कोमलले किन बोलिन् बिझाउने बोली ?

■ राजन घिमिरे

आफ्नो पूरा जीवन नै नेपाली लोकगीत–संगीतमा समर्पण गरेको नाम हो– कोमल वली । उनी एक सुपरिचित सञ्चारकर्मी र हाल सांसद समेत हुन् र पनि आज गाउँदेखि शहरसम्म उनको खास परिचय भनेको सशक्त ‘लोकगायिका’ नै हो ।

गाउँघर तथा आमाबुबाको दृष्टि एवम् मन–मष्तिष्कमा कोमल वली सांसदको रूपमा होइन मिठो गीत गाउंने, नेपाली भाका, परिवेश र माटोलाई गीत–संगीतमार्फत जन–जनमा पुऱ्याउंने गायिकाकै रूपमा विराजमान छिन् ।

लोकगायन विधामा स्थापित हुन उनले गरेको त्याग, तपस्या, मिहेनत र सङ्घर्षको पहाड धेरै अग्लो छ । यसको फेहरिस्त लामै हुन्छ । तर, यस्ती संघर्षशील गायिका, सञ्चारकर्मी र अहिले सासदको जिम्मेवारीमा रहेकी कोमल जस्तो दिग्गज स्रष्टाले तिजको नाममा गीत गाएर धार्मिक आस्थामाथि नै आँच पुग्ने गायन शैली अपनाएकी गायिका सोफिया थापाले गाएको ‘यसपालीको तिज नो ब्रत प्लीज’ बोलको गीतलाई समर्थन दिएर तमाम संस्कृतिप्रेमीको हृदयमा ठेस पुऱ्याएकी छन् ।

लोकतन्त्रमा जस्तो पनि गीत गाउन पाइन्छ भन्दै त्यो गीत युट्यूवबाट नहटाएको भए हुन्थ्यो भनेर विचार उनले प्रकट गरेकी छन् र उनको यो अभिव्यक्ति यतिबेला उनकै लागि प्रत्युत्पादक बन्ने खतरा बढेको छ । लोकतन्त्र भन्दैमा आफ्ना परम्परा नै मास्नुपर्ने हो र ? भन्ने प्रतिक्रियाहरू व्यक्त गरिन थालेका छन् ।

यतिबेला सोफिया थापाले गाएको उपरोक्त गीत चर्चामा त छ, तर नकारात्मक चर्चामा । चाँडै चर्चामा आउने र युट्युबमा ट्रेण्डिङमा पर्ने लोभ–लालच अनि भाइरल हुने चाहनामा गीत–संगीतकै मर्म र मौलिकता मर्ने गरी युवापुस्ता अगाडि बढे भने भोलि नेपाली संस्कृति, भाषा र शैली कुन हबिगतमा पुग्ला ? धार्मिक मान–मर्यादा नै भत्किने गरी गाइएको उक्त गीतको पक्षमा कोमल वलीको समर्थन र ताली जायज नभएको आवाज उठिरहेको छ ।

एक जनप्रतिनिधि जस्तो मर्यादित र गहन जिम्मेवारीमा रहेर पनि आफूले कस्तो गीतको पक्षमा प्रतिक्रिया दिइरहेछु भन्ने कोमललाई किन हेक्का भएन ? तिजको नाममा तीजकै खिल्ली उडाउने यस्तो गीत गाउनका लागि युवा पुस्तालाई अभिप्रेरित गर्ने प्रयत्न उनले किन गरिन् ? उदेककै विषय बनेको छ ।

वास्तवमा लोकतन्त्रको सुन्दरता जे पनि गर्न पाइने र छाडापन पक्कै होइन । र, राजनीतिमार्फत् देशको सेवा गर्छु भनी फिल्डमा उत्रिएकी कोमल वलीले युवा पुस्तालाई यस्तो गलत बाटोमा हिँड्न प्रोत्साहित गर्नु अर्को विडम्बना हो ।

कोमलज्यू, तपाईं गायन क्षेत्रमा प्रवेश गर्दा कति दुःख–कष्टको झेल्नुपरेको थियो ? कति कठिन थियो गायक बनेर चिनिन गरेको सिर्जनाको त्यो यात्रा ? फगत रहर गर्ने अनि जे पायो त्यही मनपरि ढङ्गमा चिच्याएर के त्यो सिर्जना हुन्छ ? त्यसलाई नै गीत–सङ्गीत मान्नुपर्ने ? यो क्षेत्र रहरको क्षेत्र होइन, समर्पण भावका साथ गम्भीर भएर यो फिल्डमा उत्रिनुस्, संगीतको नाममा गीत–सङ्गीतकै धज्जी नउडाउनुहोस् भनी सुझाव दिनुपर्ने हो नि तपाईंहरू जस्ता खारिएका अग्रज कलाकर्मीले, होइन र ?

यो क्षेत्रमा भाइरल बन्ने हावादारी सोचका साथ कोही पनि नआउनुहोस्, च्याँखे थाप्न मात्र नआउनुहोस्, आज आएर आल्तुफाल्तु ढङ्गले हंगामा मच्चाउने अनि हराउने गरी कोही नआउनुहोस् भनी सुझाव दिनुपर्ने ठाउँमा रहेकै व्यक्तिले उल्टै मनपरि गर्न उक्साहट गरिदिएपछि गीत–संगीतको मर्म कसरी बच्ला ? संस्कृतिको जगेर्ना कसरी होला र ?



तपाईंहरू जस्ता अग्रजको सुझाव र पहलले नै नेपाली गीत–संगीतमा आएको र देखापरेको विकृति निर्मुल हुन सक्छ । तर, तपाईंहरू नै लोकतन्त्रमा जस्तो पनि गीत गाउंन पाइन्छ भनेर मिडियाबाजी गर्दै हिँड्दा समाजमा गलत नजिर स्थापित हुने त होइन ? यसबारे मनन गर्नुहोस् । नेपाली मौलिक सामाजिक परम्परा र पर्वलाई खल्बल्याउने दुष्प्रयत्न कसैले नगरिदिनुहोस् ! अस्तु ।

प्रतिक्रिया