजोखा हुनुपर्छ कि पर्दैन ? त्यसका दूरगामी असरबारे सोचिनु पर्छ कि पर्दैन ?

०३६ सालको जनमत संंग्रहमा धाँधली गरेर निर्दलीय व्यावस्थालाई जिताएका सुर्यबहादुर थापाका छोराको रगत र विचारमा बीपीको विचारलाई आत्मसात गर्न सक्ने क्षमता छ त ? बीपीलाई फाँसी दिनुपर्छ भन्ने थापाका छोराले अब आउने दिनमा जीवन नै काङ्ग्रेसलाई सुम्पेका काङ्ग्रेसका केही नेतालार्ई विस्थापित गर्ने छन् कि सँगै लिएर हिँड्ने छन् ?

प्रत्येक बाबुले आफ्ना सन्ततिलाई हेरेर सपना बुनेका हुन्छन् र सन्ततिलाई सबैभन्दा ठूलो कुरा आफ्नो बाबु–आमाको सपना पूरा गर्नुहुन्छ । के सुर्यबहादुर थापाले राप्रपा बनाउँदा आफ्नो शेषपछि कुनै दिन आफ्नै छोरा–नातिले यो पार्टीलाई अगाडि लैजानेछन् भनेर सपना बुनेका थिए होलान् ? के उनले बुनेको सपना त्यति कमजोर थियो कि जसलाई आफ्नै सन्ततिले बीचमा नै छोड्न बाध्य हुनु पऱ्यो ? झट्ट हेर्दा बाबुको सपनालाई तिलाञ्जली दिएर काङ्ग्रेस प्रवेश गरेको ‘स्वार्थी समूह’ले काङ्ग्रेसको हितमा के–कस्ता काम गरेर देखाउनेछ– त्यो भने हेर्न बाँकी नै छ ।

बाउ काङ्ग्रेस वा कम्युनिष्ट हुँदैमा छोरो अर्को पार्टीमा जानु हुँदैन भन्ने होइन । तर पनि विवाह गर्दा त तीनपुस्ते नातागोता हेरिन्छ भने यो त सिङ्गो संगठनको कुरा हो । जसमा अरु पार्टीको मान्छेलाई भित्र्याउँदा त्यसको दीर्घकालिन असरको बारेमा लेखाजोखा हुनुपर्छ कि पर्दैन ? त्यसका दूरगामी असरबारे सोचिनु पर्छ कि पर्दैन ?

केही युवा नेता सांसदमा हिसाब चाहिन्छ भनेर कुर्लदै गर्दा अहिले प्रवेश गरेका राप्रपाका नेता भन्नेहरूको राजनैतिक मात्रै नभएर सामाजिक पृष्ठभूमि हेरियो कि हेरिएन ? त्यसको जवाफदेहिता पार्टीमा कसले लिन्छ ?

आखिर राजनीतिको हिसाबकिताब पनि मतसँग जोडिएको हुन्छ । अहिले प्रवेश गरेका नेताबाट काङ्ग्रेसलाई कति मत आउने हो त्यसको हिसाबकिताब भयो कि भएन ? भएको भए जीवनभर काङ्ग्रेसमा लाग्नेहरूलाई जान्ने अधिकार हुन्छ कि हुँदैन ?

हत्याराको छोरालाई छोरी दिन हिच्किचाहट गर्ने समाजमा सिङ्गो पार्टीलाई नकारात्मक असर पर्ने विवादित ब्यक्तिहरूलाई पार्टी प्रवेश गराउनु जरूरी थियो कि थिएन ? त्यसको बारेमा छलफल भयो कि भएन ? नेपाली काङ्ग्रेस एक प्रजातान्त्रिक पार्टी भएकाले यी सबै कुराको छलफल पार्टी केन्द्रीय समितिमा भयो कि भएन ?

हुन त बीपीको छोरा शशांक कोइरालाले मात्र काङ्ग्रेस हाँक्नुपर्छ भन्ने होइन । भोलि राम्रो काम गरेर सुनिल थापाले शशांकको ठाउँ लिन पनि सक्लान् । त्यो कुरा समयले देखाउला । ल खैर जे होस्, समयको तराजुमा असल खराब कामको लेखाजोखा छाडौँ, सुनिल थापालगायतका फरक विचारधारा भएका ब्यक्तिहरूको समुहले नेपाली काङ्ग्रेसलाई कति फाइदा या बेफाइदा हुनेछ भनेर सोच्नु आवश्यक हो या होइन ?

आशा छ यो समुहले म र मजस्ता धेरैमा भएको आशंका र गलत बुझाइको जवाफ राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई दीगो बनाएर अर्को चुनावमा काङ्ग्रेसलाई पहिलो नम्बरको पार्टी बनाएर दिनेछ । जनमतको लायक बन्दै पार्टीहितका पक्षमा काम–कारवाही होउन् । अर्कोपटक जनताका औँठाछापहरूले कुरी–कुरी भन्न पर्ने अवस्था नआओस् ।

अब प्रजातन्त्रमा एक पार्टीबाट अर्को पार्टीमा जानु मिलेर सरकार बनाउनु एउटा सामान्य प्रक्रिया हो भने १७ हजार मान्छे मार्ने आन्दोलन पनि जायज थियो । राजा फेरि प्रजातान्त्रिक मूल्य र मान्यता लिएर आउनु पनि जायज नै हुनेछ । कुनै पनि पार्टीको विधान, संस्कार मुल्य र मान्यतालाई किन मान्नु पऱ्यो ? पार्टीगत मुल्य र मान्यता अवसर छोप्नलाई बनाइएका होइनन् भने मुल्य र मान्यताविपरीतको अभ्यास केका लागि ?

विभिन्न पार्टीका नेतृत्वबीच सुमधुर सम्बन्ध हुनु राम्रो कुरा हो, तर ब्यक्तिगत स्वार्थको लागि पार्टीको आचारसंहितामाथि नै दाउ लगाएर पुराना कार्यकर्ता र नेतालाई ओझेलमा पार्ने खेल हुनु, गुटको स्वार्थपूर्तिका लागि एकता गरिनु गम्भीर विषय हो । राजनीतिक गठबन्धनको पनि आफ्नो छुट्टै नैतिकता हुन्छ । जसलाई ठेस पुऱ्याउने अधिकार कसैलाई हुँदैन ।

संयुक्त राष्ट्रसंघमा जागिर खाएर छोडेपछि एक दशकअघि राजनीतिमा प्रवेश गरेका थापालाई काङ्ग्रेसको सहमहामन्त्री दिने भन्ने कुरा काङ्ग्रेसकै विषेश स्रोतबाट जानकारी आएको छ । १० वर्ष अर्को पार्टीबाट राजनीति गरेका थापालाई काङ्ग्रेसमा सिधै सह–महामन्त्रीको ओहदा दिनु कति जायज छ, त्यो नेपाली काङ्ग्रेसले पछि मूल्याङ्कन गर्ने छ ।

एकातिर सुनिल थापाले पिता सूर्यबहादुर थापाको विरासतलाई निरन्तरता दिन नसक्नु, अर्कोतिर पार्टीले ठूलो भाग दिने निर्णय गर्नुलाई सामान्य मान्न सकिँदैन । थापा र उनको समुह ब्यक्तिगत रूपमा पार्टी प्रवेश गरेका हुन् । उनीहरूको जिल्लामा उनीहरूलाई भोट दिनेले काङ्ग्रेसलाई मत दिन्छन् भन्ने छैन । कि त सम्पुर्ण रूपमा पार्टी नै गाभिएको भए मत आउने सम्भावना हुन्थ्यो । अवस्था त्यो पनि रहेन ।

भोलि यो देशमा काङ्ग्रेस पतन हुनुको दोष कोइराला परिवारलाई जानेछ । आफ्नै पुर्खा बीपी कोइरालाले बनाएको काङ्ग्रेस पार्टी बिग्रँदै जाँदा वा पार्टीलाई नकारात्मक असर पर्ने निर्णय गर्दा पनि चुप्प लागेर बस्ने बीपीका सन्तानलाई इतिहासले अवश्य प्रश्न सोध्ने छ । अब कोही किन काङ्ग्रेस बन्ने र काङ्ग्रेसमा भएकाहरू पनि काङ्ग्रेसमा किन बस्ने भन्ने बहस शुरू हुनेछ ।

सुनिल थापाकै भाषामा नेपाली काङ्ग्रेससँग दुध र चिनी जसरी बस्ने कुरो पनि मधुमेहको बिरामीलाई प्रसोधित चिनी खुवाउनु जस्तै नै हो । आखिर नेपाली कांग्रेस त्यस्तो पार्टी रहेछ जसले आमाको फरिया बेचेर वेश्या (पुरुष र महिला दुवै) लाई पछ्यौरा किनिदिन्छ । ‘आमा’हरू पराया र ‘वेश्या’हरू हाबी हुँदै गएको संगठनले देशलाई के नै दिन सक्ला र ?अब यस्तै तरिकाले चल्दै जाने हो भने जनताले यसरी पनि सोच्नेछन् कि पुरानो रुख काटेर नयाँ रुख रोप्ने बेला त भएको होइन ?

उता आफ्नै बुबाले खोलेको प्रजातन्त्र पार्टी छोडेर सुनिल थापाले पार्टीको अपहेलना गरेर राजीनामा गर्दै नेपाली काङ्ग्रेसमा प्रवेश गर्दैछन् भने यता रामचन्द्र पौडेल र शेरबहादुर देउवाले निहित राजनीतिक फाइदाको लागि गोविन्दराज जोशी र पुष्कर ओझालगायतलाई कारवाही गर्दै शेखर कोइराला र शशांक कोइरालालाई थाङ्नोमा सुताउन सफल भएका छन् । भोलि यो देशमा काङ्ग्रेस पतन हुनुको दोष कोइराला परिवारलाई जानेछ । आफ्नै पुर्खा बीपी कोइरालाले बनाएको काङ्ग्रेस पार्टी बिग्रँदै जाँदा वा पार्टीलाई नकारात्मक असर पर्ने निर्णय गर्दा पनि चुप्प लागेर बस्ने बीपीका सन्तानलाई इतिहासले अवश्य प्रश्न सोध्ने छ । अब कोही किन काङ्ग्रेस बन्ने र काङ्ग्रेसमा भएकाहरू पनि काङ्ग्रेसमा किन बस्ने भन्ने बहस शुरू हुनेछ । हुन त निष्ठा र आदर्शको कारणले कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहलाई नेपाली काङ्ग्रेसबाट टाढा रहन बाध्य बनाइयो भने अरुको त के कुरा भयो र ? भारतको पेलाई सहन नसकेर नेपाल फर्केका बीपीको सपना दारु र भारुमा लिप्त बनाउने नेताहरूले चलाइरहेको काङ्ग्रेसबाट योभन्दा धेरै आशा राख्नु पनि मुर्खता नै हो ।



धर्मनिरपेक्षताले देशलाई विखण्डनको बाटोमा लैजान्छ, त्यसो हुनु हुँदैन भन्ने गोविन्दराज जोशीलाई हटाएर धर्मनिरपेक्षता र गणतन्त्रका नाममा डलर पचाउनेहरूले व्यक्तिगत स्वार्थलाई पार्टीगत स्वार्थभन्दा माथि राखेर गरेको निर्णयले काङ्ग्रेसको उँधोगतिलाई छर्लङ्ग पारेको छ । बीपी विचारको खास्टो यसरी उडेको छ कि त्यहाँ बीपीले कल्पना गरेको समाजको एउटा झलक पनि छैन । आज नेपाली काङ्ग्रेस हुनेखाने र आडम्बरीहरूको दबदबा रहेको पार्टी बनेको छ । काङ्ग्रेसको यो छेपारे प्रवृत्तिले सच्चा काङ्ग्रेसलाई विकल्प खोज्न बाध्य बनाउँदैछ ।

प्रतिक्रिया