नेता र देश एकसाथ जोगिएलान् कसरी ?

नेता र देश एकसाथ जोगिएलान् कसरी ?


■ देवप्रकाश त्रिपाठी

सत्तामा वीरशमशेरको आगमनलगत्तै ब्रिटिष भारतीय सरकार र नेपालबीचको सम्बन्धमा तनाव पैदा भयो । त्यसबेला नेपालका लागि भारतका तत्कालिक आवासीय राजदूत गर्ल्डस्टोनको रणोदीप सिंहसँग निकै राम्रो मित्रता थियो । रणोदीपको हत्या गरेर सत्तामा आएका वीरशमशेरलाई उनी मन पराउँदैनथे, त्यसैले गर्ल्डस्टोन वीरशमशेरको सरकारलाई मान्यता दिनुभन्दा नेपाललाई भारतमा मिलाउनु उचित ठान्थे । त्यसनिम्ति उनले आफ्नो सरकारलाई अनेकौँ पटक पत्राचार पनि गरेका हुन् । गर्ल्डस्टोनको कुराबाट प्रभावित भएर हो या अरु कुनै कारणबाट तत्कालिक भायसराय लर्ड डफरिन वीरशमशेरको विरोधी भएका र, उनीसमेत नेपाललाई भारतमा गाभ्ने मानसिकतामा थिए । ब्रिटिष भारत सरकारका तत्कालिक विदेश सचिव एचएम डुराण्ड र प्रधानसेनापतिको जिम्मेवारीमा रहेका लर्ड रबर्टले सहमति जनाएका भए करिव एक सय पैंतिस वर्षअगाडि नै नेपाललाई भारतमा गाभ्ने प्रयास हुन्थ्यो या दुई मुलुकबीच भीषण सङ्घर्ष हुने निश्चित थियो । ब्रिटिष भारतीय सरकारको नियत बुझेर वीरशमशेरले कुटनीतिक कौशल प्रयोग गरी आफ्नो सरकारलाई मान्यता दिलाउने र विपरीत मतिका ब्रिटिष भारतीय राजदूत गर्ल्डस्टोनलाई फिर्ता गराउने सफलता पाएका हुन् । त्यतिबेला सत्ताका निम्ति हिंसात्मक क्रियाकलाप गरिएमा नसहने र नेपाललाई भारतमा मिलाइने चेतावनी ब्रिटिष भारतीय शासकले राणाहरूलाई दिएका थिए । देव शमशेरलाई षडयन्त्रमूलक ढङ्गबाट पदमुक्त गरी चन्द्रशमशेरले शासनाभार लिएपछि पनि ब्रिटिष भारतीय सरकारले नेपाललाई भारतमा गाभ्ने कुराको स्मरण गराउँदै ‘हिंसा नभएकोले मात्र’ चन्द्रशमशेरको सरकारलाई समर्थन दिइएको ब्यहोरा तत्कालिक लर्ड कर्जनद्वारा चन्द्रशमशेरलाई लेखिएको पत्रमा उल्लेख गरिएको छ ।

सत्ताका निम्ति हिंसात्मक घटना दोहोरिएमा देशको अस्तित्व नै नामेट हुन सक्ने भएपछि राणाहरू अत्यन्त सचेत भएका र उनीहरूले थापाथलीस्थित आफूहरूको पञ्चायन स्थलमा भेला भइ तरबार जुधाएर देवी–देवताका नाममा कसम खाँदै कहिल्यै आपसमा हिंसा र षडयन्त्र नगर्ने अठोट गरेका थिए । सत्ताका निम्ति हुने आपसी टक्कर, तनाव, जालझेल, षडयन्त्र र हिंसाको अन्त्य गर्न राणाहरूले यसरी कसम खानुको कारण ब्रिटिष भारतीय शासकको ‘चेतावनी’ थियो भने त्यसको उद्देश्यचाहिँ ‘देश बचाउनु’ ।

देशको अस्तित्व नै सङ्कटमा पर्ने देखिएपछि राणाहरू एकजुट भएका थिए, तर नेपालका राजनीतिक दलहरू सबैजसो विदेशी विचार, दर्शन, सिद्धान्त र सिद्धान्तकारबाट निर्देशित भएर हुन् या धनकेन्द्रित सोच व्यवहार भएर हो या भौतिकवादमा केन्द्रीत राजनीतिको दबदबा भएर हो– देशका निम्ति दल र दलका नेताहरू ‘एक’ हुने छाँट देखिएन । नेपालमा क्रियाशील नेताहरूलाई देवस्थल पुर्‍याएर कसम खुवाउँ भने यी देवता मान्दैनन्, गीता या वेदमा हात राखेर धर्म भकाउँ भने यिनले धर्म मान्दैनन्, देश सङ्कटमा परेको हज्जारपटक सम्झाउँदा पनि भएको छैन, आफ्नो सङ्कटभन्दा ठूलो देशको सङ्कट हुन्छ भन्ने ठान्दै ठान्दैनन् ! एउटा सकसपूर्ण अवस्थामा देश पुगेको छ ।

नेपालमा क्रियाशील नेताहरूलाई देवस्थल पुर्‍याएर कसम खुवाउँ भने यी देवता मान्दैनन्, गीता या वेदमा हात राखेर धर्म भकाउँ भने यिनले धर्म मान्दैनन्, देश सङ्कटमा परेको हज्जारपटक सम्झाउँदा पनि भएको छैन, आफ्नो सङ्कटभन्दा ठूलो देशको सङ्कट हुन्छ भन्ने ठान्दै ठान्दैनन् ! एउटा सकसपूर्ण अवस्थामा देश पुगेको छ ।

राजनीतिकर्मीहरू खालिखुट्टा आफ्नो यात्रा शुरु गर्छन् र गन्तव्यमा पुगेपछि सुनका जुत्ता लगाएर फर्किन्छन् । कुँवर राणाहरू गरिब थिए, सत्ताको मालिक बनेपछि हरेकको आलिसान दरबार बने । शेरबहादुर देउवाहरू एक छाकका निम्ति अर्काको मुख ताक्नुपर्ने अवस्थामा थिए, अहिले अर्बौं बराबरको सम्पत्तिको अधिपति भएका छन् । कम्युनिष्टहरू भूमिगत थिए, पुराना चप्पल फाटेका कमिज र भोको पेटमा गौरव महसूस गर्थे, अहिले अधिकाङ्श कम्युनिष्टका महल राजधानीमा ठडिएका छन् । सर्वहाराको राज्य बनाउने भन्दै मानिसको गर्धन र बैंकको सेफ ताक्ने ‘सङ्घर्ष’मा सामेल भएकाहरूको जीवनशैली अरबी मुलुकका राजा-महाराजाको झैँ विलासी देखिन्छ । तीस वर्षअघिका अधिकाङ्स उद्यमी-व्यवसायीले आफ्नो हैसियतको सुरक्षा गर्न सकेनन्, उद्यम गरिखान खोज्नेहरू क्रमशः विपन्न हुँदै गए तर जो विपन्न थिए र बिनालगानीको राजनीतिक व्यवसायमा सामेल भएका थिए, तिनको जीवनमा कायापलट भएको छ । कुनै समय सिंहदरबारसम्म पुग्नेहरू या सिंहदरबारको कृपा पाउनेहरूले मात्र जीवन बदल्ने मौका पाउँथे । अहिले ‘गफ व्यवसाय’मा लागेर वडा सदस्यको हैसियत भेट्टाउने व्यक्तिसमेत अदृष्य आम्दानीका हकदार बनेका छन् । देशको वर्तमान पढ्दा लाग्छ– सिङ्गै मुलु्क लुटेराहरूको कब्जामा छ ।

जब एउटा गरिब व्यक्ति बिनालगानी राजनीतिमा प्रवेश गर्छ र धनाढ्य व्यक्तिमा रुपान्तरित भएर समाजमा देखापर्छ भने को मानिस राजनीतिक व्यवसायमा नलागेर उद्यम व्यवसायमा सामेल हुन खोज्छ ? न्याय, सुरक्षा र अवसर जति आलोपालो दलका नेता र कार्यकर्तालाई मात्र मिल्ने भएपछि उद्यमी बन्न को अग्रसर हुन्छ ? एउटा व्यवसायी कर्मचारीबाट पाइला-पाइलामा सताइन्छन्, तर तिनै कर्मचारी राजनीतिजीवीहरूसमक्ष सेवक भूमिकामा देखापर्छन् भने आममानिस राजनीतिमा नलागेर व्यवसायमा किन लाग्छन् ? एउटा व्यवसायी राज्यलाई कर बुझाउन जाँदा कर्मचारीबाट थप लुटिएका र सताइएका हुन्छन्, तर राजनीतिजीवीहरू कर तिर्ने झञ्झटबाट मुक्त हुन्छन्, बरु जनताले तिरेको करमै तिनले आफ्नो जीविका चलाउँछन् । कर बुझाउन भन्दा करमा जीवन चलाउन सहज हुने भएपछि कुनै नागरिक राजनीतिमा नलागेर किन व्यवसायमा लाग्छन् ? एउटा उद्यमी कुनै गाउँ–ठाउँमा कुनै परियोजना लिएर पुगे भने स्थानीय वासिन्दा लौरो र झोला लिएर व्यवसायीलाई घेर्न पुग्छन्, यिनैबाट व्यवसायी लुटिन्छन् र अपमानित हुन्छन् । तर, त्यही ठाउँमा एउटा राजनीतिजीवीको आगमन हुँदा तिनलाई फूलमालाको स्वागत हुन्छ, जय-जयकार गरिन्छ र प्रशस्ति गाएर बिदा गरिन्छ । अनि कोही किन राजनीतिजीवी नबनेर उद्यमी-व्यवसायी बन्छन् ? नेपाली राजनीतिक इतिहासमा भीमसेन थापादेखि यता कृष्णप्रसाद भट्टराई र सिद्धराज ओझाबाहेक ‘जस्तो पसेको त्यस्तै निस्किएको’ दृष्टान्त बन्न अरु कसले सकेका छन् ? हो, राजनीतिमा सामेल भएको अल्पकालमा जीवन परिवर्तन हुने भएकोले आममानिसको आकर्षण राजनीतिक व्यवसायमा भएको छ । कोही कम्युनिष्ट बनेका छन्, कोही काङ्ग्रेस त कोही जातिवाद र क्षेत्रियतावादका नाममा ‘पसल’ चलाउँदैछन् । जसले जुन नामको ‘पसल’ सञ्चालनमा ल्याएका भए पनि ती सबैले कमाइ र मोजमस्तिमा उद्यमी–ब्यवसायीलाई भेट्नै नसकिने गरी उछिनेका छन् ।

राजनीति कमाइको सबैभन्दा सुरक्षित र सहज साधन बनेको छ, त्यसैले मानिसहरू राजनीतिमा आकर्षित भएका छन् । सत्तालाई केन्द्रबिन्दुमा राखेर राजनीतिजीवीहरू प्रतिष्पर्धामा उत्रनुको मूख्य कारण पनि शीघ्र आर्जन नै भएको बुझिन्छ ।

राजनीतिकर्मीहरू खालिखुट्टा आफ्नो यात्रा शुरु गर्छन् र गन्तव्यमा पुगेपछि सुनका जुत्ता लगाएर फर्किन्छन् । कुँवर राणाहरू गरिब थिए, सत्ताको मालिक बनेपछि हरेकको आलिसान दरबार बने । शेरबहादुर देउवाहरू एक छाकका निम्ति अर्काको मुख ताक्नुपर्ने अवस्थामा थिए, अहिले अर्बौं बराबरको सम्पत्तिको अधिपति भएका छन् । कम्युनिष्टहरू भूमिगत थिए, पुराना चप्पल फाटेका कमिज र भोको पेटमा गौरव महसूस गर्थे, अहिले अधिकाङ्श कम्युनिष्टका महल राजधानीमा ठडिएका छन् ।

काङ्ग्रेसको नाममा राजनीतिक व्यवसाय गर्नेहरू ‘सहभोजन’मा विश्वास गर्दैनन्, अहिलेसम्मको अभ्यासले यस्तै देखाएको छ । गिरिजाप्रसाद सत्तामा पुगे, उनले परिवार, आफन्त र नातेदारहरूलाई सम्पन्नता दिए । शेरबहादुर देउवाहरू पनि आफैं सम्पन्न बन्ने यात्रामा निरन्तर क्रियाशील छन् । तर कम्युनिष्टहरूमा ‘सहभोजन’को भद्भूत संस्कृति मौलाएको देखिन्छ । एउटा या दुई वटा नेता सम्पन्न भएर बाँकी सबैले विपन्नताको जीवन बाँच्नुपर्ने अवस्थामा कम्युनिष्टहरू छैनन् । उनीहरू भ्रष्टाचार पनि मिलेर गर्छन् र कमाइ वितरण गर्छन्, सामूहिक भ्रष्टाचारमा संलग्न मानिस लोक–लज्जाको पनि हेक्का राख्दैनन् । गैरकम्युनिष्टका विचारमा राज्य एउटा लोककल्याणकारी संस्था हो र सबै नागरिकमा समान व्यवहार गर्छ । तर कम्युनिष्टको सैद्धान्तिक मान्यता बेग्लै छ, उनीहरू राज्यलाई केवल शोषणको साधन मान्छन् । पहिले अर्को वर्गले लुटेको थियो, अब हामीले राज्यसत्तालाई साधन बनाएर लुट्नुपर्छ भन्ने वैचारिक मान्यता कम्युनिष्टहरूमा हुने गर्छ । कम्युनिष्ट भएर पनि राज्यलाई शोषणको साधन कसैले मानेको छैन भने या त उसले कम्युनिष्ट विचार–दर्शन बुझेको छैन या त्यस्ता व्यक्ति अपवाद हुन् ।

कम्युनिष्टहरू सिद्धान्ततः देशको अवधारणा र राज्यसत्ताको विरोधी हुन् । राज्यहरूको विघटन गराएर मात्र साम्यवाद प्राप्त हुन सक्छ भन्ने विचार दर्शनमा उनीहरू उभिएका हुन्छन् । तर आफ्नो ज्यानभन्दा महत्वपूर्ण राज्यसत्ता हुन्छ भन्दै सत्ताका निम्ति मर्न-मार्न पनि यिनैले सिकाएका हुन्छन् । जसरी भए पनि सत्ता प्राप्त गर्ने र पाएको सत्ता कुनै पनि अवस्थामा नछोड्ने अभ्यास संसारभरिका कम्युनिष्टबाट हुँदै आएको छ । माधवकुमार नेपाल या केपी शर्मा ओली यसको अपवाद हुन् भने पनि प्रचण्डलाई अपवाद मान्न सकिँदैन । पार्टीभित्र उत्पन्न अन्तरविरोध र तनावका बीच श्रावण ५ गते (२०७७) आफ्नो निवासस्थान (ललितपुरको खुमलटारनजिकै) मा आयोजित ‘माओवादी’ पक्षका नेताहरूको बैठकले घोषणा गऱ्यो- ‘पार्टीको एकल अध्यक्ष बन्न प्रचण्डले ‘जनताको बहुदलीय जनवाद’लाई मार्गदर्शनका रूपमा स्विकार गर्नुपर्छ भन्ने केपी शर्मा ओलीको प्रस्ताव मान्य हुन सक्दैन । किनभने जनताको बहुदलीय जनवादलाई आत्मसात गर्नु भनेको पछाडि फर्कनु हो, अबको कार्यदिशा ‘जनताको जनवाद’ नै हुनुपर्छ ।’ यसबाट सिधा बुझिने यथार्थ के हो भने केपी ओली अहिले पनि बहुदलीयताका पक्षमा छन्, तर प्रचण्डहरू बहुदलीय पद्धतिबाट छलाङ मारेर एकदलीय पद्धति स्थापना गर्न र त्यसैलाई निरन्तरता दिन चाहन्छन् । त्यसैले कम्युनिष्ट पार्टीभित्र उत्पन्न अन्तरसङ्घर्षलाई गणेशमान सिंह र गिरिजाप्रसाद कोइराला, या कोइराला र शेरबहादुर देउवाबीचको विवादलाई झैँ सामान्य अर्थमा बुझ्नु हुँदैन । न धन आर्जनका निम्ति भएको प्रतिष्पर्धाका रूपमा मात्र यो सन्दर्भलाई बुझ्नु उचित हुन्छ ।

एउटा उद्यमी कुनै गाउँ–ठाउँमा कुनै परियोजना लिएर पुगे भने स्थानीय वासिन्दा लौरो र झोला लिएर व्यवसायीलाई घेर्न पुग्छन्, यिनैबाट व्यवसायी लुटिन्छन् र अपमानित हुन्छन् । तर, त्यही ठाउँमा एउटा राजनीतिजीवीको आगमन हुँदा तिनलाई फूलमालाको स्वागत हुन्छ, जय–जयकार गरिन्छ र प्रशस्ति गाएर बिदा गरिन्छ । अनि कोही किन राजनीतिजीवी नबनेर उद्यमी–व्यवसायी बन्छन् ?

राज्यलाई लोककल्याणकारी संस्थाका रूपमा स्विकार नगरी शोषणको साधनका रूपमा बुझ्ने, हरेक विषय, घटना र पात्रलाई आवश्यकताका आधारमा उपयोग-प्रयोग गर्न नहिच्किचाउने, लुकेर भैंसीको समेत पूजा गरे पनि खुलेर धर्म, संस्कृति र परम्पराको विरोध गर्ने, बुद्धिभन्दा भावनाप्रधान व्यवहार दर्शाउने, आवेगी स्वभाव बारम्बार प्रस्तुत गरिरहने, नकारात्मकतामा रमाउने र एकदलीय अधिनायकवादमा विश्वास गर्ने मानिसलाई यो समयमा खाँटि कम्युनिष्टका रूपमा बुझ्नुपर्ने हुन्छ । धन आर्जनप्रति वैचारिक रूपमै असहमति राख्ने, देखावटी तडकभडक, शानसौकत र सुविधासम्पन्न जीवनभन्दा सामान्य जीवनशैलीमा खुशी हुने र जनतामाझ जनताकै खुशीका निम्ति क्रियाशील रहने इमानदार मानिसलाई मात्र कम्युनिष्ट कसैले ठानेका छन् भने त्यो पुरातनवादी सोच हो । मोहनविक्रम सिंह र मोहन वैद्य ब्राण्डका कम्युनिष्ट अबको बजारमा चल्दैनन्, चलेका छैनन् । अहिले चलेको प्रचण्ड ब्राण्ड हो, जुन ब्राण्ड राष्ट्रियता, प्रजातन्त्र र जनताका समस्या समाधानमा भन्दा सत्ता र सत्ताको खेलमा मात्र रमाउने गर्दछ । यो ब्राण्डले पच्चिस वर्षदेखि निर्वाह गर्दै आएको भूमिकालाई एकपटक पुनरावलोकन गरियो भने यथार्थ तस्बिर हाम्रासामु देखापर्नेछ ।

कम्युनिष्ट पार्टीमा दुईपक्षीय विवाद मैत्रीपूर्ण र राजनीतिक चरित्रको मात्र हुने गर्दैन । स्टालिन र ट्राट्स्कीबीचको विवाद शत्रुतापूर्ण बन्यो, आफूसँग असहमति राख्ने करिव चौरानब्बे हजार नेता–कार्यकर्ताहरूको हत्या गराउने स्टालिनले नै प्रतिष्पर्धी ट्राट्स्कीलाई मारेका थिए । त्यस्तै माओ त्से तुङसँग विमति जनाउने लिन पियाओलाई माओले नै सिध्याएका हुन् र, आधुनिक चीनका निर्माता देङ सियाओ पिङले माओबाट कति सास्ति पाएका थिए भन्ने जानकारी उनकै छोरी देङ रोङको पुस्तकबाट पाउन सकिन्छ । माओले सांस्कृतिक क्रान्तिकालमा हत्या गरेका करिव पाँच करोड मानिसमध्ये आफ्नै पार्टीमा फरक विचार राख्नेहरू पनि लाखौँको सङ्ख्यामा भएको विश्वास गरिन्छ । बाह्रबुँदे सम्झौता हुनुअघि मोहन वैद्य र सिपी गजुरेलहरू अचानक भारतमा कसरी र किन पक्राउ परका थिए भन्ने रहस्योद्घाटन भएका दिन प्रचण्ड आफ्नो लक्ष्य पूरा गर्न केसम्म गर्न सक्छन् भन्ने तथ्य सबैका निम्ति खुल्नेछ । त्यसैले कम्युनिष्ट पार्टीभित्रको अन्तरद्वन्द्व केवल सत्ता र शक्तिका निम्ति हुन्छ र त्यस्तो अन्तरद्वन्द्व व्यक्तिको हत्यासम्म पुग्न सक्छ भन्ने तथ्यबोध हामी सबैमा हुनुपर्छ ।

बाह्रबुँदे सम्झौता हुनुअघि मोहन वैद्य र सिपी गजुरेलहरू अचानक भारतमा कसरी र किन पक्राउ परका थिए भन्ने रहस्योद्घाटन भएका दिन प्रचण्ड आफ्नो लक्ष्य पूरा गर्न केसम्म गर्न सक्छन् भन्ने तथ्य सबैका निम्ति खुल्नेछ । त्यसैले कम्युनिष्ट पार्टीभित्रको अन्तरद्वन्द्व केवल सत्ता र शक्तिका निम्ति हुन्छ र त्यस्तो अन्तरद्वन्द्व व्यक्तिको हत्यासम्म पुग्न सक्छ भन्ने तथ्यबोध हामी सबैमा हुनुपर्छ ।

तर नेपालका निम्ति दुःखको पाटो के हो भने २००७ सालमा राणा शासन विस्थापित गरेर स्थापित गरेको प्रजातन्त्र बीपी कोइराला र मातृकाप्रसाद कोइराला तथा बीपी र सुवर्ण शमशेर आदिसँगको अन्तरद्वन्द्वमै बित्यो । २०४६ मा प्रजातन्त्र प्राप्त भइसकेपछिको मूख्य समय गणेशमान सिंह र गिरिजाप्रसाद कोइराला तथा कोइराला र कृष्णप्रसाद भट्टराईबीचको द्वन्द्वकै बीच गुज्रियो । त्यसपछिको समय गिरिजा र शेरबहादुर देउवाबीचको अन्तरद्वन्द्व हेरेरै बितेको थियो । २०६३ को परिवर्तनपछि केही वर्ष प्रचण्ड र मोहन वैद्यबीच पैदा भएको मनमुटाव तथा द्वन्द्वमा रमाइयो । एक समय माधव नेपाल र वामदेव गौतमबीचको सङ्घर्षले नेपाली राजनीतिलाई गिजोलेको थियो भने अहिले दुई वर्षदेखि प्रचण्ड र केपी शर्मा ओलीबीचको द्वन्द्व मुलुककले ब्यहोर्दैछ, हामी यसैमा रमाउँदैछौँ, देशको समृद्धिको बाटोका कुरा छाडी यिनको दन्तबजानमा मनोरञ्जन लिएर हामी मुलुकको समय बर्बाद गर्दैछौँ । नेताका सत्ताकेन्द्रित द्वन्द्व हेरेर हामीले सात दशक पार ग¥यौँ, के हामीले यिनकै अन्तरद्वन्द्व हेर्नका निम्ति राजनीतिक परिवर्तनमा आफूलाई सहभागी गराएका थियौँ ?

हो, केपी शर्मा ओली आफूले पाएको सुवर्ण अवसरको भरपुर उपयोग गर्न असमर्थ देखिएका छन् । त्यसनिम्ति उनले आफ्नो वरिपरि चयन गरेको मानिस पनि मूख्य रूपले जिम्मेवार छन् । रसियाका जार निकोलस (जारशाहीसँगै) पतन हुनुको एउटा प्रमुख कारण सही मानिस उपयुक्त जिम्मेवारीमा चयन गर्न नसक्नुलाई मानिन्छ । केपी ओली जति सफल भएका छन् त्यो उनको कराणले हो, जति विवादमा आएका छन् त्यो पनि उनकै अभिव्यक्तिका कारणले हो र, जति असफल भएका छन् त्यसमा उनले आफ्नो वरिपरि राखेका अधिकाङ्श गलत मानिसको भूमिका नै जिम्मेवार देखिन्छ ।

प्रजातन्त्र भनेकै विधि र पद्धतिको शासन हो । निश्चित अवधिका लागि चुनिएका व्यक्तिले निर्धारित अवधिसम्म काम गर्न पाउने सामान्य नियम प्रजातन्त्रमा हुन्छ । केपीका कार्य परिणाम र उनका व्यवहारलाई लिएर प्रश्न उठाउन सकिने सय ठाउँ हुन सक्छन्, तर उनले लिएको अडान प्रजातन्त्रसम्मत भएको स्विकार गर्न कञ्जुस्याइँ गर्नु उचित होइन । गलत मानिसले चुनाव जित्ने व्यवस्थामा पार्क चुङ ही र ली क्वान यू खोजेर पाउन सकिँदैन । हामीसँग उपलब्ध नेताबाट नै काम चलाउनुपर्ने हुन्छ । प्रचण्डका निम्ति केपीले ठाउँ खालि गरिदिने कार्यलाई कुनै पनि दृष्टिले जायज ठहर गर्न सकिँदैन र हुँदैन पनि । विद्यमान व्यवस्थामै खोट छ र खोटी व्यवस्थामा भगवान् श्रीरामलाई नै कार्यकारी प्रमुखको जिम्मेवारी सुम्पिए पनि परिणाम सुखदायी हुन सक्दैन । त्यसैले विकल्प नै खोज्ने भए उल्टिएको यो अवस्थालाई सुल्टाउन प्रयत्न गरौँ, होइन भने खरायो धपाएर घरभित्र चितुवा प्रवेश गराउने काम नगर्नु नै नेपाल र नेपालीका निम्ति कल्याण हुनेछ । जय मातृभूमि !