अभ्यस्तको ‘उपचार’को सवाल !

अभ्यस्तको ‘उपचार’को सवाल !


■ देवप्रकाश त्रिपाठी

अभ्यस्तको व्यवहारले एउटा भयानक अनिष्टको सङ्केत गरिरहेको महसुस उनले गरिन् । जे भयो सकियो भनेर यो विषयलाई लिन सकिनन् । बरू जे भयो प्रारम्भ भयो भन्ने ठानिन् उनले । हुन पनि त्यो प्रारम्भ नै थियो । रात त्यत्तिकै बित्यो ।

बिहानी झुल्किन लागेपछि उनी उठिन् र सदाझैँ स्नान गरिन् । खानेकुराहरू तयार गरिन् । अनि अभ्यस्तलाई ब्युझाउन प्रयास गरिन् ।

ऊ ब्युँझियो, तर आमाको मुखै नहेरीकन सिधै झरनातिर लाग्यो । नित्यकर्म सकेर पनि ऊ घरमा धेरै बेरसम्म फर्केन । सायद रातको आफ्नै व्यवहार सम्झेर अहिले ग्लानि भइरहेको हुँदो हो ।

निराकारले धेरैबेर अभ्यस्तको बाटो हेरिरहिन्, तर ऊ देखापरेन । त्यसपछि स्थिति बुझन झरना भएतिर गइन् ।

एउटा कालो ढुङ्गामाथि बसेर टोलाएको मुद्रामा झरनातिरै फर्केर बसिरहेको रहेछ अभ्यस्त । निराकारले केही दूरीमा उभिएर उनको ‘व्यवहार’ हेरिरहिन् । अनि उनको ध्यान भङ्ग गर्ने उद्देश्यले केही अघि बढिन्, फेरि के सोचेर हो कुन्नि टक्क रोकिइन् र फरक्क फर्किइन् घरतिर ।

ध्यान भङ्ग गरिदिनु उचित ठानिनन् उनले । के–के गर्ने रहेछ त हेरौँ न भन्ने पनि उनको मनमा लाग्यो सायद । घन्टौँ बित्यो, तैपनि अभ्यस्त फर्किएन ।

तर, उनको अडान लामो समय टिक्न सकेन । आखिर आमाको मन न हो, कतै कुनै बदमासी पो गर्ने हो कि भन्ने चिन्ताले उनलाई झस्कायो । मध्याह्नको समय बित्न लाग्दा पनि छोरा नफर्किएपछि पुनः उनी झरनातिर गइन् । केही दूरीमा उभिएर फेरि पनि अभ्यस्तलाई हेरिन् । ऊ पूर्ववत् अवस्थामै थियो ।

निराकार नजिकै गइन् र सोधिन्– ‘के भयो बाबु, किन यहाँ यसरी बसेको ? उसले बडो उराठ स्वरमा जवाफ फर्कायो, ‘यही झरनाको निरन्तरता हेरिरहेको । खसिरहेको छ उसकै गतिमा । कहिल्यै नटुङ्गिने यसको यात्राको गतिको स्रोत के होला, त्यही सोचेर हेर्दै छु ।’

‘के रहेछ त ?’

‘त्यही हेर्दै छु, त्यही सोच्दै छु ।’

‘अनि यसरी अरूलाई हेर्दा आफैलाई भुल्ने त होइन नि बाबु, खानुपर्दैन ?’

‘आफूलाई त भुल्नैपर्छ नि, नभुली कसरी जीवन बाँच्न सकिएला र ?’

‘यही झरना मात्रै छ तिमी भुल्ने ठाउँ ?’

‘अरू पनि होला ठाउँ त, अहिलेचाहिँ यही पाएको छु ।’

‘छोड यस्ता कुरा, ल अब घरतिर हिँड, अब केही खानुपर्छ, ढिला भइसक्यो ।’

‘म एकैछिनपछि आउँछु, तपाईं जानुहोस् ।’ उसलाई आमासँगै फर्किन मन लागेन ।’

‘हुन्छ, म जान्छु तर म फेरि फर्केर आउनु नपरोस् नि ! निराकार घर फर्किन् । उनलाई लाग्यो– अभ्यस्तको तत्कालै ‘उपचार’ हुन सकेन भने आगामी हरेक दिन र रातहरू भयङ्कर पीडादायी हुनेछन् । के उपायले उसलाई ठेगानमा ल्याउन सकिएला– उनी सोच्न थालिन् । घरमा पुगेर लामो सुस्केरा हाल्दै भुइँमा बसिन्, अभ्यस्त आफ्नै अगाडि उभिन आइपुगिसकेको देखेर उनी झसङ्ग भइन् ।

ऊ आफ्नै पछि–पछि आइरहेको निराकारले थाहै पाउन सकिनन् । आफूलाई सम्हाल्दै उनी हाँसिन्, अभ्यस्तले पनि हाँसेरै जवाफ फर्कायो, त्यसपछि स्थिति केही सामान्य भयो । अनि दुवै जना भोजन गर्ने तयारीमा लागे । (क्रमशः)

ooo

यसअघिको खण्ड हेर्नुहोस्-
निराकारको चिन्ता- ‘छोराबाट कसरी जोगिने ?’