संस्कृतिमन्त्रीको प्रश्न- ‘विश्व नै पूर्वीय सभ्यतातिर फर्किइरहेका बेला नेपालीमा किन नकारात्मक चिन्तन ?’

संस्कृतिमन्त्रीको प्रश्न- ‘विश्व नै पूर्वीय सभ्यतातिर फर्किइरहेका बेला नेपालीमा किन नकारात्मक चिन्तन ?’


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको संयोजनमा तीनओटै प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारीहरूबिच संयुक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । प्रज्ञा भवन, कमलादीमा आइतबार (११ साउन) नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका साथै सांस्कृतिक संस्थानका पदाधिकारीहरूबिच संयुक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

तीन प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारीहरूको सहभागिता रहेको उक्त संयुक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजनाको उद्देश्यबारे प्रकाश पार्दै मन्त्री भट्टराईले आपसी परिचयका साथै प्राज्ञिक गतिविधिका बारेमा एकअर्काका अनुभव आदानप्रदान र आगामी कार्ययोजनाबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको प्रस्ट पार्नुभयो । मन्त्री भएर आएपछि प्राज्ञहरूबाट आफूले धेरै कुरा सिकेको उल्लेख गर्नुहुँदै उहाँले प्रज्ञा–प्रतिष्ठानहरू आफ्ना लागि विश्वविद्यालय भएको बताउनुभयो ।

कोरोना भाइरस (कोभिड–१९) कारण पूर्वनिर्धारित ठुला गोष्ठी, सेमिनार तथा सभाहरू आयोजना हुन नसकेका भए पनि अब सानातिना गोष्ठी, सेमिनारहरू आयोजना गर्न कुनै बन्देज नरहेको मन्त्री भट्टराईले बताउनुभयो ।

उहाँले प्रज्ञा–प्रतिष्ठान र संस्थानका कामहरू शतप्रतिशत प्रभावकारी हुनुपर्नेमा जोड दिँदै भन्नुभयोे– ‘अबदेखि प्रज्ञा–प्रतिष्ठानहरूमा पनि कुलपतिसमक्ष उपकुलपति र प्राज्ञहरूले कार्यसम्पादन सम्झौता लागू गर्नुपर्ने हुन्छ ।’

उहाँले साउन १५ गतेभित्र सबै प्रज्ञा–प्रतिष्ठान र संस्थानले आ.व. २०७६/७७ को प्रतिवेदन मन्त्रालयमा अनिवार्य बुझाउनुपर्नेमा पनि जोड दिनुभयो । उहाँले भन्नुभयो– ‘यसका साथै चालू आ.व. २०७७/०७८ को कार्यप्रगति शतप्रतिशत पूरा गर्नैपर्छ । विनियोजित बजेटले महत्त्वपूर्ण कार्यक्रमहरू गर्न कठिनाई भए मन्त्रालयले थप सहयोग गर्नेछ । पेश्की फर्स्यौट, बेरुजु फर्स्यौट शतप्रतिशत हुनैपर्छ । मितव्ययी पनि हुनैपर्छ र प्रत्येक महिनामा आ–आफ्ना कामहरूबारे मन्त्रालयमा कार्यप्रगति रिपोर्टिङ गर्नै पर्छ ।’

मन्त्री भट्टराईले मानव सभ्यता र समाजलाई सकारात्मक बाटोतर्फ दिशानिर्देश गर्ने खालका लेखन र गतिविधिहरू प्राज्ञहरूबाट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । सारा विश्व पूर्वीय सभ्यतातिर फर्किइरहेका बेला नेपाली नागरिकमा भने नकारात्मक चिन्तन र सोचको विकास भइरहेको तर्फ सङ्केत गर्दै उहाँले सामाजिक सद्भाव कायम राख्न र साझा राष्ट्र तथा राष्ट्रियतालाई मजबुद बनाउने पक्षमा प्राज्ञहरूको अहम् भूमिका रहनुपर्नेमा जोड दिनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठानहरूको इतिहासमा यस प्रकारले मन्त्रीले संयुक्त रूपमा पहिलोपटक भेटघाट तथा बैठकको आयोजना गरेको बताउनुभयो । उहाँले नेपाल प्रज्ञा–प्रतिष्ठानले सरकारले तोकेका जिम्मेवारीहरू शतप्रतिशत पूरा गर्दै आएको बताउँदै प्रज्ञा–प्रतिष्ठानहरूबाट राज्यले अपेक्षा गरेका दायित्वहरू निर्वाह गरी सार्थकता पुष्टी हुने प्रकारका कामहरू गर्नुपर्ने तर्फ नेपाल प्रज्ञा–प्रतिष्ठान सचेत रहेको प्रष्ट्याउनुभयो ।

उहाँले दक्षिण एसियाका प्रायः सबै प्रज्ञा–प्रतिष्ठानसँग नेपाल प्रज्ञा–प्रतिष्ठानको आपसी सहकार्य सम्झौता भई त्यो क्रम जारी रहेको र इजरायलसँग समेत सम्झौता भएको सुनाउनुभयो ।

कुलपति उप्रेतीले चीन तथा दक्षिण एसिया साहित्य सम्मेलन आयोजना गरिएको, प्रादेशिक, नेपाल दर्पण महाग्रन्थ र नेपाली दर्शन महाग्रन्थको लेखन कार्य सुरु गरिएको, नेपाली बृहत् शब्दकोशको मोबाइल एप निर्माण गरी लागू गरिएको र अर्को वर्ष १ लाख १५ हजार शब्दको प्रज्ञा नेपाली बृहत् शब्दकोश ल्याउने गरी काम भइरहेको र महाकवि देवकोटा सङ्ग्रहालयको डिपिआर निर्माण गरिएको जानकारी दिनुभयो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले आ.व. २०७६/७७ मा आफ्नो प्रज्ञा–प्रतिष्ठानले गरेका गतिविधिहरू प्रस्तुत गर्नुभयो । उहाँले ८५ प्रतिशत कार्य पूरा गरेको बताउँदै कलाकार अरनिकोको १७ फिटको ढलौटको मूर्तिको काम हुँदै गरेको र ललिकलाकर्मी परिचयपत्रको कार्यविधि बनाई वितरण गर्ने तयारी गरिरहेको जानकारी दिनुभएको थियो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ले आफूहरू नियुक्त भएर आएदेखिका कामहरूका बारेमा प्रकाश पार्दै कोरोनाका कारण लक्ष्यअनुरुपका कामहरू गर्न नसकेको बताउनुभयो । उहाँले आफ्नो प्रतिष्ठानले ५५ प्रतिशत मात्रै काम गर्न सकेको सुनाउनुभयो ।

सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारीले संस्थानले सम्पनन गरेका गतिविधिबारे जानकारी दिनुभएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले एक प्रदेश एक पर्वको नीतिअनुसार सात ओटै प्रदेशका विशिष्ट अमूर्त सांस्कृतिक सम्पदाको खोज–अध्ययन गरी त्यसलाई अन्तर्राष्ट्रियस्तरमा लैजानेतर्फ सम्बन्धित निकायहरूको ध्यान जानुुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले गरेको लगानीको औचित्य र प्रतिफल देखिने गरी कामहरू गर्न प्रज्ञा–प्रतिष्ठान र संस्थानलाई आग्रह गर्नुभएको थियो ।

भेटघाटमा तथा अन्तरक्रियाको सञ्चालन नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले गर्नुभएको थियो ।

– शुक्रराज राई