प्रवासमा बसेर मातृभूमिको माया गर्नु अपराध हो ?

प्रवासमा बसेर मातृभूमिको माया गर्नु अपराध हो ?


■ शेखर ढुंगेल

प्रवासी बनेका या पलायन हुनेका लागि आप्रवासी शब्द आफैंमा पीडादायी छ । जन्मिएको हुर्किएको ठाउँबाट टाढा हुनु पर्दा आँखा टिलपिल पार्दै नेपाली भूमि छोड्दादेखि सुरु हुने विविध संघर्षका कथाको लामो फेहरिस्त छ । मुनामदनका मदनको होस् वा विश्वयुद्ध लड्ने लाहुरेका पीडा, प्रवास नेपालीका लागि रहर कम र बाध्यता बढी हो । आफूलाई विद्वान् ठान्ने केही व्यक्ति र नेताले प्रवासी नेपालीलाई घृणा गरेको देख्दा असह्य हुन्छ ।

प्रवासी नेपालीलाई बोल्ने अधिकार छैन, बोल्ने भए देशमा बस भनेर असहिष्णुतापूर्वक औंलो ठड्याउन थालेका छन् । यो देख्दा अष्ट्रेलियाको स्थायी बसोवास त्यागेर अनि अमेरिकाबाट दुईपटक आफ्नै देशमा केही गर्छु भनेर फर्किंदा पनि बाध्य भएर पुनः पलायन हुनुपरेकोमा मेरो मुटु चसक्क हुन्छ । त्यसैले लेख्ने धृष्टता गरेको हुँ । प्रवासी नेपालीविरुद्ध पूर्वाग्रह राख्ने विद्वानले आप्रवास वा पलायनको भित्री पाटोको अध्ययन किन गर्नुहुन्न ? आप्रवास रोक्न आफूले के–के गर्नु भयो ? त्यसको उत्तर भने दिनुहुन्न ।

सबैभन्दा गम्भीर प्रश्न, २०–२५ वर्षयता देशको सेना, प्रहरी, प्रशासक र नेतादेखि साधारण नागरिकसम्मले आफ्ना सन्तान र सम्पत्ति किन पलायन गराइरहेका छन् ? पलायन वा आप्रवासीविरुद्ध विष वमन गर्नुपूर्व गम्भीर भएर यसको विश्लेषण हुनुपर्छ ।

आप्रवासनका कारक तत्व

१. हाम्रो समाजमा अनैतिक काम गरेर भए पनि पैसा कमाएपछि मात्र इज्जत पाउने प्रवृत्ति छ । डाँडाघरे माइलीले मुम्बई पुगेर पैसा पठाएर उसका बाउले जस्तापाताले घर छाए, तँ यहाँ मेरो टाउको खाएर बसेकी छेस् भनेर १३–१४ वर्षकी आफ्नी छोरी बहिनीलाई शरीर बेच्न पठाउने समाज हो । यहाँ भ्रष्टाचार गर्नेले इज्जत पाउँछ, श्रम र श्रमिक अपहेलित हुन्छ । त्यसको प्रतिफल हो, विदेश जान लालायित हुनु । स्वदेशमा श्रम र श्रमिकको सम्मान र मर्यादा नहुनु नै पहिलो कारण हो ।

२. २०४६ पछिका सरकार युवालाई विदेशमा बेच्न कानुन नीति नै बनाई प्रेरित हुनु हो । लाखौँलाई रोजगारी दिएका सयौँ औद्योगिक प्रतिष्ठान ध्वस्त गराई युवालाई विदेशन बाध्य पार्ने गैरजिम्मेवार शासकप्रति विद्वान्हरूको बोली फुट्दैन । पलायन रोक्ने उपाय प्रस्तुत हुँदैनन् । विदेशिनु पर्दाको कारण बाध्यतालाई रहर बनाउने सामाजिक मनोविज्ञान धनबिना समाजमा सम्मान नहुने सोच हो । फलानोको छोरो विदेश गएर पैसा पठाएर घर बनाइसक्यो तँ लण्ठु गाउँघर घुमेर खान्छस् भन्ने अभिभावक, साथीभाइ, श्रीमती र सन्तान पनि जिम्मेवार छन् ।

३. प्रवासको यात्रा पीडा महाकवि देवकोटाले ‘मुनामदन’मार्फत सूचित गरेकै हुन् । द्वितीय विश्वयुद्धपूर्व नै नेपाली लाहौर हुँदै बर्मा, थाइल्याण्ड र फिजीसम्म पुगेकै हुन् । आज यातायात र सञ्चारका कारण अवसरको पहुँच विश्वव्यापी भएको छ । ठूलाठूला कम्पनीले योग्यताको आधारमा सुविधा दिएर मगाइरहेछन् । त्यही योग्य व्यक्तिलाई देशमै उचित सम्मान र अवसर दिन असमर्थ छौँ भने पलायन हुँदा किन सराप्छौँ ।

४. उच्च शिक्षाको लक्ष्य देशप्रति नभई पलायनमुखी हुन प्रतिस्पर्धा गर्ने मानसिकताको विकास किन हुन पुग्यो ? यस्तो प्रवृत्तिको विकास किन र कहिलेदेखि भयो ? अमेरिका, अष्ट्रेलिया, बेलायत, जापान लगायतका देशमा हजारौँ प्राध्यापक छन्, किन ? कुनै दिन राज्यले उनीहरूलाई सम्झियो ? तर उनीहरू २४ घण्टा नेपालको चिन्ता गर्छन् र आफूले भोगेको जस्तो कल्याणकारी राज्य प्रशासन होस् भनेर सुझाव दिन्छन्, यसमा के अपराध भयो ? देशको सत्ता र शक्तिको पहुँचमा पद, प्रतिष्ठा र सम्पत्ति कमाएका व्यक्ति र नेतृत्ववर्गले आप्रवासीप्रति क्षुद्र आलोचना गरेको देख्दा दुःख लाग्छ । देश भनेको सत्ताको वरपर बसेर सधैं फाइदा लिनेहरूको मात्र होइन । विश्वमा छरिएका सबै नेपालीको हो । स्वदेशमा बसेर बिचौलिया बनी राज्य दोहन गर्नेभन्दा प्रवासमा दुःख गरेर राष्ट्र चिन्तन गर्नेहरूले नै देशको बढी माया गर्छन् ।

५. योग्य भएर पनि कुशासनका कारण पीडित युवापुस्ता पलायन हुन बाध्य छ । आत्मसम्मानका साथ बाँच्न चाहने र चाकरीलाई घृणा गर्ने वर्गलाई हामीले प्रोत्साहन दिएनौं । आरक्षण जस्तो संवैधानिक विभेद नै युवापुस्तालाई पलायन गराउने अर्को कारण हो ।

६. नागरिकलाई देशको भविष्यप्रति आशा जगाउने वातावरण बनाउन सकेनौँ । अनियमितता, नियुक्तिमा घूस, स्वच्छ प्रतिस्पर्धा गर्ने वातावरण नहुनु, बन्द हडताल, राजनीतिक अस्थिरता र शान्ति सुरक्षाको अभावका कारण सक्ने जति विदेश भासिन बाध्य भएका हुन् ।

७. स्वदेशमा आत्मबल गिराएर ढोका ढोका धाउनु र अर्को योग्यको भाग खोस्न धुत्र्याइँ, फट्याइँ र नक्कली प्रमाणपत्र र घूस प्रयोग गरी विकृति, विसंगतिलाई बढावा दिनुभन्दा इमान्दारीपूर्वक विदेशमा परिश्रम गरेर देशका लागि त्याग गर्ने नेपाली अपराधी हुन् र ? उनीहरूले स्वदेशमा मौलाएको विकृतिविरुद्ध बोल्न नपाउने ? जुन धर्तीको माटो, हावापानी, संस्कार र संस्कृतिले हुर्कायो, बाध्यताले विदेश पुऱ्यायो त्यो नेपालीको रगतमा नेपालको माटो सुगन्ध बगिरहेको हुन्छ । जन्मभूमिलाई के दिन सक्छु भनेर सोचिरहेको हुन्छ, के त्यो अपराध हो ? आप्रवासीप्रति असहिष्णु किन हुनु ?

८. आप्रवास सामान्यतया विपन्नबाट सम्पन्न देशमा हुन्छ । योग्यता र दक्षताका कारण सम्पन्नबाट विपन्न देशमा समेत हुने आजको विश्वव्यापी प्रवृत्ति हो । नेपालजस्तो अल्पविकसित राष्ट्रका नागरिक जो आफ्नो देशमा समुचित र सम्मानपूर्वक आफ्नो योग्यता दक्षताअनुसारको रोजगारी पाउन असमर्थ हुन्छन् तब विकल्प रोज्नु अस्वाभाविक होइन । आप्रवासीप्रति असहिष्णु हुने विद्वान्ले नेपालीलाई पलायन हुन रोक्न के काम गरे ? रोक्दारोक्दै नेपाली पलायन भएका हुन् त ? पलायन रोक्न आफूले कुनै प्रयास नगर्नेले बिषवमन गर्नु के बुद्धिमत्तापूर्ण हो ? सक्छ, देशले रोकोस् नसके आप्रवासीबाट कसरी फाइदा लिन सकिन्छ भन्ने नीति बनाओस् । सरकार रेमिट्यान्समा ऱ्याल काढेर बस्छ, त्यही सरकारको चाकरी गरेर व्यक्तित्व बनाएकाहरूले प्रवासीलाई सत्तोसराप गर्ने ? कतै आप्रवासी आफूभन्दा जानकार भयो भनेर आफू ढोका धाउँदाको पीडा आप्रवासीमाथि पोखेको त होइन ?

९. विदेशबाट पढेर विज्ञ बनेर आएकालाई राज्यले उचित स्थान दिँदैन । यस्तो अवस्थामा कोही विदेश फर्कन्छन् त कोही एनजीओ आइएनजीओमा लाग्न बाध्य छन् ? यसको जिम्मेवार को ? पञ्चायतकालमा विदेश पढ्न गएकालाई स्वदेश फर्काएर विज्ञताअनुरूपको स्थान दिने गरिन्थ्यो तर आज त्यही बौद्धिक सम्पत्तिले मोटो रकम नबुझाईकन नियुक्ति पाउँदैन । कसैगरी नियुक्ति पाए पनि अनियमितता नगरे लखेटिन्छ अनि इमान्दार र असल नागरिक निराश भएर पलायन हुन बाध्य हुन्छ । त्यसलाई सराप्ने ? आज चीन र भारतले विदेशमा विज्ञता हासिल गरेका आफ्ना नागरिकलाई विदेशमा पाइरहेको तलबभन्दा ५ गुणा बढी दिएर फर्कन आह्वान गरिरहेका छन् ।

१०. तीन दशकयता कुनै पनि योजना दूरदराजलाई लक्षित गरी बनेन । जन्मथलो गाउँघर नछोडी उच्च शिक्षा, स्वास्थ्य उपचार र रोजगारी पाउनुपर्ने नागरिकको हकलाई बेवास्ता गरियो । गाउँमा जीवनयापन गर्न सक्ने अवस्था नरहेपछि गाउँबाट शहर र शहरबाट विदेश रोज्ने बाध्यात्मक अवस्था राज्यले सिर्जना गरिदियो । गाउँ लक्षित शहरी विकास, कृषि, पशुपालन, फलफूल र जडिबुटी उत्पादनमा राज्यले साथ दिएको भए आज पलायन हुनु पर्दैनथ्यो ।

११. आप्रवासका विविध पीडा छन् । एउटा प्रतिनिधि घटना स्मरण गराउन चाहन्छु । एउटा नेपाली २–२ पटक अमेरिका पुग्छ । उसलाई अमेरिकाभन्दा नेपाल महान् र प्यारो लाग्छ र फर्कन्छ । उसले आफ्नो पुर्ख्यौली जमिन बेचेर होटेल व्यवसाय सुरु गर्छ । सुरु गरेको ६ महिनासम्म उसले उत्साहजनक कमाइ गर्दै थियो । सन्तान हुर्कंदै थिए र नाम चलेको स्कुलमा शिक्षा दिलाउँदै थियो । नयाँ घर बनाउने सपना पूरा गर्न जग हालिसकेको थियो । अचानक महाकालीको भूत आयो । बन्द, हडताल र तोडफोड भयो । एक दुई दिन होइन, महिनौँ नेपाल बन्द र हडताल भयो । भारतीय पर्यटक शून्य भए । कर्मचारीको तलब र होटेल भाडाको बोझले ६ महिनाभन्दा बढी टिक्न असम्भव भयो । लाखौँ घाटा व्यहोर्दै सन्तानको भविष्यका लागि ऊ फेरि विदेश गयो । नेपाल फर्कन चाह्यो, कहिले स्कुल बसमा आगजनी हुन्छ त कहिले स्कुले नानी अपहरणमा पर्छन् । सन्तानको भविष्य खोज्दै ऊ पलायन भयो । यस्तो अवस्थामा अपराध के भयो ? के उसले बन्दुक बोक्नु पथ्र्यो ? अरूको सन्तान मारेर आफ्नो सन्तानको भविष्य खोज्नु पथ्र्यो ? वा आफू र सन्तानको सुरक्षाका लागि उपलब्ध विकल्प सदुपयोग गर्नु पर्थ्यो ?

पलायनको कारण र यसको निराकरण नगरी पलायन हुनेप्रति पूर्वाग्रह राख्ने र आलोचना गर्ने अस्वस्थ मानसिकताको सार्वजनीकरण हुँदा दुःख लाग्छ । के त्यो मानसिकताले समस्या समाधानका लागि केही गरेको छ ? नेपालको प्रत्येक विपद्मा आप्रवासी नेपाली पहिलो पङ्क्तिमा पुगेको छ त्यसको मूल्याङ्कन गर्नु पर्दैन ? कञ्चनपुरदेखि सिन्धुपाल्चोकसम्मको बाढीदेखि भूकम्प र कोरोनाको विपदमा त्यही आप्रवासी सरकार र नेपालका कथित बुद्धिजीवीभन्दा अगाडि नेपाली हुनुको दायित्व निर्वाह गर्न पुगेको हुन्छ र पुगिरहनेछ । नेपालमा बसेर नेता र उनीहरूले पालेका बिचौलियाको घनचक्करमा आश्रित हुन, चाकरी गरी योग्यको भाग खोस्दै आफ्नो स्वार्थपूर्ति गर्न इच्छुक नहुनु, फट्याइँ र भ्रष्टाचार नगरी दैनिकी चलाउन नसक्ने अवस्थाबाट मुक्ति पाउन विदेश जानु कसरी अनैतिक हुन्छ । प्रवासमा पुगेर देशको चिन्ता गर्नु, स्वदेशमा सुशासन, शान्ति र राजनीतिक स्थिरताको कामना गर्नु र त्यसका बाधकलाई औंलो ठड्याउने अधिकार छैन र ? प्रवासीमाथि बिषवमन गर्ने महाशयहरू लौ त देशमा बसेर शक्ति र धनको बलमा मात्र काम हुने प्रशासनलाई सुधार गरेर देखाउनुहोस् ? आप्रवासीविरुद्ध विषवमन गर्न समय र ऊर्जा खर्च गर्ने विद्वान्हरू देशको सम्पत्ति र सन्तान पलायन हुन रोक्ने नीति कार्यान्वयन गर्नुहोस् ।

आप्रवासी कुनै व्यक्ति विशेषप्रतिको रोष वा पूर्वाग्रह होइन भने आप्रवासीलाई गाली गर्न छोड्नुहोस् र पलायनसँगै नेपालीले स्वदेश र विदेशमा आफ्नो धर्म, संस्कृति, साहित्य र संगीतको प्रचार प्रसार गरेका छन् । प्रतिष्ठित प्रतिष्ठानमा उच्च पदमा नेपाल र नेपालीको क्षमताको पहिचान पनि दिएका छन् । आप्रवासी नेपालीले आफूले जे जस्तो पीडा र संघर्ष भुलेर स्वदेशका लागि क्षमताअनुसार योगदान गर्न चिन्तित रहनु र स्वदेशमा असल व्यवस्था भए हुन्थ्यो भन्नु अपराध हो र ? कमसेकम देश लुट्ने खुराफाती गरेर अर्को योग्यको भाग खोसेर पदमा पुग्ने कुशासनमा सहभागी भएका छैनन् र देशले के दियो होइन के दिन सकिन्छ भनेर अनेकौँ संघ–संस्थामार्फत सहयोग गरिरहेका छन् । प्रवासको जीवन केही अपवाद बाहेक सहज र सुखमय छैन । सुविधाको उपभोग नै खुसीको मार्ग होइन । सङ्घर्ष र पीडाका कथा धेरै छन् । यो भोग्न किन बाध्य हुनुपऱ्यो ? खोज्ने प्रयास गर्नुहोस् तब बिषवमनको पश्चात्ताप हुनेछ । फेरि पनि अनुरोध गर्छु– आप्रवासीको पीडालाई महसुस गर्नुहोस् । देशमा बस्नेभन्दा विदेशमा बस्नेले देशको चिन्ता गरिरहेका छन् । के त्यो अन्यथा हो ? विदेशको सुविधामा रमाउनुभन्दा स्वदेशको पीडामा मल्हम लगाउन चिन्तन गर्नु अपराध हो ?

आप्रवासीविरुद्ध बोल्ने नैतिक अधिकार उसलाई मात्र छ जसले शक्तिकेन्द्रका ढोका चहारेर, दलीय झोला बोकेर राज्यकोष दोहन गरेको छैन । कुनै पनि विदेशीको सहयोग र भत्ता लिएको छैन र उसले आफ्नो लगानीमा नेपालमा रोजगारी उपलब्ध गराएको छ । अन्यथा अप्रवासीलाई गाली गर्नुको कुनै अर्थ छैन ।

(हाल अमेरिका)