‘अफ् द रेकर्ड’ राख्नुपर्ने कुरा के थियो ?

‘अफ् द रेकर्ड’ राख्नुपर्ने कुरा के थियो ?


■ बबिता बस्नेत

प्रायः पत्रकार र समाचार श्रोतका बीच मात्रै प्रयोग हुने शब्द ‘अफ् द रेकर्ड’ अहिले राष्ट्रिय चर्चाको विषय बनेको छ । यही श्रावण ९ गते शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति भवन शितल निवासमा ३१ जना पत्रकारसँग गरिएको दुई घण्टा लामो कुराकानी तथा छलफल एकाएक ‘अफ् द रेकर्ड’मा परिणत भएपछि यसले चर्चा पाएको हो । ‘राष्ट्रपतिज्यूले भेट्न खोज्नुभएको छ’ भनी टेलिफोनबाट निम्ता पाएपछि दिउँसो २ बजे विभिन्न मिडियामा सम्पादन तथा कार्यकारीको भूमिकामा रहेका पत्रकारहरू राष्ट्रपति भवन पुगेका थिए । पछिल्लो समय नेकपाका नेताहरूसँगका श्रृङ्खलावद्ध भेटघाटका कारण विशेष चर्चामा रहनुभएकी राष्ट्रपतिबाट पत्रकार भेटघाटको आयोजना गरिएपछि सम्भावित छलफलका विषयहरू के–के हुन सक्छन् भन्ने कौतुहलता हुनु स्वभाविक नै थियो । राजनीतिक चलखेल, तत्काल सदर गरिएको राजनीतिक दलसम्बन्धी अध्यादेश, गाडी, हेलिकप्टर, कार्पेटलगायत मिडियाले उठाएका तर राष्ट्रपति कार्यालयबाट वास्ता नगरिएका कुराहरू धेरै थिए । कार्यक्रमको ‘मोडालिटी’को बारेमा जानकारी नभए पनि माहोल बन्यो भने प्रश्न पो के गर्ने होला ? उहाँले केही त बोल्नुहोला त्यसैको आधारमा तय गर्नु पर्ला… राष्ट्रपति निवास पुग्नुअघिसम्म मनमा यस्तै कुराले ठाउँ लिइरहेको थियो ।

औपचारिक कार्यक्रममा जाँदाभन्दा गेटदेखि नै माहोल फरक थियो । यो पङ्क्तिकारले डा. रामवरण यादव र विद्यादेवी भण्डारी दुवै राष्ट्रपतिबाट आयोजना भएका औपचारिक र अनौपचारिक कार्यक्रममा भाग लिएको छ । प्रायः भेटघाटमा ब्याग लबीमै राखेर जानुपर्ने अनुभवका कारण मानसिक तयारी पनि त्यस्तै थियो । तर यसपटकको भेटमा ब्याग, मोबाइल सबै लिएर जान पाउने ब्यवस्था रहेछ । भित्र भौतिक दूरीसहितको कुर्सी टेबलबीच कोरोनाका कारण लामो समयसम्म देखभेट नभएका साथीहरू तथा अग्रजहरूसँग कुराकानी गर्ने अवसर पनि मिल्यो । साढे दुई बजे राष्ट्रपति सभाहलमा आउनुभएपछि अनौपचारिक रूपमा कार्यक्रम सुरु भयो । केहीबेर आफ्ना कुरा राखेर प्रश्न तथा सुझावहरू आदानप्रदान भए । कार्यक्रम सकिनै लाग्दा एक जना पत्रकार उठेर अहिलेसम्मका यी कुराकानी प्रकाशित गर्न मिल्ने कि नमिल्ने हो भन्दै ‘अफ् द रेकर्ड हो कि लेख्न मिल्छ ?’ भनेर सोधे । त्यसअघि राष्ट्रपतिबाट ‘अफ् द रेकर्ड’ शब्दको प्रयोग भएको थिएन । सुरुमै उहाँले ‘धेरै भयो यहाँहरूसँग भेट नभएको, अनौपचारिक भेटघाट गरौँ, सँगै बसेर चिया खाऔँ भनेर’ भन्नुभएको थियो । अफ् द रेकर्ड हो कि ? भन्ने प्रश्नको जवाफमा उहाँले ‘हो, अफ् द रेकर्ड नै हो’ भन्नुभयो । सहभागी पत्रकारहरू शितल निवासबाट बाहिरिएपछि ‘अफ् द रेकर्ड’ एकाएक चर्चित शब्द बन्न पुग्यो ।

अहिले हेलिकप्टर, महँगो गाडीदेखि कार्पेटसम्मका कुरा छ्याप्छ्याप्ती मिडियामा आउँदा खास कुरा के हो भनेर राष्ट्रपतिको सचिवालयबाट कुनै प्रतिक्रिया आएन । मिडियामा आएका कुरा हुनाले प्रेस सल्लाहकारले जानकारी दिए पुग्ने ठाउँमा प्रधानमन्त्री स्वयमले स्पष्टिकरण दिँदा त्यति सहज देखिएन, देखिएको छैन ।

राष्ट्रपति–पत्रकार भेटघाटको साक्षी बनेर हेर्दा ‘अफ् द रेकर्ड हो कि ?’ भनेर पत्रकारले सोध्न आवश्यक थियो कि थिएन ? राष्ट्रपति यही चाहनुहुन्थ्यो या पत्रकारले सोधेपछि मुड बनाउनुभयो ? उहाँले ‘अफ् द रेकर्ड भन्दा पनि अनौपचारिक मानिदिनु होला’ भन्नुभएको भए हुन्थ्यो कि ? यस्ता प्रश्नहरूले मनमा ठाउँ लिएका छन् । किनभने राष्ट्रिय रूपमा उथलपुथल हुने कुरा त्यहाँ खासै केही भएको थिएन । ‘अफ् द रेकडर्’ भनिसकेपछि राष्ट्रपतिले यसो भन्नुभयो भनेर उहाँलाई ‘कोट’ गर्ने कुरा भएन । तर ‘इम्प्रेसन’चाहिँ के हो भने राष्ट्रपतिका बारेमा मिडियामा आएका कुराबाट उहाँ बेखबर हुनुहुन्न । सबै उहाँलाई थाहा छ र आफ्नै वरिपरि भएका खराब संवाददाता (अदृष्य श्रोत) हरूले गलत सूचना मिडियामा दिइरहेका छन् भन्ने उहाँको बुझाइ छ ।

तर यो बुझाइलाई चिर्न मिडियाले चाहेका बेला सम्पर्क गर्ने ब्यक्तिचाहिँ राष्ट्रपतिको सचिवालयमा छैन । पूर्वराष्ट्रपति डा. रामवरण यादवका पालामा मिडियामा आएका कुनै पनि कुरामा के भएको हो तुरुन्तै प्रतिक्रिया दिनका लागि प्रेस सल्लाहकार राजेन्द्र दाहाल हुनुहुन्थ्यो । उहाँसँग कुराकानी गर्न र जानकारी लिन पत्रकारहरूले सहज महसुस गर्थे । अहिले हेलिकप्टर, महँगो गाडीदेखि कार्पेटसम्मका कुरा छ्याप्छ्याप्ती मिडियामा आउँदा खास कुरा के हो भनेर राष्ट्रपतिको सचिवालयबाट कुनै प्रतिक्रिया आएन । मिडियामा आएका कुरा हुनाले प्रेस सल्लाहकारले जानकारी दिए पुग्ने ठाउँमा प्रधानमन्त्री स्वयमले स्पष्टिकरण दिँदा त्यति सहज देखिएन, देखिएको छैन । मूल प्रवाहका मिडियामा मात्र होइन राष्ट्रपतिका बारे सामाजिक सञ्जालमा मानिसहरूले उठाएका सवाललाई लिएर पनि प्रधानमन्त्री आफैले जवाफ दिने गर्नुभएको छ । जस्तो, प्रधानमन्त्रीले मदन भण्डारीकी पत्नीलाई साइकल चढ्न आउँदैन भन्ने जवाफ दिँदा त्यसलाई स्वभाविकै रूपमा अस्वभाविक मानिएको थियो ।

पत्रकार भेटघाटमा राष्ट्रपति खुलेर प्रस्तुत हुनुभयो । उपस्थित पत्रकारलाई नामै लिएर सम्बोधन गर्नुभयो । उहाँका कुराकानी सुन्दा भेटघाट प्रचारबाजीका लागि नभएर मिडियासँग सम्बन्ध विस्तारका लागि थियो भन्ने बुझ्न गाह्रो पर्दैन । उहाँले बोल्नुभएका सर्वोच्चको फैसलाबाहेकका कुनै पनि कुरा विवादमा आउने खालका थिएनन् । विपदमा जोखिम न्युनीकरण हुने खालका संरचना बन्नुपर्ने, सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया’देखि समाजवादउन्मुख अर्थतन्त्रका विषयमा दलहरूबीच सम्वाद हुनुपर्ने कुरा हुँदै अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तारसम्म जनताले थाहा पाउन नमिल्ने कुनै कुरा भएको थिएन । हाम्रो समाज नराम्रोसँग पितृसत्ताले जकडिएको समाज हो भन्ने उहाँको निष्कर्ष थियो । पितृसत्ताका बारेमा उहाँको स्पष्टता र इमान्दारी प्रशंसनीय लाग्यो । नेता मदन भण्डारीसँग विवाह नभएको भए परिस्थिति फरक हुने थियो । लोकप्रिय नेताको देहान्तपछि उहाँप्रतिको जनविश्वासले आफूलाई राजनीतिकर्मी बनाएको भन्ने इमानदार स्वीकारोक्ति उल्लेखनीय छ । पितृसत्ता नै थियो जसले राजनीतिमा होम्यो र जकडिएको पितृसत्ताले कहाँ पुऱ्याउँछ यसै भन्न सक्ने अवस्था पनि छैन । पितृसत्ताको जालो र तोड्न खोजिएका अभ्यासहरूका बारेमा उहाँको दृष्टिकोण स्पष्ट छ ।

राष्ट्रपतिले उपस्थित पत्रकारलाई नामै लिएर सम्बोधन गर्नुभयो । उहाँका कुराकानी सुन्दा भेटघाट प्रचारबाजीका लागि नभएर मिडियासँग सम्बन्ध विस्तारका लागि थियो भन्ने बुझ्न गाह्रो पर्दैन ।

‘अफ् द रेकर्ड’ प्रायः सन्देश दिन चाहेको तर सार्वजनिक रूपमा आफ्नो भनाई भनी ‘कोट’को रूपमा नआओस् भन्ने अर्थमा प्रयोग गरिन्छ । यो सार्वजनिक ओहदामा भएका ब्यक्तिहरू (जो बेलाबखत समाचारको श्रोत पनि हुने गर्छन्) र पत्रकारबीचको आपसी विश्वाससँग जोडिएको कुरा हो । एउटा पत्रकारलाई अफ् द रेकर्ड कुराकानीले सूचनाको पृष्ठभूमि बुझ्न मद्दत गरिरहेको हुन्छ । तर ठुलो सङ्ख्यामा मानिसहरू भएका बेला गरिएको कुराकानीलाई ‘अफ् द रेकर्ड’ भन्ने चलन भने कमै हुन्छ । त्यसैले राष्ट्रपति विद्यादेवी भण्डारीले ३१ जना पत्रकारकाबीच बोलेको कुरालाई ‘अफ् द रेकर्ड हो कि ?’ भनेर पत्रकारले सोध्नु र उहाँले ‘हो’ भन्नु दुवै उस्तै–उस्तै भयो । जे भए पनि पत्रकारका लागि अफ् द रेकर्ड कुराकानीमा बिताएको समय त्यसै खेर जाँदैन । कुनै न कुनै सामाग्रीमा काम लागिहाल्छ ।

तर कहिलेकाहीँ ‘अफ् द रेकर्ड’ सम्बन्धित ब्यक्तिले नै सार्वजनिक गरेका उदाहरण पनि विश्वमा छन् । सन २०१८ को अगष्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र न्युयोर्क टाइम्सका प्रकाशक एजी सुल्जबर्गरबीच भएको २० मिनेटको अफ् द रेकर्ड कुराकानी राष्ट्रपति ट्रम्प आफैले ट्वीटमार्फत उल्लंघन गरेको न्युयोर्क टाइम्सले समाचार बनाएको थियो । अफ् द रेकर्ड भनेकाले आफ्ना सम्पादक र टीमलाई समेत नभनी बसेका प्रकाशक भेटघाटको ९ दिनपछि आइतबारको बिहानै ट्रम्पले ‘फेक न्युजको बारेमा मैले न्युयोर्क टाइम्सका प्रकाशकसँग हालै कुरा गरेँ’ भनेर ट्वीट गरेपछि छक्क परेका थिए रे ! यो घटनाले पत्रकारको आचारसंहिताभित्र पर्ने ‘अफ् द रेकर्ड’ अर्को पक्षले ब्रेक गऱ्यो भने के हुन्छ ? भन्ने बहसका लागि ढोका खुल्ला गरिदिएको थियो । हाम्रा राष्ट्रपति विद्या भण्डारीसँग पत्रकार भेटघाटपछिको अफ् द रेकर्डले अर्कोपल्ट आयोजना गरिने यस प्रकारका भेटघाटमा समयको उच्चतम सदुपयोग हुन सक्ने ब्यवस्थापनको माग गरेको छ ।