‘मोटा व्यक्तिलाई कोरोनाको जोखिम ज्यादा’

‘मोटा व्यक्तिलाई कोरोनाको जोखिम ज्यादा’


के तपाईंको तौल तुलनात्मक रूपमा ज्यादा छ ? यदि मोटोपनबाट ग्रस्त हुनुहुन्छ भने तौल घटाउने प्रयत्न आजैबाट शुरु गर्नुहोला ।

कोरोना भाइरसको महामारी चलिरहेको वर्तमान परिवेशमा बेलायती विज्ञहरूले मोटो या बढी तौल हुने मानिस कोरोना भाइरसको सम्पर्कमा पर्दा गम्भीर बिरामी पर्ने र तुलनात्मक रूपमा त्यस्ता व्यक्तिको मृत्युको सम्भावना ज्यादा रहने भनाइ सार्वजनिक गरेका छन् ।

बेलायती स्वास्थ्य विभागअन्तर्गतको ‘एक्जुकेटिभ एजेन्सी पब्लिक हेल्थ इंग्ल्याण्ड’ले मोटो तथा बढी वजन भएका व्यक्तिलाई कोरोना सङ्क्रमण भएमा अस्पताल भर्ना गर्नैपर्ने र त्यहाँ ‘इन्सेन्टिभ केयर युनिट’ (गहन हेरचाह इकाइ)को आवश्यकता पर्ने धारणा सार्वजनिक गरेका हुन् । विज्ञहरूका अनुसार तौल बढ्दै जाँदा कोरोनाको जोखिम पनि बढ्दै जान्छ ।

जनस्वास्थ्य विभाग इंग्ल्याण्डका वरिष्ठ पोषण विशेषज्ञ डा. एलिसन टेडस्टोनका अनुसार मोटो व्यक्तिमा स्वास्थ्यसम्बन्धी अन्य समस्याका साथै कोविड–१९ सङ्क्रमण भएमा गम्भीर बिरामी पर्नुका साथै मृत्यु हुने खतरा अत्यधिक रहन्छ । टेडस्टोन भन्छन्– ‘कोरोना महामारीको सन्दर्भमा तौल घटाउनु अत्यन्त लाभकारी हुन्छ जसले कोभिड–१९ को सङ्क्रमणको जोखिम कम गर्नुको साथै मृत्युको सम्भावना पनि ह्वात्तै घटाइदिन्छ ।’

अक्सफोर्ड युनिभर्सिटीका प्राध्यापक सुसन जेबका अनुसार हालसम्मको अध्ययनले बुजुर्ग, पुरुष, दक्षिण एशियाई वंशका र जातीय समुदायका नागरिकहरूमा कोरोना सङ्क्रमणको खतरा ज्यादा रहेको देखाएकोमा अब मोटा व्यक्ति पनि उक्त सूचीमा थपिएका छन् ।

मोटोपन र कोरोनाबीचको यस्तो सम्बन्धबारे खुलासा भएसँगै सुसनले सल्लाह दिएकी छन् कि अब मानिसहरूले आफ्नो मोटोपन कम गर्न जीवनशैलीमा परिवर्तन ल्याउनै पर्दछ, तौल कम गर्ने उपायहरूमा विशेष ध्यान दिनैपर्छ ।