अन्धाअन्धी पर्यटकीय पदमार्ग र विविध पर्यटन

अन्धाअन्धी पर्यटकीय पदमार्ग र विविध पर्यटन


■ तिलक पौडेल ‘स्याँर्कोटे’

सगरमाथाको शिरपोस लगाई तराईको फाँटमा पलेँटी कसेको पहाडी कदको हाम्रो मुलुक प्राकृतिक सौन्दर्यले ओतप्रोत छ । समुद्र सतहबाट ६० मिटरको उचाइ (झापाको केचनाकलन) बाट शुरु भइ ८ हजार ८ सय ४८ मिटर (सर्वोच्च शिखर सगरमाथा) सम्म फैलिएको हिसाबले हामीसँग नभएको धर्ती भन्नु त्यही ६० मिटर मात्र हो भन्ने व्यहोरा सुस्पष्ट हुन्छ । यसमानेमा वानस्पतिक विविधता, जैविक विविधतामा त हामी स्पष्टतः धनी हुने नै भयौँ, त्यसमाथि करिव सवा सय भाषी समुदायको बसोबासले भाषिक एवम् संस्कृतिक विविधता पनि हाम्रो पहिचान बन्न पुगेको छ । तसर्थ यी प्राकृतिक वैभवलाई पर्यटकीय आकर्षकका केन्द्रका रुपमा विकास गर्न सक्नु हाम्रो अपरिहार्यता मानिनु पर्दछ र हाम्रा पर्यटन भनेका पहाडी याने ग्रामीण पर्यटन उपयुक्त देखिन्छन् ।

हाम्रो स्याङ्जाको सिरुवारीलाई नेपालकै पहिलो ग्रामीण पर्यटकीय गन्तव्यका रुपमा लिइन्छ । जहाँ शुरु भएको घरबास (होमस्टे) अहिले अधिकांश नेपाली बस्तीहरूमा अनुसरण भैरहेको पाइन्छ । वास्तवमा स्थानीय उत्पादनको खाना, मौलिक रहनसहन र त्यहीँको परम्परागत सांस्कृतिक क्रियाकलापहरूले जहाँकहीँका घरबासहरूलाई शोभा दिइरहेका हुन्छन् । पञ्चेबाजा बजाएर स्वागत गर्नु, टीका फूलमालाले आगमनको प्रशंसा गर्दै मकै भट्ट (भटमास)का खाजा, झिलिङ्गा, सेलरोटी एवम् मदप्रियलाई कोदाको तीनपानेले मृदु अतिथ्य प्रकट गर्नु सिरुवारीको थिति भइसकेको छ । स्थानीय ग्रामीण पर्यटन विकास समितिका पदाधिकारीहरूबाट पाहुनाहरूलाई बस्ने घरभेटीहरूको जिम्मा लगाइदिइन्छ । सम्बन्धित घरमा गई व्यवस्थित अतिथि कक्षमा झोला बिसाई फ्रेस भएपछि अतिथिलाई मनपर्ने वा रहर लागेका स्थानीय परिकारहरू रोटो, पीठो, ओटो, ढिंडो, गुन्द्रुक, मस्यौरादेखि मांसप्रियलाई लोकल कुखुराको मांसपरिकारले आगन्तुकको धोका पु¥याइदिनु घरभेटीहरूले आफ्नो परम कर्तव्य ठान्दछन् ।

सायमकालीन भोजनपश्चात् सामुदायिक भवनमा जम्मा भई मारुनी–पुर्सुङ्गीदेखि ठाडी भाकासम्म, रोइलादेखि युट्युवमा ट्रेन्डिङ एकमा परेका लोकभाकासम्म, परम्परागत एवम् आधुनिक रोदी र दोहोरीको तालमा आगन्तुकहरूलाई गवाउनु र नचाउनु स्थानीयहरूको पूर्ण सन्तुष्टिको विषय बन्दछ । हुन पनि गाउने, बजाउने, नाच्ने कृत्यबाट आफूलाई प्रफुल्ल नपार्नेहरू यस्ता पर्यटकीय गन्तव्यमा को नै जाने गर्दछ र ? अन्ततः आगन्तुकहरूका फर्माइसमा पनि सरिक हुने स्थानीयहरूसँगको दोहोरी गायन वास्तवमै अति रोचक बन्न पुग्दछ ।

यस्ता ग्रामीण पर्यटकीय केन्द्रहरूसम्मको पहुँचलाई सहज बनाउन थोरै समय भएकाहरूलाई मोटरबाटोको प्रयोग उपयुक्त हुन्छ भने मनचिन्ते समय भएकाहरूलाई पदयात्रा गरी अनुपम प्राकृतिक दृष्यावलोकन गर्दै रमण गर्नु समीचीन हुन्छ । यसै तथ्यलाई मनन गरी नेपाल पर्यटन बोर्ड, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र अन्तगर्तको पर्यटन विभागले उपयुक्त गन्तव्य स्थानका लागि पदमार्गहरू निर्माणमा सहयोग गरी आएको पाइन्छ । यसै सन्दर्भलाई हृदयङ्गम गर्दा नेपालकै पर्यटकीय गन्तव्यका रुपमा विश्वपरिचित ‘पोखरा’देखि उल्लिखित पहिलो ग्रामीण पर्यटन केन्द्र ‘सिरुवारी’सम्मका लागि सम्भाव्य पदमार्गको ब्यहोरा पनि यहाँ समेट्ने प्रयास गर्दा केन्द्रविन्दूमा ‘अन्धाअन्धी’लाई मनन गरिएको छ ।

जो–कोही पर्यटकलाई पोखरा आइसकेपछि पाँच–सात दिन वा थोरै दिन बचत भई कहाँ प्रयोग गरौँ भन्ने अवस्था रहेमा निम्नानुसारको पदमार्ग तय गरी घरबासमा बसेर अनुपम आनन्द लिन सक्नेछन् । जसका लागि पर्यटकीय पदमार्ग निर्माणमा र त्यस रुटमा पर्ने ऐतिहासिक, धार्मिक, प्राकृतिक, पर्यटकीय सम्पदाहरूको समीचीन विकास हुन÷गर्न अत्यावश्यक देखिन्छ । यस मानेमा नियमानुसारका स्थानहरूको संक्षिप्त परिचय यहाँ उल्लेख गरिएको छ –

क) धार्मिक पर्यटकीय स्थलहरू

पञ्चासे :

कास्की, पर्वत र स्याङ्जाको त्रिवेणीमा अवस्थित पञ्चासे हरियाली जङ्गलको बीचमा मन्दीर र केही तल तालको रूपमा रहेको छ । पाँच कोश (कुना/टुँडा) परेको ताल हुँदा यसलाई पञ्चकोशे ताल भनिएको जहाँ खसेका रुखका पातहरू चराले टिपेर बाहिर फाल्ने हुँदा कहिल्यै प्रदूषित हुँदैन र सदा सफा रहन्छ भन्ने किंवदन्ति पनि सुन्न पाइन्छ । त्यही व्यहोरा अपभ्रंश भएर ‘पञ्चासे’ भनिएको भन्ने जनश्रुति पनि छ । यहाँ हरेक वर्षको बालाचतुर्दशीमा सतबीज छर्ने प्रचलन सनातनदेखि चलि आएको छ ।

श्रवणकुमार मन्दिर/कुवा :

साविक बाङ्सिङ गाविसमा पर्ने श्रवणकुमार कुवा हाल आँधीखोला गाउँपालिकाको वडा नं. ३ मा पर्दछ । अन्धाअन्धी बाबुआमाको प्यास मेटाउन पानीको खोजीमा निस्केका श्रवणकुमारले त्यही कुवामा पानी उवाउन खोज्दा मुक्तिनाथको तीर्थाटनमा निस्केका राजा दशरथ बाँगेकोटमा बिसाइ मारेको बेला शिकार खेल्न पञ्चासेको जङ्गलतिर जाँदा शब्दभेदी बाण छाडेका र त्यही बाण लागेर मृत्यु भएकाले उनैको रगतले त्यहाँको पानी रातो देखिने तर हातमा लिँदा सफा हुने हुन्छ भनिन्छ । यही कुवाको समीपमा हाल श्रवणकुमार मन्दिर पनि निर्माण गरिएको छ ।

अन्धाअन्धी :

साविक चिलाउनेवास गा.वि.स वडा नं. ९ मा पर्ने अन्धाअन्धी दह हाल आँधीखोला गाउँपालिकाको वडा नं. २ मा पर्दछ । तिर्खाएका आफ्ना अन्धा–अन्धी बाबु–आमालाई यही स्थानमा राखी पानीको खोजीमा निस्केका श्रवणकुमार, घ्याङ्स्याङ्दीको कुवामा राजा दशरथको शिकार बन्न पुगे । तब राजाले उनको शव र पानी ल्याई अन्धाअन्धीलाई नबोलीकन खानदिएछन् । बाबु–आमाले छोरो नबोलेसम्म पानी नखाने जिद्दी गरेपछि दशरथ राजाले सबै व्यहोरा सविस्तार गरेछन् । अन्धा–अन्धीले आफ्ना छोरा श्रवणकुमारको मृत्युको खबर पाएपछि पानीसमेत नपिई राजालाई आज हाम्रो एक मात्र सहारा छोरालाई मारिदिएर पुत्रशोकमा डुबायौ, अब हामी यहीँ रुँदारुँदै मृत्युवरण गर्दछौँ, त्यस्तै तिमीले पनि अन्तिममा पुत्रशोकबाट मृत्युवरण गर्नुपरोस् भनी श्राप दिएको भन्ने किंवदन्ति छ । भनिन्छ– यही श्रापको प्रायश्चितस्वरुप राज्याभिषेकको तयारीमा रहेका रामचन्द्रलाई वनबास पठाउनुपर्दाको पुत्रशोकबाट दशरथको मरण भएको थियो । तिनै अन्धाअन्धीको आँसुबाट बहेको खोला भएकाले आँधीखोलाको पानी नपिउनु भन्ने गरिन्छ र कसैले पिउँदैनन् पनि । त्यहाँ पनि बालाचतुर्दशीका दिन सतबीज छर्ने मेला लाग्दछ । त्यसको निर्माणार्थ पर्यटन बोर्ड, विभागबाट पटके अनुदान प्राप्त भैरहेको छ । अब यसलाई थप गहन हिसाबले निर्माण गरी धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने प्रबल सम्भावना रहेको छ ।

डहरे देउराली :

स्याङ्जा र पर्वत जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने यो देउरालीको आफ्नै धार्मिक महत्व रहेको छ । पर्वत जिल्लाको फलेवास नगरपालिकाको पहलमा कच्ची मोटरबाटो देउराली मठभन्दा ५० मिटर तलसम्म पुगिसकेको छ । यसको समुचित उत्थान, विकास, विस्तार एवम् समीचीन व्यवस्थापनका खातिर मोक्षद्वारी बालसिद्ध योगाश्रम, डहरे, स्याङ्जा–पर्वत नामको संस्था स्थापना गरी कामधेनु गाईको शिर भएको स्थानमा हेलीप्याड निर्माण भैसकेको छ । आश्रम र शिवालय बनिसकेको यो स्थानबाट आठोटा जिल्ला सदरमुकाम देख्न सकिन्छ ।

यहाँ जान–आउनका लागि स्याङ्जा जिल्लाका अर्जुनचौपारी र आँधीखोला गाउँपालिकाले पनि नयाँ पदमार्गको व्यवस्था मिलाउनु उपयुक्त देखिन्छ । आँधीखोला गाउँपालिकाको चिलाउनेबास झारखोलाका वासिन्दाहरूले वर्षा राम्रो भवोस् र खेतीबाली राम्ररी लगाउन सकियोस् भनी चैते दशैंपछिको पूर्णिमामा र पाकेको बाली राम्ररी भित्र्याउन सकियोस्, असिनापात नहोस् भनी बडा दशैंपछिको पूर्णिमामा साजीपाठी (बोका नलागेको) लगेर डहरे देउरालीमा पूजा गर्ने प्रचलन पुर्खाहरूले चलाएकोमा हाल स्थगित प्रायः भएको प्रतीत हुन्छ । यसलाई गाउँपालिकाले उपयुक्तताको ख्याल राख्दै निरन्तरता दिनु राम्रो हुने देखिन्छ । यस मानेमा डहरे देउराली प्रस्तावित पदमार्ग पर्ने एउटा धार्मिक एवं पर्यापर्यटकीय स्थल हो ।

सतौँ चण्डिस्थान :

स्याङ्जा पुतलीबजार नगरपालिका–१४, सतौँ रजस्थलमा अवस्थित सतौँ चण्डिस्थान धार्मिक हिसाबले यो क्षेत्रको महत्वपूर्ण स्थान हो । मूलतः बडादशैँ र चैतेदशैँमा बलिसहित पूजा हुने गर्दछ । यस स्थानमा साउनको महिनामा पूजा गरिँदैन । आफूलाई परेका पिर चिन्तालाई दूर गर्न ‘भाकल’ गर्ने र सोही बमोजिम पूजाआजा गर्ने प्रचलन सनातनीदेखि चलिआएको छ । देवी चण्डीको नाउँमा भाकल गरेपछि मनोकाङ्क्षा पूरा हुने गरेको बताइन्छ । यहाँबाट अवलोकनिने स्याङ्जा बजार र वरिपरिका हरियाली घुम्टो ओढेका पहाडहरू मनमोहक लाग्दछन् । धार्मिक पर्यटकीय स्थलका रुपमा विकसित यो ठाउँ वरिपरिका भीर पहराहरूमा सहासिक पर्यटनको विकास गर्न सकिने पर्याप्त सम्भावना रहेको छ ।

ख) ऐतिहासिक पर्यटकीय स्थलहरू :

बाँगेकोट :

स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिकामा पर्ने (साविक बाँगेफट्के गाविस) बाँगेकोट एउटा ऐतिहासिक स्थल हो । पुरातत्व विभागले यसको विकासका लागि सामयिक लगानी गरिरहेको छ । त्रेतायुगमा राजा दशरथ मुक्तिनाथ बाबाको दर्शनका लागि तीर्थाटनमा आउँदा यही ठाउँमा बिसाएका थिए भनिन्छ । पछि बाइसे–चौबीसे राजाहरूका समयमा नुवाकोटका रजौटाहरू आएर बसेका थिए । ठूलो र चैते दशैँमा पूजाआजा गराइने गरेको मन्दिर चट्याङ परी भग्नावशेषमा परिणत भए पनि तोप पड्काउने स्थान, किल्लाहरू जीर्णावस्थामा भए पनि सुक्ष्म अस्तित्व कायमै हुँदा विभागको सहयोगको पूर्णपयोग हुने अपेक्षा गर्नैपर्दछ । यहाँ अर्को रोचक प्रसङ्ग पनि छ । अरिँगाले दमैले हिउँदमा असिनापात नहोस् भनेर र वर्षा हुरी भएमा त्यस भेकबाट तर्काउन हातको औला काटेर रगत निकाली चारैतिर छरेर बालीनाली राम्रोसँग थन्क्याउन सहयोग गर्ने गर्थे भनिन्छ, जसलाई अद्यावधि ‘वली’ भन्ने गरिन्छ ।

जुम्लीठाना :

जुम्लाबाट राजौटा आई ठाना बनाएर बसेकाले त्यस ठाउँको नाउँ नै ‘जुम्लीठाना’ रहेको भन्ने भनाइ छ । नजिकैमा रानीले तरकारी लगाउने बारी रहेको ठाउँलाई ‘रानीस्वाँरा’ भनिन्छ । पञ्चवली–पञ्चौली लाने प्रचलन अद्यावधि कायमै रहेको यो स्थान उत्थानको प्रतीक्षामा छ । रजौटासँग जोडिएको यो ठाउँले स्वभावतः ऐतिहासिक महत्व बोकेको छ तापनि यहाँबाट देखिने वरिपरिका हिमचुली, लालीगुराँसे पाखा, अचेलका जिल्ला सदरमुकामहरूले प्राकृतिक दृष्यावलोकन स्थलका रुपमासमेत विकास गरिनुपर्ने र गर्न सकिने सम्भावना रहेको स्थान मान्न सकिन्छ ।

ग) प्राकृतिक पर्यटकीय स्थलहरू

भञ्ज्याङ :

पञ्चासेको बेसक्याम्प भन्दा फरक नपर्ने पूर्वी नजरमा पोखरा उपत्यका समेट्न सकिने स्थान हो- भञ्ज्याङ । यसको उत्तरपश्चिममा पञ्चासेको डाँडा अवस्थित छ । वरिपरिका प्राकृतिक दृष्यावलोकन गर्न सकिने भञ्ज्याङ्, पञ्चासे, श्रवणकुमार मन्दिर जाने धार्मिक ब्रतालुहरूका लागि भेट हुने बिन्दुका रुपमा लिन सकिन्छ । यो मानेमा यसलाई प्राकृतिक पर्यटकीय स्थानको रुपमा विकास गर्नु उपयुक्त देखिन्छ । यहाँ घरबासको बन्दोबस्त मिलाउन पनि सकिन्छ ।

तिखेचुली :

आँधीखोला–२, मा पर्ने तिखेचुलीमा परम्परागत पोखरीको अवशेष छ । त्यसलाई प्राकृतिक पोखरीका रुपमा विकास गर्न सकिने देखिन्छ भने त्यहाँबाट अवलोकन गर्न सकिने धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेका दृष्यहरूलाई समेट्ने गरी हिमचुली दृष्यावलोकन स्थल निर्माण गर्न सकिन्छ । प्राकृतिक हरियालीको अनुपम दृश्य नियाल्न सकिने तिखेचुली समीचीन उन्नयनको प्रतिक्षामा रहेकोछ । विभिन्न तहका सरकारी एवं गैरसरकारी निकाय एवम् निजी प्रयासबाट यसको विकास गर्न सकिने देखिन्छ ।

घ) ग्रामीण पर्यटकीय स्थलहरू

सिरुवारी :

नेपालको पहिलो ग्रामीण पर्यटकीय केन्द्रको रुपमा नेपाली धर्तीमा अस्तित्व आँकिरहेको सिरुवारी आफैंमा आकर्षणको केन्द्र हो नै, जसको भूमिकामै व्याख्या भैसकेकोले यहाँ पुनरुक्ति गरिरहनु परेन । तापनि यहाँबाट भित्रिनेभन्दा संलग्न रुटबमोजिम बाहिरिने बन्दोबस्ती मिलाउँदा अन्य क्षेत्रहरूको उत्थानमा समेत योगदान पुग्ने देखिन्छ ।

ङ) साहसिक पर्यटकीय स्थलहरू

प्यारीकटेरीको भीर :

श्रवणकुमार मन्दिरबाट सरादी दोविल्ला हुँदै अन्धाअन्धी जाने रुटमा पर्ने यो स्थानमा चट्टानेभीर चढ्ने (रक क्लाइम्बिङ)को प्रबल सम्भावना देखिन्छ । पर्यटकीय पदमार्ग निर्माणका क्रममा यसलाई पनि ‘नेचुरल रक क्लाइम्बिङ्ग प्वाइन्ट’का रूपमा विकास गर्नु उपयुक्त देखिन्छ । त्यसैगरी पारीबनलाई आँधीको तटदेखि थामको डाँडासम्मको क्षेत्रका ढुङ्गा मिलाई चट्टाने बगैँचा (रक गार्डेन) बनाउन सकिने सम्भावना देखिन्छ ।

तिखेचुली र डहरे क्षेत्रका भीर :

अन्धाअन्धी दहबाट ग्रामीण पर्यटकीय केन्द्र ‘सिरुवारी’ जाने बाटोमा पर्ने यी भीरहरूलाई पनि चट्टान चढाइ (रक क्लाइम्बिङ) को राम्रो गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ ।

चण्डिस्थान वरिपरिका भीर :

पुतलीबजार नगरपालिकामा पर्ने सतौँको चण्डिस्थान धार्मिक पर्यटकीय केन्द्रका रुपमा विकास गरिएको छ भने त्यसको वरिपरि रहेका सल्यानभीर, वावियाभीर, खर्सुभीर जस्ता पहराहरूलाई साहसिक पर्यटकीय आकर्षक स्थलका रुपमा विकास गर्न सकिने देखिन्छ । प्रस्तावित पर्यटकीय पदमार्गमा सिरुवारीबाट बस वा पैदल सतौं चण्डिकालिका आई प्रस्तुत सुविधा उपयोग गरी पोखरा बस, जीपबाट फर्कन सकिने हुन्छ ।

उल्लिखित बमोजिमका धार्मिक, ऐतिहासिक, ग्रामीण, प्राकृतिक एवम् साहसिक पर्यटकीय स्थलरूपी पुष्पगुच्छालाई निम्नानुसारको पदमार्गको धागोमा उनेर अत्युपयुक्त विविध पर्यटकीय पुष्पहार बनाउन सकिने सम्भावना रहेकाले अन्धाअन्धीलाई केन्द्रमा राखी निम्नानुसारका पदमार्गहरूको निर्माण गर्नु उपयुक्त भएकाले स्थानीय, प्रदेश एवम् सङ्घीय सरकारका सरोकारी निकायहरूको ध्यानाकर्षण गराउनु यो आलेखको पुनित उद्देश्य रहेको छ ।

उपर्युल्लिखित सामान्य स्केचलाई पर्यटकीय पदमार्गको सम्भावनाका रुपमा लिई उपयुक्त मार्ग नभएको स्थानहरूको स्थलगत सर्वेक्षण गरी लागत अनुमानका आधारमा बजेटको व्यवस्था मिलाई अन्धाअन्धी पर्यटकीय पदमार्ग निर्माण गर्न सके (स्पष्टतः एकठाउँदेखि अर्को ठाउँसम्म पुग्दा लाग्ने समय र यातायातको वैकल्पिक साधनको समेत जानकारी गर्न सकिने हुन्छ), त्यस मार्गमा उपयुक्त जँचेका स्थानहरूमा घरबासको प्रबन्ध मिलाउने (यसो भएपछि कुन ठाउँमा बास बस्न सकिन्छ ? त्यहाँ के–के खान पाइन्छन् साथै खर्च कति लाग्छ भन्नेसम्मको व्यहोरा स्पष्ट हुन सक्छ) र उल्लिखित पर्यटकीय स्थलहरूलाई समीचीन हिसाबले नवनिर्माण गर्ने हो भने पश्चिमोत्तर स्याङ्जाको आँधीखोला गाउँपालिका, त्यससँग जोडिएका अर्जुनचौपारी गाउँपालिका (स्याङ्जा) र फेलवास नगरपालिका (पर्वत) लगायतका ठाउँहरूको पर्यटकीय महत्व उजागर हुने र स्थानीय बासिन्दाहरू लाभान्वित हुन सक्ने स्पष्ट छ । यसतर्फ सरोकारी व्यक्ति, पदाधिकारी निकायहरूले सामयिक पाइलो अघि सारौँ ।

सके सपारौं नसके नबिगारौँ…