विश्व लकडाउन र साङ्लाको खुट्टाको कान !

विश्व लकडाउन र साङ्लाको खुट्टाको कान !


■ मदन दवाडी

एकचोटि एउटा वैज्ञानिकलाई साङ्लाले कसरी कान सुन्छ होला, साङ्लाको कान शरीरको कुन भागमा हुन्छ होला भन्ने पत्ता लगाउन मन लागेछ । साङ्लालाई समातेर ओल्टाइपल्टाइ गरेर हेरेछ । कतै पनि कानजस्तो चिज नदेखेपछि पक्कै पनि यसको कान खुट्टामा हुन्छ भन्ने लागेछ र प्रमाणित गर्नतिर लागेछ ।

उसले एउटा सकुशल साङ्लालाई टेबलमा राखेछ र ‘मुभ’ भनेछ, साङ्लो खुरुरु दौडिछ । त्यसपछि वैज्ञानिकले साङ्लाको एउटा खुट्टा झिकिदिएछ र फेरि ‘मुभ’ भनेछ । साङ्लो अलि कम हिँड्यो । एवम् प्रकारले दुइटा खुट्टा झिकेपछि अझै कम अनि सबै खुट्टा झिकेर ‘मुभ’ भन्दा कत्ति पनि नहिँडेपछि उसले प्रमाणित गऱ्यो कि साङ्लाको कान खुट्टामा नै हुने रहेछ । एउटा झिक्दा कम सुन्यो, दुई वटा झिक्दा अझै कम र सबै झिकेपछि सुन्दै सुनेन ।

उपरोक्त प्रसङ्ग छोटो समयमा नै विश्व भ्रमण गर्न सफल भाइरस रोग कोभिड–१९ र यसको बारेमा आएका विज्ञहरूको फरक–फरक भनाइ तथा निष्कर्षसँग जोड्न खोजिएको हो । जुन एक विज्ञ र अर्को विज्ञबीच विवादित देखिन्छ । यद्यपि यो पङ्क्तिकार कुनै विज्ञ हैन र विज्ञहरूलाई चुनौतीको दुश्साहस गर्ने क्षमताको पनि छैन ।

कोभिड–१९, यसको रोकथाम तथा फैलाओट सम्बन्धमा आएका विवादित कुराहरू :

मास्कको भुमिका : विश्व स्वास्थ्य सङ्गठनलगायत केही विज्ञहरूले कोभिड–१९ फैलावट रोक्नलाई मास्कको कुनै भूमिका हुँदैन भन्ने निष्कर्ष दिएको थियो शुरुमा । अप्रिल ६ मा विश्व स्वास्थ्य सङ्गठनले प्रकाशन गरेको निर्देशिकामा स्वस्थ मान्छेले मास्क लगाउन पर्दैन भनेर उल्लेख गरेको थियो । उक्त कुरालाई अन्य विज्ञहरूले खण्डन गरेका थिए र मास्कको भूमिका रहन्छ भने जिकिर थियो । यद्यपि पछि जुन ५ मा फाइवर मास्क तथा फेस सिल्ड लगाउनको लागि विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको थियो ।

यसैको लहै–लहैमा लागेर युरोप–अमेरिकाका सरकार प्रमुखले मास्क लगाउन पर्दैन भनि हिँडे । म बसेको देश बेल्जियमा त शुरुमा मास्क लगाउनु गैरकानुनी थियो र जरिवाना तिर्न पर्थ्यो । बिरामी बाहिर हिँड्न नपाउने र स्वास्थ्य मान्छेले मास्क लगाउन नपर्ने भनिएको थियो । अमेरिकन राष्ट्रपति ट्रम्पले मास्क लगाउन सिधै अस्विकार गरेका थिए । कयौँ विज्ञहरूले श्वास–प्रश्वासको लागि मास्कमा भएको प्वाल मान्छेले हाच्छ्ँयू गर्दा वा खोक्दा निस्कने छिटाभन्दा ३० गुना ठूलो हुन्छ र एउटा छिटामा दश हजार भाइरस हुन्छ, याने कि मास्कको एउटा प्वालबाट तीन लाख भाइरस छिर्न सक्छ भनेका थिए । यसर्थ मास्क लगाउँदालगाउँदै पनि करोडौा भाइरस छिर्न सक्छन् ।

हुन त जतिखेर मास्कको उपयोगिताको बारेमा प्रश्न उठाइएको थियो त्यतिखेर युरोप–अमेरिकामा यो सिलो खोज्दा पनि नपाइने अवस्थामा थियो । सबैले चीनसँग अर्डर गरेका थिए र ‘चीनमा मास्क छ ?’ भन्नलाई यिनीहरूलाई लाज भइराखेको थियो ।

अहिले विश्व मास्कको प्रयोजनको बारेमा ३६० डिग्रीमा फेरो मारेको छ । मास्क लगाँउदा जरिवाना तिर्न पर्ने बेल्जियमना अहिले मास्क नलगाउँदा जरिवाना तिर्न पर्छ । यसलाई खिसिट्युरी गर्ने ट्रम्प अहिले मास्क लगाएर हिँड्छन् । यद्यपि उनी अनिवार्य गर्न हुँदैन भन्नेमा नै छन् अझै । म बबुरोलाई चाहिँ यो मास्क लगाएर उकुसमुकुस हुनभन्दा बरु कोरोना लागेको सहन पाए हुन्थ्यो जस्तो लाग्छ ।

लक्षण देखिने तथा जीवित रहने समय :

सामान्यतया कोभिड–१९ सँग सम्पर्कमा आउने कुनै ब्यक्तिलाई दुई हप्ताभित्रमा लक्षण देखिन्छ अर्थात् सङ्क्रमित हुने छ भन्ने भनिएको छ तर नेपालमा नै एकजना विदेशबाट गएकालाई नेपाल भित्रिएको २१ दिनपछि देखा पऱ्यो । विश्वमा यस्ता कयौँ घटना छन् ।

त्यस्तैगरी कोरोना भाइरस मेटलमा ५ दिन, प्लास्टिकमा २–३ दिन, स्टिलमा २–३ दिन, कोर्डबोर्डमा २४ घण्टा, तामामा ४ घण्टा, सिसामा ५ दिन, क्रिमजन्य पदार्थमा ५ दिन र पेपरमा ५ दिनसम्म सक्रिय रहन्छ भनिएको छ । खाना र पानीमा अहिलेसम्म भेटिएको छैन भने कपडा, शरीरको छाला तथा कपालमा रिसर्च गरिएको छैन भनिएको छ । यद्यपि यो सम्बन्धमा फरक–फरक विज्ञहरूले फरक–फरक समय बताएका छन् । कतिले कपडामा २४ घण्टा र मानिसको शरीरको छालामा १० मिनेट भनेका छन् । विज्ञले दिएको यी समयलाई अपुष्ट गर्ने गरी इण्डियामा चाइनाबाट प्याकेजिङ गरेको २८ दिनपछि आइपुगेको एउटा सामानमा कोभिड–१९ भेटिएको थियो । तर भाइरसमा केमा कति समय बाँच्छ भन्ने जाँचचाहिँ कसरी गर्छन् भन्ने मेरो लागि प्रश्न त रहिरह्यो । भाइरस लगेर फलाममा वा काठमा वा ग्लासमा राखेर पटकैपिच्छे जाच्ने होला कि ? साङ्लाको कान खुट्टामा हुन्छ भनेझैँ अनुमानित प्रमाणित गरेको होला ।

लकडाउन :

यो आलेखको मुख्य सन्दर्भ थियो यो । के लकडाउन नै कोभिड–१९ फैलावटमा न्युनीकरणको लागि मूख्य भूमिका हुन्छ त ? कोभिड–१९ को लकडाउनले गर्दा २०२० मा विश्वको गार्हस्थ उत्पादनमा ५.२५ ले गिरावट हुनेवाला छ । यो लगभग ४.५ ट्रिलियन डिलर अर्थात् ४५ खर्ब डलर याने कि ४.५ निल नेपाली रुपयाँ ।

विश्वका लगभग सबै देशहरूले लकडाउन गरेका थिए वा गर्दै छन् वा गर्नेवाला छन् । अब लकडाउनको प्रभावको विश्लेषण गरौँ । नेपालबाट नै शुरु गर्दा, नेपालमा लकडाउन गरिएको ७७ दिनपछि मात्र कोभिड–१९ व्यापक फैलिएको हो । विज्ञहरूको भनाइलाई आधार मान्ने हो भने त लकडाउनको दुई हप्ता पछि घट्दै जानुपर्ने हो । किनकि दुई हप्ताभित्रमा लक्षण देखा परिसक्छ । इण्डिया, पाकिस्तान बंगलादेश सबैतिर लगभग लकडाउन भएको अढाई महिनापछि मात्र बढि फैलिएको छ । बेल्जियम पनि लकडाउन गर्दा २०० को हाराहारीमा प्रतिदिन सङ्क्रमित थिए भने लकडाउनपछि बढ्दै–बढ्दै गएर लकडाउनको साढे दुई महिनापछि उच्चतम बिन्दु एक दिनको २४००ं थियो । स्पेन, इटली सबैतिरको सिनारियो हेर्ने हो भने लकडाउनपछि पनि बढिरहेको थियो ।

बेल्जियमको लकडाउन खुलाएपछिको सिनारियो हेरौँ । मे ३ मा पहिलो चरण उद्योगहरू खुले, बढेन त्यसपछि पसलहरू खुले, बढेन त्यसपछि स्कुल खुले, बढेन त्यसपछि रेस्टुरेण्टहरू खुलेन बढेन त्यसपछि सिनेमा हलहरू खुले बढेन तर अचानक चौथो चरणको लकडाउन सिनेमा हलहरू खुलेको करिव तीन हप्तापछि तर तेस्रो चरणमा खुलेका स्कुलहरू बन्द भएको बेलामा संक्रमण बढ्न थाल्यो । पहिलो चरणको लकडाउन खुलापछि नै जतासुकै भीडभाड सुरु भइसकेको थियो । त्यो भिडभाड हुन शुरु गरेको करिव अढाई महिनापछि फेरि अचानक वृद्धि भयो । विज्ञको भनाइलाई आधार मान्ने हो भनेत २ हप्तापछि नै बढ्न शुरु गर्न पर्ने हो । यसको फैलावटको कारण पत्ता लगाउनको लागि नै दुई–दुई हप्ताको फरकमा चरण–चरण गरेर लकडाउन खोलिएको थियो ।

बेल्जियममा फेरि लकडाउन गर्न शुरुवात गरिएको छ । करिव १८ दिनदेखि कोभिड–१९ को संक्रमितहरू निरन्तर बढिरहेका छन् । अब यसले छिट्टै बिदा लिने छाँटकाँट छैन । यहाँ रेष्टुरेण्ट तथा क्याफेको कारणले हुन सक्ने अनुमानित गर्दै यो सेक्टरमा कडाइ शुरु गरिएको छ । याने कि साङ्लाको एउटा खुट्टा रेष्टुरेण्ट तथा क्याफे भएका छन् अहिले ।

यसर्थ, लकडाउन नगर्दा मान्छे सचेत नहुने, हेलचक्ऱ्याइँ गर्ने र लकडाउन गर्दा डराएर सचेत हुने । सङ्क्रमितको सङ्ख्या पिकमा हुँदा सबै डराएर सचेत रहने हुनाले घट्दै जाने र खुला हुँदा सचेत नहुने भएकाले बढ्दै जाने कुरालाई यो पङ्क्तिकार अनुमान गर्न सक्छ ।

यसैगरी, सामाजिक दूरीको सन्दर्भमा पनि कसैले १.५ मिटर पर्याप्त हुने कुरा गरेका छन् भने कसैले ४ मिटर याने कि १३ फिटसम्म खतरा हुने कुरा गरेका छन् ।

शुरुमा २५ देखि ३० डिग्रीमा भाइरस निष्क्रिय हुने कुरा गरिएको थियो र गर्मीयाममा यसै यो हटेर जाने कुरा गरिएको थियो । तर अहिले गर्मी बढ्दै गर्दा यो पनि बढ्दै गएको छ । २५–३० डिग्रीमा निष्कृय हैन ४० डिग्रीको दुबई तथा कतारमा पनि यो मजाले फैलिरहेको छ । कहिले यो हावामा रहिरहन सक्छ भनिएको छ भने कहिले हावामा रहँदैन भनिएको छ ।

यसरी विश्वका विज्ञहरू अनुमानैअनुमानको भरमा भूलसुधार विधि (trail and error method) अन्तर्गत परीक्षण तथा निष्कर्ष निकालिरहेका छन् ।

जुन देशमा धेरै परीक्षण भए त्यो देशमा मृत्युदर कम छ, त्यसको कारण धेरै परीक्षण धेरै सङ्क्रमित पत्ता लाग्नु अनि धेरै सङ्क्रमितलाई आइसोलेट गर्नु हो । यसले गर्दा सङ्क्रमित र स्वस्थ मान्छे अलगिन्छ, थोरै परिक्षण गर्दा सबै सङ्क्रमित पत्ता लाग्दैन अनि सङ्क्रमित स्वस्थ मान्छेको सम्पर्कमा जान्छ ।

यो एक जनाबाट शुरु भएको भाइरस हो, अन्तिम एकजना रहेसम्म लकडाउन गर्नै पऱ्यो, नत्र फेरि त्यो एकजनाले बढाउँदै जान्छ नभन्न सकिन्न । यस हिसाबले त यो अनन्त कालसम्म चलिरहने भयो । के यसरी चल्छ त ? चल्दैन । तसर्थ, लकडााउन केही छोटो समयको लागि साधन बन्न सक्छ तर साध्य हुँदै होइन । खोप नै यसको अन्तिम साध्य हो भन्न सकिएला तर यो पनि कहिलेसम्ममा बन्छ भन्ने निर्क्योल हुन नसक्ने सन्दर्भमा लकडाउन भन्दा अलि उचित साध्य खोज्न जरुरी हुन्छ ।

यसर्थ, लकडाउन गर्दा हुने आर्थिक क्षति, विकशित देशहरूमा दिइने गरेको बेरोजगार भत्ता, व्यवसायहरूलाई दिने क्षतिपूर्ति गर्दा रकम १०० ट्रिलियनभन्दा बढि नेपाली रुपैयाँमा भनिने हो भने कयौँ पद्मबराबर हुन्छ । यो सबै रकम पिसिआर टेस्ट किटमा खर्च गर्ने र अनि जोखिमयुक्त क्षेत्रमा काम गर्ने सबैको टेस्ट गर्ने हो भने यो धेरै न्युनीकरण हुन सक्छ । लकडाउनको विकल्पमा अत्यधिक टेस्टमा वृद्धि गर्ने हो भने बिरामीहरू आइसोलेटेड हुने सम्भावना ज्यादा हुन्छ । जसले गर्दा बिरामी र स्वस्थ मानिस अलग्याउन मद्दत पुग्छ । नत्र टेस्टमा वृद्धि नगरी लकडाउन भइरहँदा स्वस्थ मानिस लकडाउनले गर्दा भित्र बस्ने र सङ्क्रमित इसेनसिएल सेक्टरमा काम गर्न भनेर हिँडिरहने र सङ्क्रमण फैलाइरहने भइरहन्छ, अन्नत कालसम्म ।

एउटा कुराचाँहि के हो भने घर बाहिर निस्किएन, नियमित हात धुने र हातलाई मुख, नाक, तथा आँखामा लापर्वाहीपूर्वक नलैजाने हो भने यसबाट धेरै नै सुरक्षित रहन सकिन्छ ।