केपीलाई केका निम्ति जोगाउने ?

केपीलाई केका निम्ति जोगाउने ?



■ देवप्रकाश त्रिपाठी

माओवादीहरू भारतको पुरानो सत्ताको संरक्षण र सहयोगमा नेपालभित्र हिंसात्मक सङ्घर्ष गरिरहँदा भारतीयहरू प्रचण्ड–बाबुरामहरूलाई सक्कली कम्युनिष्ट ठान्दैनथे, नक्कली कम्युनिष्ट भएको र आफ्नो काबुभन्दा बाहिर कहिल्यै जान नसक्ने ठानेर नै सोनिया गान्धी र प्रणव मुखर्जीदेखि त्यहाँको राज्यसंयन्त्रका अनेक निकायले माओवादीलाई सहयोग पुऱ्याएको बुझिन्छ । प्रचण्डहरूको सोच, व्यवहार र जीवनशैली अवलोकन गरेर नेपालभित्र पनि धेरैले ‘यी’ नक्कली कम्युनिष्ट भएको निष्कर्श निकाल्दै तद्अनुरूप व्यवहार गरिरहेका छन् ।

सक्कली कम्युनिष्ट कस्ता हुन्छन् भन्ने कुरा कम्युनिष्टप्रति व्यक्तिले ग्रहण गरेको छविमा निर्भर रहन्छ । कम्युनिष्ट भन्नाले कस्तो प्रकारको सोच ब्यवहार तथा चरित्रका मानिसलाई जनाउँछ भन्ने बुझाइका आधारमा व्यक्तिले धारणा बनाएका हुन्छन् । कसैले शालिन, स्वच्छ, साधारण जीवनशैली अपनाउने, सबैप्रति प्रेम र सम्मानभाव राख्ने, इमानदार, तडकभडकपूर्ण व्यवहार नगर्ने र वर्गीय दृष्टिकोण स्पष्ट भएका व्यक्तिलाई कम्युनिष्ट ठानेका हुन सक्छन् । कतिपयले विद्रोही स्वभावको, उग्र, असहिष्णु, लडाकु र नकारात्मक चरित्रका मानिस कम्युनिष्टका रूपमा बुझेका हुन सक्छन् ।

एउटा सच्चा कम्युनिष्ट कस्तो हुनुपर्छ भनी मार्क्स, लेनिन, स्टालिन र माओ त्से तुङ्गले जसरी परिभाषा दिएको भए पनि संसारभरिका कम्युनिष्ट एकदलीय अधिनायकवाद र राज्यनियन्त्रित अर्थव्यवस्थाका हिमायती हुन्छन् भन्ने तथ्यचाहिँ व्यवहारशिद्ध छ । कम्युनिष्ट नक्कली नै भए पनि तिनले मार्क्सवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा ग्रहण गरेका हुन्छन्, त्यसैले ती चरम भौतिकवादी हुनेछन् । नक्कली कम्युनिष्ट पनि एकदलीय अधिनायकवाद र सम्पूर्ण सत्ताप्राप्तिका निम्ति सधैं प्रतिवद्ध रहन्छन् । हो, हिजो भारतले र अहिले हामी नेपालीले बुझ्न नसकेको यथार्थ पनि यही नै हो ।

कम्युनिष्ट नक्कली नै भए पनि तिनले मार्क्सवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा ग्रहण गरेका हुन्छन्, त्यसैले ती चरम भौतिकवादी हुनेछन् । नक्कली कम्युनिष्ट पनि एकदलीय अधिनायकवाद र सम्पूर्ण सत्ताप्राप्तिका निम्ति सधैं प्रतिवद्ध रहन्छन् । हो, हिजो भारतले र अहिले हामी नेपालीले बुझ्न नसकेको यथार्थ पनि यही नै हो ।

नेकपा एमालेले हिजो आफूलाई जनताबीच स्थापित गरेको र पटक–पटक सम्पन्न विभिन्न स्तरका निर्वाचनमा जनसमर्थन प्राप्त गर्न सफल भएको, संसदीय प्रजातान्त्रिक अभ्यासमा रमाएको र संवैधानिक राजसंस्थालाई समेत आत्मसात गरेर अघि बढेको हुनाले ‘एमाले’ पक्षमा बेग्लै ढङ्गको आत्मविश्वास भेटिन्छ । उनीहरू मानवअधिकार, बुहदलीयता, नागरिक अधिकार, प्रेस स्वतन्त्रता, निजी सम्पत्तिको संरक्षण र अभिव्यक्ति स्वतन्त्रतालगायतका विषयमा पनि स्पष्ट र प्रतिवद्ध भएको बुझिन्छ । तत्कालिक काङ्ग्रेस नेता गिरिजाप्रसाद कोइरालासमेत माओवादी एजेण्डामा सहमत भएकोले मात्र कम्युनिष्ट नाममा रहेको ‘एमाले’ बाटो बदल्न बाध्य भएको हो । होइन भने एमालेले डेढ दशकसम्म काङ्ग्रेसभन्दा ज्यादा संसदीय प्रजातन्त्रप्रति प्रतिवद्ध रहँदै संवैधानिक राजसंस्थालाई आत्मसात र उदार अर्थव्यवस्थालाई स्विकार गर्ने अभ्यास गरिरहेको थियो ।

तर माओवादीको प्रतिवद्धता र पृष्ठभूमि ‘एमाले’को जस्तो होइन । एमालेले को–अर्डिनेशन केन्द्र (कोके) को नाममा हिंसात्मक सङ्घर्ष गरेको भए पनि त्यो निरङ्कुश भनिएको पञ्चायती व्यवस्थाविरुद्ध लक्षित थियो र, माओवादीको हिंसात्मक सङ्घर्ष प्रजातन्त्र एवम् प्रजातान्त्रिक प्रणालीलाई लक्षित गरेर शुरु र अन्त्य गरिएको तथ्य हामी सबैका सामु छर्लङ्ग छ । एमाले निर्वाचनबाट पटक–पटक अनुमोदित भइसकेको र उसले निर्वाचन तथा प्रजातान्त्रिक पद्धतिको रणनीतिक उपयोग गर्ने चेष्टा राखेको महसूस कहिल्यै गरिएन । तर माओवादीहरूको निम्ति शान्तिसम्झौता र निर्वाचन पद्धतिमा सहभागिता पनि एउटा रणनीतिक चालबाजी मात्र थियो भन्ने अनेकौँ तथ्यहरूले सिद्ध गरिसकेका छन् ।

पछिल्लो समयमा नेकपाभित्र उत्पन्न वैचारिक बहसले प्रचण्ड र उनको कित्ता प्रजातन्त्रविरुद्ध भएको थप प्रमाण दिएको छ । पार्टीभित्र शुरु भएको सत्ता सङ्घर्षलाई एउटा निष्कर्शमा पुऱ्याउने उद्देश्यले हुन सक्छ, प्रधानमन्त्रीको समेत जिम्मेवारीमा रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘पार्टीको एकल अध्यक्ष बन्नका निम्ति मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ स्विकार गर्न प्रचण्डलाई प्रस्ताव गर्दा प्रचण्ड सहमत नभएका मात्र होइनन्, उनले ‘जबज’लाई प्रतिगामी विचारको संज्ञा दिएका छन् । अध्यक्ष ओलीले ‘जबज’लाई आत्मसात गर्न प्रस्ताव गरेकै भोलिपल्ट प्रचण्डले आफ्नो निवासस्थानमा माओवादी कित्ताका नेताहरूको बैठक आयोजना गरी केपीद्वारा प्रस्तुत प्रस्तावबारे जानकारी गराउँदै भने, ‘हामी जनताको बहुदलीय जनवाद (जबज) भन्दा अघि बढिसकेका छौँ, अब पछाडि फर्कन सकिँदैन । ‘जबज’लाई स्वीकार गर्नु भनेको पछाडि फर्कनु (प्रतिगमन) हो, जनताको जनवाद हुँदै समाजवादसम्म पुग्ने हाम्रो कार्यदिशा नै सही छ र यसलाई परित्याग गरेर ‘जबज’लाई अपनाउन सकिँदैन ।’

केपी ओली प्रजातान्त्रिक प्रणाली यथावत राखेर आफ्नो एउटा कार्यकाल सजिलोसँग पूरा गर्न चाहन्छन् भने प्रचण्ड कम्युनिष्ट पार्टीको नाममा एकदलीय शासन व्यवस्था लागु गर्दै राजनीतिक र आर्थिक सत्ता सम्पूर्ण रूपले आफ्नो नियन्त्रणमा लिन प्रयासरत छन् भन्ने स्पष्ट बुझिन्छ । नेकपाका यी दुई नेताहरूबीच वैचारिक अन्तरलाई समयमै बुझेर त्यसअनुरूप व्यवहार गर्न सकिएन भने नेपाल ‘उत्तर कोरिया पथमा दु्रत गतिले अघि बढ्ने’ निश्चित छ ।

प्रचण्डले यसरी आफ्नो ‘लाइन’ स्पष्ट गरिसकेपछि पनि प्रजातान्त्रिक कित्ताका मानिसमा कुनै किसिमको सचेतना पैदा भएको देखिएन । केपी ओली प्रजातान्त्रिक प्रणाली यथावत राखेर आफ्नो एउटा कार्यकाल सजिलोसँग पूरा गर्न चाहन्छन् भने प्रचण्ड कम्युनिष्ट पार्टीको नाममा एकदलीय शासन व्यवस्था लागु गर्दै राजनीतिक र आर्थिक सत्ता सम्पूर्ण रूपले आफ्नो नियन्त्रणमा लिन प्रयासरत छन् भन्ने स्पष्ट बुझिन्छ । नेकपाका यी दुई नेताहरूबीच वैचारिक अन्तरलाई समयमै बुझेर त्यसअनुरूप व्यवहार गर्न सकिएन भने नेपाल ‘उत्तर कोरिया पथमा दु्रत गतिले अघि बढ्ने’ निश्चित छ ।

२०६२ मंसिरमा संसदवादी भनिएका दल र माओवादीबीच बाह्रबुँदे सम्झौता हुँदा प्रजातान्त्रिक कित्ताले त्यहाँ उल्लिखित ब्यहोरालाई जस्ताको त्यस्तै बुझ्न नसक्नुको परिणाम मुलुकले अहिले ब्यहोर्दै छ । बाह्रमध्येको एउटा बुँदामा ‘निरङ्कुश राजतन्त्रको अन्त्य गरिने’ वाक्याङ्श लेखिएको थियो । उक्त वाक्यलाई प्रजातन्त्र पक्षधरहरूले ‘राजाको निरङ्कुशताको अन्त्य गरिने’ भन्ने अर्थमा बुझेका थिए भने माओवादीले चाहिँ राजतन्त्र भनेकै निरङ्कुश हुने भएकोले ‘राजतन्त्रात्मक प्रणालीको समूलनष्टि’का रूपमा अर्थ लगाएका थिए । परिणामले कसको बुझाइ के थियो भन्ने स्पष्ट गरिदिएको छ । मदन भण्डारीको ‘जबज’लाई समेत उल्टो अर्थात् प्रतिगामी विचारको संज्ञा प्रचण्डले दिएका छन् भने उनको बाटो र गन्तव्यका बारेमा भ्रमित हुनुपर्ने अवस्था अब रहेन । प्रचण्ड शक्तिशाली कम्युनिष्ट पार्टीको सम्पूर्ण मालिक आफू बन्ने कसरतमा छन्, पार्टी र मुलुकको सत्ता आफ्नो नियन्त्रणमा आइसकेपछि विचार मिल्ने छिमेकी मुलुकसँग ‘विशेष समझदारी’ बनाउँदै नेपाललाई ‘समाजवादी’ राज्य घोषणा गर्ने र कम्युनिष्ट पार्टीका नाममा आफ्नो एकलौटी शासन शुरु गर्ने योजनामा प्रचण्ड रहेको यथार्थलाई अहिले नै बुझ्न सकिएन भने मुलुकमा अर्को विपत्तिको प्रवेश हुने निश्चित छ ।

यतिबेला केपी शर्मा ओली र प्रचण्डका बीच उत्पन्न विवाद र तनावलाई गिरिजाप्रसादसँग गणेशमान सिंहको या माधव नेपाल र केपीबीचको जस्तो ठानिनु हुन्न । यसलाई तत्कालिक सोभियत सङ्घको मेन्सेविक र बोल्सेविकबीच उत्पन्न विवादकै स्तरमा बुझेर मनन गर्नु उपयुक्त हुनेछ ।

छिमेकी मित्रराष्ट्र चीन नेपालमा कसैको निरङ्कुश शासन चाहन्छ भन्ने प्रमाण जुटाउन अहिले नसकिएला, तर उसले नेपालमा आफ्नो अनुकुल मित्रशक्तिको सत्ता र सरकारको स्थायित्व चाहेको छ भन्ने बुझ्न माओको रातो पुस्तक पढिरहनुपर्ने छैन । नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच स्थापित भाइचारा सम्बन्धले नेपाल र चीनबीचको सम्बन्धलाई कति कसिलो बनाउँछ, त्यो अध्ययन या प्रतीक्षाको विषय बन्न सक्छ, तर यसले नेपालमा क्रियाशील राजनीतिक शक्तिहरूमध्ये कम्युनिष्ट पार्टीलाई मात्र चीनले निकटतम् मित्र ठानेको पुष्टि गर्दछ । चीनको इच्छा र प्रचण्डको महत्वकाङ्क्षी योजनाबीच हुन सक्ने समिकरण नै नेपालबाट प्रजातन्त्रको नामोनिसान मेटिने कारण बन्न सक्दछ । त्यसैले यतिबेला केपी शर्मा ओली र प्रचण्डका बीच उत्पन्न विवाद र तनावलाई गिरिजाप्रसादसँग गणेशमान सिंहको या माधव नेपाल र केपीबीचको जस्तो ठानिनु हुन्न । यसलाई तत्कालिक सोभियत सङ्घको मेन्सेविक र बोल्सेविकबीच उत्पन्न विवादकै स्तरमा बुझेर मनन गर्नु उपयुक्त हुनेछ ।

प्रधानमन्त्रीका रूपमा केपी ओलीबाट काम भएको छैन भने अर्को संसदीय निर्वाचनपश्चात गठन हुने सरकारले राम्रो कार्य गर्ने आशा गर्न सकिन्छ । केपीको सरकार भ्रष्टाचार र अनियमिततामा संलग्न भएको छ भने निकट भविष्यमै त्यसमाथि अनुसन्धान, छानवीन र कानूनी कारवाहीको प्रक्रिया शुरु हुन सक्छ । तर एकदलीय अधिनायकवादी राज्यसत्ता जसको सपना प्रचण्डले बुनिरहेका छन्, यदि स्थापना भयो भने नेपाल र चीनबीचको सम्बन्ध त कलम र बिर्कोको जस्तै हुन सक्ला, बाँकी अरु सबै प्रकारका सम्भावनाहरूको अन्त्य हुनेछ ।

हिंसात्मक युद्धको शुरुवाती चरणमा राजा वीरेन्द्र र उनका हितैषीहरूलाई उपयोग–प्रयोग गर्न सफल माओवादी नेतृत्वले राजदरबार हत्याकाण्डपश्चात भारत र गिरिजाप्रसादलाई प्रयोग गरेका थिए । गणतन्त्र घोषणा नहुँदासम्म गिरिजाप्रसादका कार्यकर्ताझैँ प्रस्तुत भएका प्रचण्ड–बाबुराम त्यसपछि सम्पूर्ण रूपले काङ्ग्रेस (आई) नेतृत्वको भारतको खास मित्र भूमिकामा देखापरेका हुन् । नेकपा एमालेसँगको एकीकरण र कम्युनिष्ट पार्टीको एकमना सरकार गठनपछि माधव नेपाललगायतका ‘एमाले’ नेताहरूलाई उपयोग गरी केपी ओलीलाई पार्टी र देशको सत्ताबाट लखेट्ने प्रयास प्रचण्डबाट हुँदैछ ।

माओ त्से तुङ्गले ‘प्रतिक्रियावादीहरू कागजी बाघ हुन्’ र यिनीहरूलाई पटक–पटक झुक्याउन सकिन्छ भनेको पढ्दा यसरी आफ्नो दृष्टिकोण सार्वजनिक गरिएपछि प्रतिक्रियावादी भनिएकाहरू नझुक्किने, बरु पूर्ण सचेत रहने ठानिएको थियो । तर तत्कालिक राजदरबारदेखि भारत, गिरिजा र शेरबहादुरसम्म आइपुग्दा ‘प्रतिक्रियावादी’हरू माओ त्से तुङ्गले भनेझैँ सधैं झुक्किनका निम्ति लामवद्ध हुँदारहेछन् भन्ने शिद्ध हुन पुगेको छ ।

केपीका हज्जार कमजोरी होलान् तर प्रचण्डको अवाञ्छित आकाङ्क्षाका बाधक बन्ने क्षमता केपीबाहेक अर्को कुनै नेतामा देखिएको छैन । वर्तमानमा उपलब्धमध्ये केपी ओलीबाहेकका हरेक नेताहरू प्रचण्डको गोजीमा रमाउने स्तरका छन् । त्यसैले केपीलाई प्रधानमन्त्री बनाइरहनका निमित्त होइन प्रजातन्त्र र मुलुकको बचेखुचेको अङ्श रक्षाका प्रति सबै नेपाली संवेदनशील र गम्भीर हुनुपर्ने आवश्यकता छ । होइन भने ‘न्याउरी मारी पछुतोको अवस्था’ झेलिरहेका हामी नेपालीले थप सकस ब्यहोर्न अरु केही गर्नु पर्दैन, केवल प्रचण्डलाई साथ–सहयोग दिए पुग्नेछ ।

राजनीतिमा फस्टाउने खेती भनेकै झुठको हो र, झुठको सहारा जो–कोहीले लिन सक्छन् । तर राजनीतिक झुठ बोल्ने क्षमतामा कम्युनिष्टहरू खासगरी माओवादी ‘अब्बल’ मानिन्छन् । माओ त्से तुङ्गले ‘प्रतिक्रियावादीहरू कागजी बाघ हुन्’ र यिनीहरूलाई पटक–पटक झुक्याउन सकिन्छ भनेको पढ्दा यसरी आफ्नो दृष्टिकोण सार्वजनिक गरिएपछि प्रतिक्रियावादी भनिएकाहरू नझुक्किने, बरु पूर्ण सचेत रहने ठानिएको थियो । तर तत्कालिक राजदरबारदेखि भारत, गिरिजा र शेरबहादुरसम्म आइपुग्दा ‘प्रतिक्रियावादी’हरू माओ त्से तुङ्गले भनेझैँ सधैं झुक्किनका निम्ति लामवद्ध हुँदारहेछन् भन्ने शिद्ध हुन पुगेको छ । केपी ओली नामको ‘बाँध’ फुट्यो भने नेपालबाट प्रजातन्त्रले स्थायी बिदाइ पाउने जति निश्चित छ, केपी सरकारमा रहेसम्म मित्रराष्ट्र भारतसँगको सम्बन्धमा सुधार आउन नसक्ने र त्यसले बेग्लै प्रकारका समस्याहरूको सृष्टि गर्न सक्ने सम्भावना पनि त्यति नै छ ।

यसरी नेपाल इतिहासकै एउटा कठिनतम् मोडमा आइपुगेको छ, अहिलेसम्म निकासको उचित मार्ग फेला पर्न सकेको छैन । कुनै अप्रत्याशित घटनाले निकास दिएन भने पशुपतिनाथकै शरणमा जानुपर्ने बाध्यता निकट हुँदै गएको छ, जय मातृभूमि !