काङ्ग्रेसमा सभापति नै सभापति !

काङ्ग्रेसमा सभापति नै सभापति !


महाधिवेशनको सुनिश्चितता नभए पनि नेपाली काङ्ग्रेसभित्रको वातावरण रनक्क तातेको छ । काङ्ग्रेसले आगामी फागुनमा चौधौँ महाधिवेशन गर्ने निर्णय गरेको छ, तर निर्धारित समयमा महाधिवेशन सम्पन्न हुने विश्वास गरिएको छैन । अर्को साल (२०७८) को जेठ या भाद्र महिनामा मात्र महाधिवेशन हुन सक्ने सम्भावना छ ।

यसरी कहिले महाधिवेशन हुने भन्ने यकीन नभए पनि पार्टीको विभिन्न स्तरका नेताहरू विभिन्न पदीय जिम्मेवारी प्राप्त गर्न अग्रसर भइसकेका छन् । यस क्रममा पार्टीका कनिष्ठ व्यक्तिहरू विमलेन्द्र निधि र गगन थापाले समेत सभापति बन्ने अति महत्वकाङ्क्षा देखाएका छन् र, यदि उनीहरू समेत उम्मेदवार बने भने काङ्ग्रेसमा दर्जन बढि व्यक्तिहरूले सभापतिमा उम्मेदवारी दिने सम्भावना रहने छ । सभापति शेरबहादुर देउवाको पक्षमा देउवा मात्र सभापतिको उम्मेदवार बन्ने विश्वास गरिएकोमा पछिल्लो केही दिनयता विमलेन्द्रले समेत इच्छा राखेको भन्ने चर्चा शुरु भएको छ । महामन्त्री डा. शशांक कोइरालालाई भेटेर निधिले आफूलाई सहयोग गर्न आग्रह गरेपछि यस्तो चर्चा प्रारम्भ भएको हो ।

अहिले जे–जस्तो किसिमले चर्चा भए पनि देउवाले उम्मेदवारी दिएमा निधि प्रतिष्पर्धामा नउत्रिने, बरु केन्द्रिय सदस्यमा मात्र उम्मेदवारी दिने बुझिएको छ । उपसभापति, महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्ष जस्ता पदमा उम्मेदवारी दिँदा विजय प्राप्त गर्ने कुनै सम्भावना नरहेकोले निधिले सभापति नपाए केन्द्रिय सदस्यमा उम्मेदवारी दिने सोच बनाएको बताइन्छ । देउवा पक्षभित्र सभापति पदका आकाङ्क्षी नभए पनि अन्य पदाधिकारी बन्नेहरूको सङ्ख्या ठूलो भएकोले पदाधिकारी व्यवस्थापनमा देउवालाई निकै ठूलो सकस पर्ने देखिएको छ ।

लामो समय पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्नुभएका वरिष्ठ नेता गोपालमान श्रेष्ठ, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाण, प्रवक्ता विश्वप्रकाश शर्मा र पूर्वकोषाध्यक्ष चित्रलेखा यादवलाई विभिन्न महत्वपूर्ण जिम्मेवारीका निम्ति उपयुक्त मानिएको छ । प्राप्त जानकारीअनुसार यसपटक देउवा आफ्नी पत्नी आरजुलाई पनि महामन्त्रीसम्मको जिम्मेवारी दिन चाहनुहुन्छ । त्यस्तै, देवेन्द्रराज कँडेल, शङ्कर भण्डारी, पुष्पा भुसाल, मीन विश्वकर्मालगायतले पनि कुनै न कुनै पदीय जिम्मेवारी बहन गर्ने योग्यता दर्शाएका हुनाले यी व्यक्तिहरूको व्यवस्थापन पनि देउवाका निम्ति एउटा चुनौती बनेको छ ।

शेरबहादुर देउवालाई सभापति पदमा चुनौती दिन सक्ने व्यक्तिका रूपमा डा. शेखर कोइरालालाई लिइन्छ । तर, शेखरका विरुद्ध कोइराला क्याम्पकै नेताहरू एकजुट भएका छन् । डा. शशांक कोइराला आफैं सभापति बन्ने प्रयासमा छन् भन्ने डा. रामशरण महत, अर्जुननरसिंह केसी, प्रकाशमान सिंह र रामचन्द्र पौडेल पनि सभापतिको उम्मेदवार बन्ने लाइनमा हुनुहुन्छ । कोइराला खेमाबाट डा. शेखर सभापतिको उम्मेदवार बनाइएमा गगन थापा र कुनै सिनियर नेतालाई महामन्त्री तथा प्रकाशमान सिंह, रामशरण महत र अर्जुननरसिंह केसी मध्येबाट उपसभापतिको उम्मेदवार बनाइने बताइन्छ ।

त्यस्तै सहमहामन्त्रीमा डा. अमरेशकुमार सिंहले उम्मेदवारी दिने बुझिएको छ । तर डा. महत, अर्जुननरसिंह र प्रकाशमान शेखरभन्दा रामचन्द्र पौडेललाई नै उम्मेदवार बनाउनु उपयुक्त हुने ठान्दछन् । रामचन्द्र पौडेल सभापतिको उम्मेदवार बनेमा डा. रामशरण महत, अर्जुननरसिंह केसी, प्रकाशमान सिंह र डा. नारायण खड्का उपसभापति र महमन्त्री पदका निम्ति उम्मेदवार चयन हुन सक्ने बताइन्छ । पौडेलले नवीन्द्रराज जोशी र कमला पन्तलाई सहमहामन्त्री तथा सीतादेवी यादवलाई कोषाध्यक्षको उम्मेदवार बनाउने भन्ने चर्चा पनि चलेको छ । डा. शशाङ्क कोइराला आफू सभापतिको उम्मेदवार बनेको अवस्थामा डा. मीनेन्द्र रिजाललाई महामन्त्रीको उम्मेदवार चयन गर्ने निश्चित छ । डा. चन्द्र भण्डारीलाई सहमहामन्त्रीको उम्मेदवार बनाउने इच्छा शशाङ्कले राखेको बताइन्छ ।

अर्का नेता कृष्ण सिटौला पनि च्याँखे थाप्ने अवसरको खोजिमा भएको बुझिन्छ । देउवा उपसभापतिको उम्मेदवार बनाएर उमाकान्त चौधरीलाई महामन्त्री र शिव हुमागार्इंलाई महामन्त्रीको उम्मेदवार बनाएर सिटौला सभापतिमै उम्मेदवारी दिने योजनामा रहेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । त्यस्तै, विपिन कोइराला पनि सभापति पदमा उम्मेदवारी दिने कसरतमा रहेको बताइन्छ । उता युवा नेता शङ्कर भण्डारीचाहिँ हिन्दुराष्ट्रको एजेण्डा दह्रिलोसँग बोक्ने नेताको खोजिमा रहेका छन् । भण्डारी जुनसुकै पदमा उम्मेदवार बने पनि उनले हिन्दुराष्ट्रको एजेण्डालाई आफ्नो मूख्य गन्तव्य बनाउने तयारीमा छन् । भण्डारीमाथि हिन्दुराष्ट्रको एजेण्डा लिएर सभापति पदमै उम्मेदवारी दिन पनि एकथरिले दबाब दिइरहेको बुझिएको छ ।

राष्ट्रिय राजनीतिक शक्तिका रूपमा काङ्ग्रेसको हैसियत नराम्रोसँग खस्किएको भए पनि उक्त पार्टीमा नेता बन्ने प्रतिष्पर्धा निकै चर्को देखिन्छ । आगामी महाधिवेनमा काङ्ग्रेसमा नेताहरूको लर्को देखेर संसार नै चकित हुन सक्ने ठानिएको छ ।