जुद्धशमशेर यसरी बने राणा शासन पतनको कारण

जुद्धशमशेर यसरी बने राणा शासन पतनको कारण


स्व. श्री ३ रणोद्वीपसिंहको आखिरी समय याने वि.सं. १९४१ कार्तिक महिनासम्म राणाहरूको रोलको क्रममा जो चन्द्रशमशेरले पर्सिमल ल्याण्डन ‘Perceval Lundon’ नामक व्यक्तिद्वारा लेखाउन लगाएका ‘Nepal’ नामक इतिहासिक पुस्तकको भाग–१, पाना नं. २४८–२५० मा रोलको क्रम लेखिएकोमा जीत शमशेरसम्मको नाम सो रोलको क्रममा लेखिएको छ, जुद्धशमशेरको नाम लेखिएको छैन, यसैबाट पनि जुद्धशमशेर रोलमा थिएनन् भन्ने कुरा स्पष्ट हुन्छ । यिनलाई पछि स्व. श्री ३ वीरशमशेरले रोलमा चढाए । यिनलाई रोलमा राख्नुको कारण– वि.सं. १९४१ कार्तिक ९ गते धीरशमशेर बिरामी भई नबाँच्ने देखेर श्री पशुपति ‘आर्यघाट’तर्फ ‘घाट’ चलाए । त्यस अवसरमा जुहारकुमारीले धीरशमशेरलाई रिझाएकी थिइन् तसर्थ उनी साथै घाटमा गएकी थिइन् । भोलिपल्ट पनि कार्तिक १० का दिन सबै छोराहरूसमक्ष धीरशमशेरले जेठा छोरा वीरशमशेरलाई सम्बोधन गरी– ‘जेठोबाठो तैँ छस्, तँलाई नभनी कसलाई भनूँ, यसले (जुहारकुमारीलाई औल्याउँदै) मेरो आखिरी अवस्थामा मेरो दिसापिसाबको कत्ति पर्वाह नगरी खुबै दुःख गरी राम्रो सेवा गरेकी छिन्, तसर्थ मेरो सेखपछि यसले दुःख नपावस्, यसलाई हेर विचार गरीदिनु’ भने । भोलिपल्ट यानि कार्तिक ११ गते धीरशमशेरको मृत्यु पनि भइहाल्यो ।

प्रधानसेनापतिसँग के त्यति सम्पत्ति हुन्थ्यो र त्यसमा पनि धीरशमशेरको सत्र भाइ छोरा–बुहारीहरू, छोरीहरू नाती–नातिनीहरू, जहानहरूको साथै धाई–सुसारेहरूको ठूलो परिवार (रुद्रशमशेरको भनाइअनुसार खसी काटेको दिन मासुको रस बन्थ्यो सो रसमा एक–दुई हाड–मासुसहित फेला परेमा खुब फेला पऱ्योझैँ लाग्दथ्यो) । आफ्नो सेखपछि जुहारकुमारीले मागी–मागी खानुपर्ने दुःख नपाओस् भन्ने धीरशमशेरको माग छोरा वीरशमशेरसँग थियो । ठीक वर्ष दिनपछि याने वि.सं. १९४२ कार्तिकमै वीरशमशेर श्री ३ महाराज भए । राजा हुनासाथै आफ्नो बुबाको मागलाई स्मरण गरी वीरशमशेरले सबै भाइहरू एकत्रित गरी आफ्ना बुबाको मागलाई दोहोऱ्याउँदै भाइहरूसँग ‘जुहारकुमारीलाई मैले के दिने ?’ भनी प्रश्न गरे ? भाइहरूले ‘महाराजबाट जे निगाह हुन्छ बक्सियोस्’ भने । वीरशमशेरले भाइहरूसँग ‘मैले जे दिन्छु तिमीहरू स्वीकार गर्दछौ त ?’ भनी पुनः प्रश्न गरे । राजा जस्तो दाज्यूले दिन लागेको त्यसमा पनि मृत्युशैयाबाट आफ्नै बुबाको मागलाई कुन भाइलाइ विरोध गर्नु थियो र सबैले, ‘महाराजबाट बक्सने कुरालाई हामी सहर्ष स्वीकार गर्दछौँ’ भने । त्यसपछि मात्र वीरशमशेरले ‘त्यसो भए जुहारकुमारीको छोरा जुद्धशमशेरलाई रोल दिन्छु’ भनी रोलमा राखे ।

छोराले रोल पाएपछि आमाको स्थान स्वतः उँचो हुने र दुःख पनि पाउने भन्ने कुरै रहेन । भाइहरूलाई पनि मर्का परेन, रोलमा रहेका भाइहरूमा सबै भन्दा कान्छा जीतशमशेर थिए, जुद्धशमशेर जीतशमशेर भन्दा कान्छा थिए तसर्थ मर्का परेन । बेरोलवालामा अलि ठूला डम्बरशमशेर थिए निजलाई पनि कुनै मर्का परेन, कारण रोलमा रहेका आठ जवान भाइहरूलाई मानी हात हल्लाइदिएकै थिए भने एक–अर्को भाइलाई मानी हात हल्लाइदिनु कुनै गाह्रो थिएन । यसरी जुद्धशमशेर रोलमा चढे औ एक वर्ष चार महिनापछि याने वि.सं. १८४३ फागुनमा शेरशमशेरको ब्रतबन्धका दिन श्री ३ वीरले जुद्धशमशरलाई आफूभन्दा माथि राखी भूजा खाई जुद्धशमशेरको भात चलाइदिए ।

भू.पू. श्री ३ जुद्धले रोलको सुधार गरेको भने, तर सो गर्नु नै पछि गएर राणाशासनको पतनको कारण भयो । श्री ५ त्रिभुवनलाई चिढाउनु, छोराहरूमा मेल गराउन नसक्नु, आफूलाई विष्णुकै अवतार सम्झनु, यिनले मार्नु, काट्नु, झुण्डाउनु, मुढ्नु, थुन्नु, धपाउनुको साथै कतिपयलाई पतिता बनाउनुको साथै अनेक उत्पात मच्चाई जनतालाई यिनले ज्यादै चिढाए । अङ्ग्रेज मामालाई रिझाउन भारतीय नेताहरूलाई कम सताएका थिएनन् । पराइलाई समेत आफ्नो गराउनुपर्ने स्थिति आइसकेको थियो भने आफ्नै शुभचिन्तक, हितैषीहरूलाई पर गरे । यिनै सब कारणहरू हुन् जो जुद्धशमशेरले राणा शासनको पतनको शुरूवात गरी रिडीतर्फ पलायन गर्नुपऱ्यो । जसरी भारतमा औरङ्गजेब अति क्रुर र कट्टर भएबाट मुगल साम्राज्यको अन्तको सुरु भयो त्यस्तै नेपालमा जुद्धशमशेर पनि अति क्रुर कट्टर भएबाट राणा शासनको पतनको कारण बन्यो ।

(श्री ३ हरुको इतिहास)