हिजो आश्रय लिएको चेपाङका घरगोठ किन जलायौ ?

हिजो आश्रय लिएको चेपाङका घरगोठ किन जलायौ ?


■ विजय ज्ञवाली

वनमन्त्री शक्ति बस्नेतले बडो गर्वसाथ प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा भनेछन्– चेपाङका घर होइन गोठ हो जलाइएको । र, चेपाङका गोठ जलाइएकोमा उनलाई कुनै पछुतो रहेनछ ।

नेपालको अति सीमान्तकृत र अत्यन्तै पिछडावर्गको रूपमा परिभाषित चेपाङ समुदायको गोठ जल्नुमा उनलाई मज्जाले गर्वबोध भएछ । सेनाको लछारपछारबाट मृत्यु भएका चेपाङ नागरिक मर्नु अब उनलाई सामान्य नै भएछ । र, यस्ता घटना सामान्य नै हुन्, घटिरहन्छन्– उनलाई लागेछ ।
हुन पनि हो महोदय, भुइँफुट्टाहरूले केही समयलाई अलिकति धर्ती टेक्न छोडे भने उसै धर्तीलाई पिच्च थुक्दछन् अरे ! त्यस्ता भुइँफुट्टाहरूलाई फेरि त्यही थुकेकै जमिनमा ओर्लिनुपर्ला कुनै दिन भन्ने हेक्कासमेत रहँदैन अरे– उन्माद र अहमताले गर्दाखेरि ।

हिजो तिनै चेपाङका घरगोठमा आश्रय लिएर आज सिंहदरबारको रवाफ देखाइरहेकाले नभूल कि तिम्रो क्षणिक आत्मरतिको स्थायी साहारा तिनै चेपाङ समुदाय पनि थिए, छन् र रहिरहने छन् । हिजो युद्ध लड्दा तिनै चेपाङ समुदायका घरगोठ सुरक्षित आश्रयस्थल लागे, आज तिनै घरगोठ मूल्यविहीन बन्नु दोष तिम्रो मात्र होइन, तिमीले बदल्न भनेर हिँडेको ब्यवस्थाको पनि थियो र तिमीले कथित रूपमा परिवर्तन गरेको ब्यवस्थाको पनि हो । किनकि तिमीहरूले त्यो परिवर्तन गरेनौँ– जहाँ चेपाङका घरगोठको स्तरोन्नति गर्न नसकेता पनि कम्तीमा आगो त नलगाइने वचनबद्धतासहितको परिवर्तन गरेनौ । तिमीहरूले त त्यो परिवर्तन गऱ्यौ जुन परिवर्तन तिमीहरूको चरित्र सुहाउँदो छ । रातभर आश्रय लियो, अर्को सुरक्षित आश्रयको खोजीभन्दा पहिला नै आफूले आश्रय लिएको घरमा नै आगो लगाइदिने खालको परिवर्तन ल्यायौ, आगो लगाउनुभन्दा पहिला फेरि फर्किएर यसै आश्रयमा आउनुपर्ने त होइन भनेर कदापि सोचेनौँ र त आज चेपाङका घरगोठहरू यसरी नै जलिरहेका छन्, निरीह चेपाङ सेनाको बुटले कुल्चिनुपरेको छ ।

याद रहोस् महोदय, जुन चेपाङका घरमा आश्रय लिएर आज तिमी काठमाडौंका महलबाट चेपाङका घरगोठलाई महत्वहीन र मूल्यहीन सम्झिएका छौ, तिनै छाप्राहरू चेपाङका लागि आफैमा एक सुन्दर र महान् महलहरू पनि हुन् । तिमी काठमाडौंको महलमा बसेर छातीमा पश्चाताप, डर, त्रास, लोभिपापी जिन्दगी जिउँदै छौ नि, तर तिनी चेपाङहरू तिनै छाप्रोमा बसेर पनि ऐश्वर्यको जिन्दगी जिएका छन् ।

गरिव, मजदूर, श्रमिक एवम् सर्वहारा वर्गको उत्थानका लागि भनेर तिनै चेपाङका छाप्रामा आश्रय लिएर आज काठमाडौ बसेर जसरी तिनै गरिवका घरमा आगो लगाएका छौ नि महोदय, त्यो आगोको लप्काले केवल चेपाङ समुदायका घर मात्र जलेका छैनन्, हाम्रो मुटु पनि जलाएको छ, रगत उमालेको छ । हेक्का रहोस् महोदय, कुनै दिन त्यही आगोको लप्काले आफ्नै अनुहार नडढाओस् ।