ऐश्वर्या र आराध्याले जिते कोरोना

ऐश्वर्या र आराध्याले जिते कोरोना


बलिवुडकी नायिका ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । दश दिन अस्पतालमा बिताएर उनीहरू सोमबार (२७ जुलाई) डिस्चार्ज भएका छन् ।

लक्षणविना नै कोरोना पोजेटिभ पाइएपछि पाँच दिन घरमै आइसोलेसनमा बिताए पनि पछि ऐश्वर्यामा कोरोनाको लक्षण देखिएको थियो । त्यसपछि छोरीसहित उनलाई मुम्बईको नानावती अस्पताल भर्ना गरिएको थियो । उनका श्रीमान् अभिषेक र ससुरा अमिताभ पनि सोही अस्पतालमा उपचाररत छन् ।

दश दिन अस्पतालमा बिताएपछि जाँच गर्दा ऐश्वर्या र आराध्या दुवै कोरोनामुक्त भएको रिपोर्ट आएको बताइएको छ । यसको जानकारी अभिषेक बच्चनले ट्वीटमार्फत दिएका छन् । उनले सबैको प्रार्थना र आशीर्वादले ऐश्वर्यालाई ठिक भएको भन्दै शुभेच्छुक सबैप्रति आभार प्रकट गरेका छन् ।

यही जुलाई ११ तारिखका दिन अमिताभ र अभिषेकलाई कोरोना सङ्क्रमण पाइएको थियो । त्यसको भोलिपल्टै ऐश्वर्या र आराध्याको रिपोर्ट पनि पोजेटिभ आयो । तर, जया बच्चन भने कोरोना सङ्क्रमणबाट अछुत रहेकी थिइन् ।