प्रचण्डको घाँटी दुःखेपछि…

प्रचण्डको घाँटी दुःखेपछि…


प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमति जुटाउन बैठक तय भएर पनि प्रचण्ड अनुपस्थित भएपछि स्थायी समितिको मंगलबार (साउन १३ गते)को लागि निर्धारित बैठक अनिश्चित कालका निम्ति स्थगित गरिएको छ । गत माघ १९ गते भएको पार्टी केन्द्रीय समितिको बैठकले २०७७ सालको चैत २५ देखि ३० गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

केही समयअघि सम्पन्न सचिवालय बैठकले आगामी महाधिवेशनसम्बन्धी विषयको विस्तृत प्रतिवेदन तयार गर्न प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिएको थियो । दुई नेता भेट हुनेवित्तिकै प्रचण्डले दुईमध्ये एक पद छोड्न केपीमाथि दबाब दिने गर्नुभएको थियो भने केपी महाधिवेशनमा केन्द्रित भएर संवाद अघि बढाउन चाहनुहुन्थ्यो । गत साताको मंगलबार प्रधानमन्त्रीले अलिक कडा र स्पष्ट जवाफ दिनुभएपछि प्रचण्डसँग संवाद हुन सकेको थिएन ।

यसैबीच महासचिव विष्णु पौडेलले दुई नेताबीचको संवादलाई निरन्तरता दिन पहल गर्नुभएको र यस क्रममा साउन १२ गते सोमबार बैठक तय भएको थियो । तर घाँटी दुःखेको बहाना गरेर प्रचण्ड पूर्वनिर्धारित बैठकमा उपस्थित हुनुभएन । त्यसपछि महासचिव पौडेलले मंगलबार (साउन १३ गते बिहान ९ बजेको लागि दुई नेताबीच आफूसमेत बसेर बैठक बस्ने व्यवस्था प्रचण्डसँग सल्लाह गरेर नै गर्नुभएको थियो । तर प्रचण्ड मंगलबार पनि बालुवाटार जानुभएन । पौडेलले नौ बजेदेखि साढे दश बजेसम्म टेलिफोन गर्दा पनि प्रचण्डले फोनसमेत उठाउनु भएन ।

बैठकका एजेण्डाहरूमा दुई नेताबीच छलफल नै नहुने भएपछि महासचिवले विधानमा रहेको आफ्नो अधिकार प्रयोग गरी स्थायी समितिको चालु बैठक स्थगित गरिदिनुभएको हो । अब स्थायी समितिको बैठक कहिले हुने भन्ने निश्चित गरिएको छैन । बैठक स्थगित भएको सूचना महासचिवद्वारा जारी भएपछि प्रचण्ड र झलनाथ खनाल दिउँसो साढे एक बजे प्रधानमन्त्रीसँग भेट गर्न बालुवाटार पुग्नुभएको थियो ।

उहाँहरूले बैठक स्थगित गर्न नहुने बताउँदै बैठक बस्न आफूहरू आएको जानकारी प्रधानमन्त्रीलाई गराउनुभएको थियो । महासचिवद्वारा विधिवत स्थगित गरिएकोले अहिले बैठक बस्न नसकिने जवाफ प्रधानमन्त्रीले दिनुभएपछि पनि प्रचण्ड र खनालले आफूहरू बैठक बस्ने जिद्दी गर्नुभएको थियो । त्यसपछि प्रधानमन्त्री ओलीले ‘तपाईंहरू मात्र बसेर बैठक हुन्न, त्यस्तो बैठकले कानूनी मान्यता पाउन पनि सक्दैन’ भन्ने जवाफ दिनुभएको थियो । प्रधानमन्त्रीको यस्तो जवाफ सुनेर प्रचण्ड र खनाल क्रुद्ध हुँदै बालुवाटारबाट बाहिरिनुभएको थियो ।

बैठक स्थगित भएपछि बामदेव गौतमले एकताको लागि भन्दै ६ बुँदे प्रस्ताव सार्वजनिक गर्नुभएको छ ।

पार्टी विग्रह तत्काल रोक्नका लागि दुवै अध्यक्षसमक्ष राखेको प्रस्ताव

१. कमरेड केपी शर्मा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने ।
२. कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने ।
३. पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने ।
४. प्रधानमन्त्रीका दैनन्दिनका कामहरूमा पार्टीले हस्तक्षेप नगर्ने । तर सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयहरूमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने । प्रशासन तथा सक्षा निकायका कर्मचारीहरूको पदोन्नती र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने ।
५. पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्रीपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने । संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयको परामर्श लिने ।
६. अवदेखि पार्टीका बैठकहरू पार्टी कार्यालयमा आयोजना गर्ने ।

१३ साउन, २०७७
वामदेव गौतम
उपाध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)