विनासको नजिक छ मानव प्रजाति !

विनासको नजिक छ मानव प्रजाति !


  • डिल्ली अम्माई

भूगर्भविद्का अनुशार २.४ अर्ब वर्ष पहिलेदेखि नै पृथ्वीमा क्रमशः अक्सिजन बढ्न थालेको हो । जसले गर्दा पृथ्वीका जमिन र समुद्रहरूमा जीव विकासको लागि पर्याप्त अक्सिजन जम्मा भयो । अक्सिजन उत्पादनको त्यो काललाई जीव वैज्ञानिकहरूले अक्सिजन क्रान्ति काल भनेका छन् । त्यहि अक्सिजनले पृथ्वीको वायुमण्डललाई कमजोर पातलो अस्थिबाट एक अक्सीकरण वातावरणमा परिवर्तन गर्यो । समुद्र र जमिनमा भएका अक्सिजन उत्पादन गर्ने साइनोब्याक्टेरियाले अक्सिकरणको घटनालाई निरन्तरता दियो, जसले बहुकोषीय जीव विकासको प्रक्रियालाई सक्षम बनायो । यसले के देखाउँछ भने पृथ्वीमा जीवानुकुल वातावरण बन्न दुई चार सय वर्षमा सम्भव थिएन, दुईचार हजार वा लाख वर्षमा समेत सम्भव थिएन । पृथ्वीको अहिले जस्तै वातावरण बन्न अर्बभन्दा बढी समय लागेको छ । त्यसैले पृथ्वीको वातावरण ब्रम्हाण्डको दुर्लभ र अनमोल उपहार हो । पृथ्वीको जीवनको विकासवादी इतिहासले ती प्रक्रियाहरू पत्ता लगाएको छ कि जीवित बिरुवा र जीवहरूको उत्पत्ति पृथ्वी बनेको झन्डै २ अर्ब वर्षपछि भएको थियो ।

यी कुराहरूबाट बुझ्नु पर्दछ कि धर्तीको वातावरण यसको आफ्नै प्राकृतिक नियमले टिकेको छ । यो आफैंमा सन्तुलित र जीवानुकुल छ । तर वर्तमान अवस्थामा मानवनिर्मित प्रदुषण र प्रकृतिको दोहनको कारण पृथ्वीको वातावरण विनास हुँदैछ । मानिसले पृथ्वीको जल, जङ्गल र आकास तिनैतिर एकैपटक आक्रमण गरिरहेको छ । यो वातावरण मानवअनुकुल बन्न कति अर्ब वर्ष लाग्यो र यो पृथ्वीबाहेक अनेत्र किन सम्भव छैन ? अब यी प्रश्नबारे गम्भीर नहुने हो भने हाम्रो धर्ति अबको केहि सय वर्षमा बस्न लाएक हुने छैन । त्यसैले अब मानव सभ्यताको नाममा प्रकृतिको बिनास गरेर आफ्नो घरमा आगो लगाउने हाम्रो दुष्कर्मलाई रोक्नुको कुनै विकल्प छैन । समाप्त भएको वायुमण्डलको पुनर्जीवन सम्भव छैन । सुधार पनि दुई–चार वर्षमा सम्भव हुँदैन । त्यसैले हाम्रा सोच्ने तरिका बदलौँ, पूर्वकर्मको समीक्षा गरौँ र धर्तीलाई आजैबाट मायाँ गरौँ !

जङ्गल बिनास

धरतीमा एउटा रुख जोगाउनु एक जीव जोगाउनुभन्दा कयौँ गुणा महत्वपूर्ण काम हो, किनकि एक रुखले केही किट तथा केही चरालाई बास दिएर पनि खानको लागि आहारा समेत उपलब्ध गराएको हुन्छ । जीवहरूलाई स्वास फेर्नको लागि अक्सिजन, अन्य बिरुवाको मलको लागि पतिङ्गर दिनु, भूक्षय रोक्नको लागि जमिनको सिलाई गर्नुको साथै वायु–बितण्डा रोक्नको लागि मजबुत सुरक्षा कवचसमेत उपलब्ध गराएको हुन्छ । भविष्यको लागि सयौं लिटर पानि संचय गरेको हुन्छ । त्यसैले रुखको महत्व बहुआयामिक छ । त्यसैले एक रुखको बिरुवालाई आफ्ना सन्तानलाई झैँ माया गरेर हुर्काउनु पर्छ भनिएको हो ।

अब जङ्गल बचाउने महाअभियानमा रुखहरूको महत्वबारे जागरण ल्याउनुपर्छ । एक जीव, एक मानव वा जनावरको एक प्रजातिको रक्षा तब मात्र सम्भव हुन्छ जब वन सुरक्षित हुन्छ ।

जीव रक्षाबारे सोच्नु राम्रो हो, एक मानवलाई बचाउनु सुन्दर कार्य हो, एक रुख बचाउनु अझै परमार्थी कार्य हो । त्यो भन्दा धेरै प्राकृतिक सन्तुलनको लागि जीवको एक प्रजातिको रक्षा गर्नु, सिङ्गो वन तथा जल क्षेत्रको रक्षा र प्रकृतिको सम्मान सृष्टिको दीर्घ जीवनसँग जोडिएर आउँछ । सम्पूर्ण जीव–जगतलाई धारण गरेको धर्तीको प्राणी तथा पर्यावरण जीवनसंग अन्योनाश्रित सम्बन्ध रहेको हुन्छ । एकले अर्काको बाँच्ने आधार तय गरेको हुन्छ । त्यसैले पृथ्वीको चक्रीय प्रणाली बचाउनको लागि गरिने कार्य अन्य कर्मभन्दा महत्वपूर्ण हुन्छ । प्रकृतिप्रदत्त सृष्टिको सुन्दर कलालाई बिग्रन नदिन, धर्तिमा अझै लामो समयसम्म जैविक अस्तित्वलाई सुचारु रुपमा निरन्तरता दिनेबारेमा सोच्ने भनेको विवेकशील प्राणी मानिसले नै हो ।

जल प्रदुषण

प्राणवायु अक्सिजन र इकोसिस्टमको लागि वन जङ्गल जस्तै समुन्द्रको पनि अथाह योगदान रहेको हुन्छ । तर धर्तीमा ५० देखि ८५ प्रतिशतसम्म अक्सिजन उत्पादन गर्ने महासागर, सागर र नदिहरू अहिले घातक रूपले प्रदुषित भइरहेका छन् । भइरहेको प्रदुषणमा सबैभन्दा घातक प्रदुषण प्लास्टिकजन्य प्रदुषण हो । सामुन्द्रिक प्रदुषणलाई न्यूनीकरण गर्न विभिन्न देशका वातावरणविदहरूले ब्यापक अध्ययन–अनुसन्धान शुरु गरेका छन् । त्यसै क्रममा गरिएको एक अध्ययनले समुद्रमा रहेको प्लास्टिकजन्य फोहोरको मात्रा आगामी एक दशकमा तेब्बरले बढ्ने देखाएको छ । बेलायती सरकारका लागि तयार पारिएको समुद्रको भविष्यसम्बन्धी प्रतिवेदनमा प्लास्टिकजन्य फोहोरका साथै सामुद्रिक सतहमा आएको वृद्धि, तापक्रममा वृद्धि र अन्य प्रदुषण मुख्य चुनौतीका रूपमा रहेको जनाइएको छ । सम्पूर्ण महासागरमा ५२५ खर्बभन्दा बढी प्लास्टिकका टुक्राहरू छन् भनेर अनुमान गरिएको छ, जसले समुन्द्रलाई विशाल ‘प्लास्टिक सुप’मा परिणत गर्दै लगेको सेटलाइट तस्बिरहरू मार्फत देखिएको छ ।

यो प्रदुषणले समुन्द्रभित्र बाँच्ने सुक्ष्म बिरुवा, लेउ र ब्याक्टोरियासम्म सुर्यको प्रकाश पुग्ने प्रक्रियालाई गम्भीर ढंगले अवरुद्ध पार्छ । सबै बोटबिरुवाहरू जस्तै तिनीहरूले पनि खाना बनाउँदा प्रकाश संश्लेषण गर्दछन् । एउटा जीवविज्ञानको विद्यार्थीलाई थाहा हुने कुरा हो कि ती प्लांक्टनहरूले खाना बनाउन सूर्यको किरण र कार्बनडाइअक्साइड प्रयोग गर्दछन् । उनीहरूले खाना बनाउँदा प्रयोग गरिने प्रकाश संश्लेषणको एक उप–उत्पादन प्राण वायु अक्सिजन ग्याँस हो । वैज्ञानिकहरू विश्वास गर्छन् कि फाइटोप्लांक्टनले पृथ्वीको वायुमण्डलमा ५० देखि ८५ प्रतिशत अक्सिजनको उत्पादन गर्छन् ।

सामरिक होड र अस्त्र निर्माण

मानिसले आफूलाई मात्र नभएर धर्तीका सम्पूर्ण निरपराध चराचरलाई सिध्याउने आणविक अस्त्रसमेत निर्माण गरेर अर्को पागलपन देखाइसकेको छ । अहिले मानिसले विद्युत र हतियार आपूर्तिको लागि ४५० न्युक्लियर स्टेशन बनाएका छन् । शक्तिराष्ट्रहरूले १३,८८५ भन्दा बढी आणविक बम यही धर्तीको गर्भमा भण्डारण गरेका छन् । जसमध्ये ९० प्रतिशत भन्दा बढी अमेरिका र रसियाका छन् । तिनै हतियारहरू मानवीय गल्ती, उत्तेजना वा असावधानीको कारण बिष्फोट भए भने मानव सभ्यता सङ्कटमा पर्ने कुरा निश्चित छ । त्यसैले पनि हामीले युद्धविरोधि अभियानलाई संसारभरी सचेततापूर्वक सञ्चालन गर्नु पर्छ । त्यसमा मानव चेतनाले महत्वपुर्ण भूमिका खेलेको हुन्छ । शक्ति राष्ट्रहरू किन युद्ध चाहन्छन् त्यसका अनुचित र मानवता बिरोधि कारणहरूको भण्डाफोर गर्न जरुरी छ । धेरैजसो शक्ति राष्ट्रको युद्ध नाफाको लागि गरिने तथ्यहरूले देखाउँछ । जसबाट उनीहरूले कमजोर राष्ट्रको प्राकृतिक स्रोत साधन लुट्नुको साथै हतियारको ब्यापारबाट नाफा कमाउँछन् । व्यापारीको हातमा सक्ति र सत्ता रहुन्जेल युद्धको अन्त्य सम्भव छैन ।

पृथ्वीमा रहेका मानव प्रजातिलाई बचाउन के गर्नु पर्ला ?

त्यसको एउटै उत्तर हो– संसारका सम्पूर्ण उत्पादन, वितरण र उपभोग प्रणालीलाई प्रकृति मैत्री बनाउने । त्यसको लागि संसारको स्वार्थी र व्यक्तिवादी राजनैतिक प्रणाली फेरिनु पर्छ । मानव प्रजातिको दीर्घ जीवन र सृष्टिको हितको लागि ब्याक्तिगत नाफा पछाडी र सामुहिक हितको चेतना र विवेक अगाडि आउनुपर्छ । विवेकशील समुदायले सामुहिक हितको चिन्तन गर्ने, प्रकृतिमैत्री र सामुहिक हितको प्रतिनिधित्व गर्ने राजनैतिक प्रणालीको माग गर्दछ । विवेक नै त्यस्तो मनोभाव हो जसले भविष्यको तस्बिर मानिसको अगाडि ल्याइदिन्छ । विवेकले प्रकृतिका स्वचालित नियमहरूलाई सम्मान गर्दै हामीलाई जात धर्म वर्ग भन्दा माथि मानवतासम्म पुऱ्याउँछ । विवेकले नै म, मेरो हित, मेरो स्वास्थ्य, मेरो घर हुँदै क्रमश: परिवारको चिन्ता, त्यो भन्दा पनि माथि समुदाय, देश र धर्तीका सम्पूर्ण मानवको बारेमा सोच्ने बनाइदिन्छ । अर्थात् हामीलाई मानवताको नजिक पुर्‍याइदिन्छ ।

चेतनाको पराकाष्टामा हामी प्राकृतिक स्वतन्त्रता, जीव जगतको बाँच्ने अधिकार र सम्पूर्ण सृष्टिलाई सम्मान गर्ने बिन्दुमा आइपुग्छौँ । सबै विभेदहरूको अन्त्य भएको बिन्दुबाट नै समुदाय र सृष्टिप्रति समर्पित समभावको सुरुवात हुने हो । चेतनाको विशालतालाई विशेष परिस्थितिमा विवेकले मात्र नाप्न सकिन्छ ।

अरुले जेसुकै भनुन्, आफ्नोबारेमा, आफ्नो स्वास्थ्यको बारेमा, आफ्नो हितको बारेमा मात्रै सोच्नु पनि आफैंमा नराम्रो हैन, परिवार, छिमेकी, एउटै जाति वा समुदायको बारेमा सोच्नु राम्रो हुँदै हो । त्यस्तै कसैले देश वा पृथ्वीका सम्पूर्ण मानवहरूको हितमा चिन्तन गर्नु, उनीहरूको समान प्राकृतिक अधिकारको बारेमा आवाज उठाउनु र आफूलाई झैँ सम्पूर्ण जीव जगतलाई समान महत्व दिनु कति हो कति सुन्दर चिन्तन तथा कर्म हो । चेतनाको तन्काइले सोच्ने क्षेत्रलाई क्रमश: बढाउछ र विवेकलाई फराकिलो बनाउँछ । विवेकको द्वार खुलेपछि मात्र मानवचेतनाले धर्तीमा मानव प्रजातिमात्र एक्लै अस्तित्वमा रहन सम्भव छैन भन्ने कुरा बुझ्ने छ । अन्तत: उसमा जीव जगतको सुरक्षा चिन्ता जागृत हुने छ ।

चेतनाको तरङ्गले मानव प्रजातिलाई दीर्घजीवन प्रदान गर्ने प्राकृतिक चक्रिय प्रणालीको महत्वलाई बुझाउन मद्धत गर्छ । बर्तमान अवस्थामा कुन कुराहरू प्राकृतिक वातावरण बचाउन आवस्यक छन् त्यसतर्फ मानिसहरूको ध्यान जान आवश्यक मात्र हैन अनिबार्य छ । आधुनिक मानव चेतनाले बुझ्न आवश्यक छ कि, धर्तीका जल, जङ्गल, आकासको पर्यावरण विनासलाई नरोकेसम्म सृष्टि सुरक्षित हुँदैन । मतलब सृष्टि सुरक्षित नभएसम्म पृथ्वीको विवेकशील मानव प्रजाति पनि सुरक्षित हुँदैन ।

प्रकृति जीवनको भूत, वर्तमान र भविष्य समेत हो । त्यसैले प्रकृतिको नियमलाई बुझ्ने बुझाउने नेतृत्वको पृथ्वीलाई अहिले खाँचो परिरहेको छ । अज्ञानताको अँध्यारो ज्ञान र चेतनाको चिरागले मात्र मेट्न सक्छ । अनि मात्र मानव समुदायले प्रकृतिसंगको आफ्नो अन्तरविरोध र अन्तरसम्बन्ध बुझ्न सक्छ । मानिसमा ज्ञानको वृद्धिसँगै जिज्ञासा र अज्ञानताको क्षेत्र पनि बढ्दै जान्छ । आँफुसंग परिवार, परिवारसंग समुदाय अनि देश र पृथ्वी जोडिए झैँ ज्ञानको विकासले जिज्ञासालाई बढाउँछ, नयाँ समस्या पैदा हुन्छन्, समाधान खोज्दै जान्छ र मान्छे विवेक र सम्वेदनाको पराकाष्टासम्म पुग्दछन् ।

हामी अरुलाई परेको पीडा देख्दा आत्तिन्छौँ । कसैको मृत्युको कल्पनाले मात्रै पनि हाम्रो होसहवास उड्छ । अझ आफन्तको वियोग सहन नसकेर कतिले आत्महत्या गरेको समेत सुनिने, देखिने गरेको छ । यी सबैको निचोड हो– हामी आफन्तका बीच अगाध स्नेहको जेलोले बाँच्न सकेका छौँ । समुदायको आड–भरोसाले हामीलाई सुरक्षाको अनुभूति दिएको छ । परिवारसँगको सहकार्यबाट प्राप्त आधारमा हामी रमाउन र जिउन सिकेका छौँ । त्यसैले हामीलाई हाम्रो प्राणपछि, परिवार, समाज र सम्पूर्ण मानव समुदायको भरोसा छ । यी सबै सम्बन्धहरू हाम्रालागि अत्यन्त प्रिय छन् । तर हाम्रो परिवार, समाज र सिङ्गो मानव समुदायलाई दीर्घकालसम्म बचाईराख्न प्रेम र सद्भाव मात्र पर्याप्त छ त ? या यो भन्दा पनि महत्वपुर्ण यो सृष्टिलाई सुचारु र सन्तुलित गर्ने कुनै रहस्य छ ? यो नै चुनौतीपूर्ण वर्तमान समयले मानव प्रजातिसँग सोधेको गम्भीर प्रश्न हो । यही महत्वपुर्ण प्रश्नले नै हामीलाई पर्यावरण, प्रकृति र सृष्टिबारे सोच्न बाध्य पार्छ ।

प्रेमले संसारलाई सम्मान गर्दै सजातीय प्रति सम्मान दिन्छ । यो सम्बन्धको कुरा भयो । तर जीव–जगतको अस्तित्वको रक्षा गर्ने मुख्य कुरा भनेको प्राकृतिक अनुकुलता हो । त्यसमा वातावरण, पानी, स्थल र ताप, हावा हुन् । यो कुरा पृथ्वीमा अर्बौ वर्षको रासायनिक प्रक्रियाबाट निर्माण भएको हुन्छ । त्यसलाई नियमन गर्ने प्राकृतिक इन्जिन इको सिष्टम हो ।

अर्को शब्दमा भन्दा इकोसिस्टम भनेको जीवित जीवहरूको एक महान समुदाय हो जुन उनीहरूको वातावरणमा निर्जीव अवयवहरूसँग मिलेर एक प्रणालीको रूपमा अन्तरक्रिया गर्दछ । यी सजीव (बायोटिक) र निर्जीव (एबियोटिक) भागहरू पौष्टिक चक्र र ऊर्जा प्रवाहहरूको माध्यमबाट एकसाथ जोडिएका हुन्छन् । यो प्राणीहरूको बीच, जल र जमिनको बीच, आकाश, जल तथा जमिनको बीच, जङ्गल र जीवबीच, जलचर र स्थलचरबीच र सुर्य, उपग्रह र पृथ्वीको दूरी तथा अन्तरक्रियाबीच सम्बन्धित हुन्छ । यसको सम्बन्धको जेलो तथा प्राकृतिक सन्तुलन बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्छ । यसका मानवसिर्जत केही असरहरूलाई तल राखिएको छ ।

जैविक विलुप्तताको असर

बढ्दै गरेको मानव जनसङ्ख्याले पृथ्वीको चक्रीय प्रणाली (ecosystem) लाई चुनौती दिँदै आएको छ । यसको परिणामस्वरूप समय क्रममा जीव–जगतका अन्य प्रजातिहरूको व्यापक र निरन्तर लोप हुँदै गएको पाइन्छ, जसलाई वैज्ञानिकहरूले जैविक विलुप्तता (Holocene extinction) को नामले चिनाउँछन् । मानिसलाई थाहा छ, यो पृथ्वीमा रहेका सबै प्राकृतिक सम्पदाको आफू मात्र हिस्सेदार होइन । उसलाई यो पनि थाहा छ कि पृथ्वीको चक्रीय प्रणाली (ecosystem) भत्कियो भने त्यसले निम्त्याउने दुष्परिणामलाई उसले रोक्न सक्दैन । तर पनि मानिसले केवल शक्ति, बुद्धि र प्रविधिको भरमा प्रकृतिमाथि नियन्त्रण गर्न तम्सेको छ । संसारमा भएका जलचर, उभयचर र थलचर जीवहरूको प्राकृतिक अधिकारलाई चुनौती दिँदा मानव जातिले पनि कुनै दिन डायनासोरहरूको जस्तो अवस्था भोग्न नपर्ला भन्न सकिँदैन । त्यसैले पनि मानिसले प्रकृतिप्रदत्त आफ्नो हिस्सा मात्र दाबी गर्नु जायज हो । सृष्टिका अरु जीवात्माको बास खोस्नु, उनीहरूलाई प्राकृतिक रूपमा प्राप्त गाँस, बास र जीवनशैलीलाई मजाक सम्झनु गलत हुने छ ।

धर्तीबाट मेसोजोइक समय वा ‘मिडिल लाइफ’ युगको बेला, जीवनले वेग र विविधताका साथ उत्पत्ति भएका विशाल छेपाराहरू, डायनासोरहरू र अन्य राक्षसी जनावरहरूले आफ्नो साम्राज्यलाई गुमाउन क्षणभर पनि लागेन । उनीहरूले आफ्नो समयमा अन्य कुनै जीवको अस्तित्वलाई चुनौती दिन्थे । तर समयक्रममा प्रकृतिले डायनोसारको सबै प्रजातिलाई समाप्त गरिदियो । त्यो अवधि करिव २२२ मिलियन वर्षअघिदेखि करिव ६६ मिलियन वर्षपहिलेसम्म रहेको मानिन्छ । त्यो मानव सृजित नभएर पृथ्वीको दैविक दुर्घटना थियो ।

शीतयुद्ध कालपछि आधुनिक मानिसले पृथ्वी ध्वस्त पार्ने आणविक अस्त्र बनाएको हो । ती हतियारहरू सृष्टिको लागि खतरापूर्ण छन् । त्यस्तै अर्कोतर्फ औद्योगिकरणले निम्त्याएको वातावरणीय प्रदुषणले विकराल सङ्कटहरू निम्त्याउँदै गैरहेको छ । हामीद्वारा सृजित वातावरण प्रदुषणले पृथ्वीको तापक्रम २.५ डिग्री बढिसकेको छ । त्यसले निम्त्याउने प्राकृतिक दुर्घटना पनि हाम्रो सन्निकट छैन भनेर भन्न सकिन्न, किनकि गोलार्धका हिमपहाडहरू पग्लेर समुन्द्रको उचाई दिन–प्रतिदिन बढिरहेको छ । जीवको बासस्थान बन जङ्गल सकिदै गएको छ र दुर्लभ जनावरको चोरी सिकारी बढ्दो छ । विभिन्न कारणले मानिसले पनि प्रकृतिका सबै चराचर जीवका बाँच्न पाउने जैविक अधिकारहरूलाई समाप्त पार्दै लागेको छ । यसले प्रकृतिको इकोसिस्टमलाई असन्तुलित बनाउँदै लागेको छ । जसको कारण मानव सभ्यतालाई चुनौती दिने महामारीहरू आइरहेका छन् । ती सबै जनावरको लोप हुने अवस्थामा जनावरबाट मानिसमा आएको मानिन्छ ।

चक्रीय सङ्कट

पृथ्वीको अहिलेको अवस्था प्राणी–जगतको चक्रीय प्रणाली तहसनहस हुनुुपूर्वको अवस्था हो । प्रकृतिको यो महाहानीलाई हामीले जैविक चक्रीय सङ्कट भनेर बुझ्दछौँ । सन् २००७ सम्ममा हामीले संसारमा भएका प्राणीमध्ये करिव प्रजातिको १० प्रतिशत नष्ट गरिसकेका छौँ । धेरै प्राकृतिक स्वभाव थाहा नभएका जीवजन्तु पाल्न घरमा ल्याएका छौँ । अमेरिकामा मात्रै सत्तरी लाख सुगा त्योभन्दा बढी कुकुर, बिराला, मुसा, बाँदर र अन्य जनावरहरू घरमा पालिएको छ । जसमा कुन रोगका जीवाणुहरूको प्रतिरोधी गुण हुन्छ कसैले अनुमान गर्न सक्दैन । तर रहरकै भरमा मानिसले ति जनावर पाल्दछन् र उनीहरूमा भएका रोग ग्रहण गर्दछन् ।

वर्तमान दरमा नै प्राणीका बासस्थान कब्जा गर्दै र जल, स्थल र आकाश प्रदुषित गर्दै गयौँ भने करिव ३० प्रतिशत प्रजातिहरू अबको सय वर्षमा विलुप्त भइसक्ने छन् । प्राणी–प्रजातिहरूको वंशीय विलोपीकरणको मुख्य जिम्मेदार हामी हौँ । किनकि जल र स्थलमा रहेका जीव–जिवात्माका निवासस्थान हामीले विनाश गर्दै गएका छौँ, दुर्लभ जनावरका प्रजातिहरूको व्यापक रूपमा तस्करी गरेका छौँ, शिकार गरेका छौँ र वातावरण प्रदुषणमार्फत् भएको जलवायु परिवर्तनको परिणामले धेरैथरिका जीव प्रजातिहरूको लोप हुने अवस्था आएको छ । जसको जिम्मेवार केवल हामी हौँ । यो धर्तीमा मानव अन्य प्रजातिमध्ये एक हो र उसको अधिकार अन्य प्रजातिसरह मात्र हो भन्ने कुरा मानवले बिर्संदै गएको देखिन्छ ।

वातावरणविद्हरूको एक अन्वेषणले बताउँछ कि औद्योगिक क्रान्ति सुरु भएदेखि वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा ३० प्रतिशतसम्म बढेको छ । त्यो स्वयम् मानव–स्वास्थ्यका लागि कति घातक छ भन्नु नपर्ला । धर्तीको स्वास्थ्य बिग्रँदै गएकोले त्यसले अन्य जीवसहित मानव–स्वास्थ्यमा पनि खतरनाक प्रभाव पार्न थाल्छ । प्राणी जगतको चक्रीय प्रणाली बिग्रनाले फैलिने रोग र जीव जगतमा आउने खतराले समेत बेलाबेलामा मानव सभ्यतालाई चुनौती दिँदै आएको छ । चक्रीय प्रणाली असन्तुलित हुँदा जनावरमा हुने परजीवीहरू मानवमा सङ्क्रमण हुने खतरा अत्याधिक हुन्छ । त्यसैले मानव द्वारा आफूबाट सिर्जित खतरा न्यूनीकरण गर्दा पृथ्वीमा जीव जगतको आयु बढाउन सक्छ । अतः आफूसहित जीव–जगतको सुरक्षाका लागि मानिसले बेलैमा सोच्नु अपरिहार्य भइसकेको छ ।