शैक्षिक क्रियाकलाप सञ्चालन नगर्न निर्देशन

शैक्षिक क्रियाकलाप सञ्चालन नगर्न निर्देशन


विशेष प्रतिनिधि, तौलिहवा

कपिलवस्तुमा शिक्षणसम्बन्धी कुनै पनि क्रियाकलप सञ्चालन न गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुसहित जिल्लाका सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाईलाई यसबारे पत्रचार गरेको छ । नेपाल सरकारको मन्त्रिपरिषदको साउन ५ गतेको निर्णयानुसार शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम केन्द्र) अर्को सूचना जारी नभएसम्म संचालन गर्न नहुने पत्रमा उल्लेख गरिएको छ ।

जिल्लामा केही संस्थागत तथा सामुदायिक विद्यालयहरु, क्याम्पसहरु संचालन गरी पठनपाठन शुरु गरेको भन्ने सूचना जानकारी प्राप्त हुन आएकोले नेपाल सरकारको निर्णयानुसार विद्यार्थीहरुको पठनपाठनको निमित्त अर्को सूचना जारी नहुँदै कुनै पनि विद्यालयहरु, कोचिङ केन्द्रहरु, ट्युसन सेन्टरको नाउँमा संचालन नगर्न, नगराउन निर्देशन दिइएको पत्रमार्फत जनाइएको छ ।

कोही कसैले अटेर गरी संचालन गरे गराएको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने निमित्त प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए ।