राखेप बोर्ड सदस्यमा ६ जना मनोनित

राखेप बोर्ड सदस्यमा ६ जना मनोनित


राष्ट्रिय खेलकूद परिषद् (राखेप)को बोर्डमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले ६ सदस्य मनोनित गरेका छन् ।

राखेपको उपाध्यक्ष र सदस्यसचिवलाई शपथ खुलाएको भोलिपल्ट मन्त्री विश्वकर्माले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी ६ जनालाई बोर्ड सदस्यमा मनोनयन गरेका हुन् । मन्त्रालयद्वारा बिहीबार (१५ साउन) जारी विज्ञप्तिमा उल्लेख गरिएअनुसार खेल विज्ञ, खेलकूद प्रशिक्षक, खेलकूद प्राविधिक वा एन्टी डोपिङ विज्ञका रुपमा राखेपका पूर्वअधिकृतसमेत रहेका चितवनका रिम रानाभाट र ओखलढुङ्गाका इन्दिरा निरौलालाई मन्त्री विश्वकर्माले मनोनयन गरेका छन् । निरौला यसअघि पनि राखेप सदस्य थिए ।

राष्ट्रिय खेल सङ्घको सिफारिसबाट काठमाडौंका अर्जुन केसी, बागलुङका सम्पन्न श्रेष्ठ र चितवनका सुवास श्रेष्ठलाई पनि मन्त्रीले मनोनयन गरेका छन् । मन्त्री विश्वकर्माले परम्परागत, साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधिका रुपमा नुवाकोटका गोविन्द्रप्रसाद भट्टराईलाई मनोनयन गरेका छन् भने मन्त्रालयले यसअघि नै राखेप उपाध्यक्षमा शिव कोइराला र सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गरेको थियो । दुवै जनाले बुधबार पदभार ग्रहण गरेका थिए ।

ज्ञातव्य छ, राष्ट्रिय खेलकूद विकास ऐन, २०७७ अन्तर्गत राखेपको अध्यक्षमा मन्त्री वा राज्यमन्त्री रहने व्यवस्था छ ।