कोरोना जितेका उपमेयर भन्छन्- ‘कोरोना महामारीले आत्मनिर्भर बन्नुपर्ने शिक्षा दिएको छ’

कोरोना जितेका उपमेयर भन्छन्- ‘कोरोना महामारीले आत्मनिर्भर बन्नुपर्ने शिक्षा दिएको छ’


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्घाखाँची जिल्लासचिव तथा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुरकुमार विक एक सङ्घर्षशील र उज्यालो भविष्य बोकेका युवा नेता हुन् । वर्तमान कोरोना महामारीको परिवेशमा एक जनप्रतिनिधि हुनुको नाताले महामारीपीडित जनताको सेवामा लाग्ने दायित्व हुनुका बााबजुद आफै कोरोना भाइरसबाट सङ्क्रमित हुन पुगे । अप्रत्यासित रुपले जसरी उनी सङ्क्रमित हुन पुगे, त्यत्तिकै सफलताका साथ कोरोनालाई परास्त पनि गरे । कोरोना जितेर पुनः जनसेवामा लागिपरेका उपमेयर ठाकुर विकसँँग समसामयिक विषयमा मुक्तिनाथ भुसालद्वारा गरिएको कुराकानीका केही अंश प्रस्तुत गरिएको छ ।

० तपाईं सत्तारुढ दल नेकपाका एक उदीयमान युवा नेता एवम् पार्टीको अर्घाखाँची जिल्ला–सचिवको जिम्मेवारी निर्वाह गरिरहनुभएको छ । यतिबेला तपाईंको पार्टी गम्भीर खालको आन्तरिक कलहको शिकार बनिरहेको छ । कस्तो लागिरहेको छ ?
– जबसम्म समाजमा वर्ग रहन्छ त्यति बेलासम्म पार्टी रहन्छ, जबसम्म पार्टी अस्थिर रहन्छ त्यतिबेलासम्म पार्टीमा अन्तरसंघर्ष चलिरहन्छ । अन्तरसंघर्षले नै पार्टीलाई गतिशील बनाउँछ । तसर्थ, हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समाजको प्रतिविम्ब र भिन्न पृष्ठभूमिबाट एकता भइ आएको हो । पार्टी एकताका मुल्य–मान्यता र कोरोना भाइरस (कोभिड-१९) को प्रभाव, सीमा विवाद, पार्टी सञ्चालन परिचालन र सरकारको कामलाई आफू कसरी प्रभावकारी बनाइ व्यक्तिप्रधान हैन पार्टी कमिटी निर्णय प्रधान के–कसरी बनाउने, जनताको विकास निर्माण र रोजगारिको अपेक्षालाई कसरी सम्बोधन गर्ने, राजनीति तथा राज्य संरचनामा भएका कमी–कमजोरी वा भ्रष्टाचारलाई कसरी न्युनीकरण गरी सुशासन कायम गर्ने, व्यक्ति र गुट हैन सबै मनोविज्ञानलाई के कसरी समेटेर देश र जनताको वृहत्तर हितमा परिचालन गर्ने भन्ने विषयमा भएका सकारात्मक छलफल हो । जसले पार्टी, पार्टी–नेतृत्वलाई रुपान्तरण गर्न मद्दत गर्दछ । त्यसैले पार्टीभित्रको वहस र छलफलले अझ पार्टीलाई सुदृढ एकता र रुपान्तरण गर्न मद्दत गर्दछ।

० आग्रह–पूर्वाग्रह नराखीकन भन्नुपर्दा यतिबेलाको विवादको जड के होला ? अर्थात्, दुई अध्यक्षमध्ये कसकोचाहिँ कमजोरी देख्नुहुन्छ तपाईं ?
– सतही रुपमा हेर्दा दुई अध्यक्षको लडाइँ जस्तो लाग्दछ । कसको कमजोरी भनेर मैले केही भनिरहनुभन्दा पनि आम जनाताले नै यसको परख गरिरहेका छन् ।

० केपी ओलीको छवि एक राष्ट्रवादी राजनेता जस्तो बनेको छ, यस्तैबेला प्रचण्डलाई ‘भारतीय दलाल’ भनेर नेकपाकै कार्यकर्ताहरू सडकमा नारा लगाउन थालेका छन । यसलाई कसरी लिनुहुन्छ ?
– कम्युनिस्ट पार्टी र नेतृत्व भनेको सामुहिक प्रणाली पनि हो । छलफलमा स्वतन्त्रता, काम कार्वाहीमा एकरुपता, सिद्धान्त लेनिनवादी संगठनात्मक प्रणाली महत्त्वपूर्ण पक्ष हो । त्यसैले गत पार्टीको केन्द्रीय समिति र सचिवालयको बैठकमा धेरै दुरगामी महत्वका निर्णयमध्ये सीमा विवाद र नक्सा पास गरी सार्वजनिक गर्ने विषय पार्टीका अध्यक्षद्वयसहित केन्द्रीय समिति र सचिवालयको सर्वसहमतिबाट भएको निर्णय भएकोले कसैलाई देवत्वकरण गर्नु र कसैलाई राक्षसीकरण वा कुनै मिथ्या आरोप लगाउनुको कुनै तुक छैन । अर्काेतर्फ धमिलो पानीमा माछा मार्ने वा फुटाउ र राज गर भन्ने शासकहरू वा प्रतिकृयावादीले विगतदेखि गर्दै आएको मृत्युशैयामा पुग्नुअगाडिको अन्तिम हर्कत हो । यसप्रति मेरो घोर आपत्ति छ । मेरो बुझाइमा श्रद्वयद्वय अध्यक्ष सिङ्गो पार्टीको शीर्ष नेता हो । उहाँहरूले पार्टी एकता गर्दाका मूल्य मान्यतालाई अंगिकार गर्दै पार्टीको विधि र प्रकृयालाई आत्मसात गर्दै पार्टीलाई अझ सुदृढ र एकतामा लैजान पहल गर्नुहुने छ ।

० झण्डै दुई तिहाइको नजिक रहेको दलले शासन गर्दा पनि जनताले पाउनुपर्ने राहत पाएनन्, आशा सबै निराशामा बदलियो भनी सरकारको चौतर्फी आलोचना भएको छ । सरकार असफल भएकै हो भन्ने त तपाईं पनि मान्नुहुन्छ होला नि होइन ?
– नेकपाको नेतृत्वमा भएको दुई तिहाइ बहुमतको सरकारले इतिहासमै नगरेका धेरै महत्वपुर्ण कार्य गरेको छ । २०७२ को संविधानलाई कार्यन्वयन गर्ने सवालमा ऐन कानुन बनाउने संघ, प्रदेश, स्थानीय तहमा कर्मचारी समायोजन ऐनमार्फत आवश्यक जनशक्ति व्यवस्थापन गर्ने रणनीति, महत्त्वपूर्ण बहुआयामिक योजनाहरू संचमलन गर्ने पार्टीको संस्थागत निर्णयवाट सर्वसहमति वाट नक्सा पास गर्नु, कोभिड–१९ को महामारी रोकथाम नियन्त्रण तथा उपचारको लागि प्रबन्ध गर्नु लगायतका कार्य भएका छन् । तर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना जनअपेक्षा धेरै माथिबाट हुनु जनताका चाहनाहरूलाई सम्बोधन गर्ने साधन स्रोतहरू कम हुनुको कारण कतिपय वृत्तबाट रचनात्मक टिप्पणी हुनु स्वभाविक ठान्दछु ।

० प्रमुख प्रतिपक्षी काङ्ग्रेस अत्यन्त निरिह देखिएको छ, यस्तो सजिलो अवस्थामा पनि केपी ओलीलाई सरकारभित्रैका ‘प्रतिपक्षी’हरूले काम गर्न नदिएको आरोप पनि लागेको छ । काम गर्न नदिएको हो कि काम गर्नै नसकेको होला ?
– नेकपाको दुई तिहाइको बहुमतको सरकार हुँदैमा रातारात विकास–निर्माणमा चमत्कार हुने विषय हैन । विकास र समृद्धिको लागि रणनीतिक महत्वका कार्यको थालनी भएका छन्, यसबाट सकारात्मक नतिजा त निस्कन्छ नै । जहाँसम्म प्रतिपक्षी दलको भूमिकाको सवाल छ, जनताले उसलाई दिएको म्यान्डेटअनुसार काम गरिरहेकै होला, यदि गर्न नसकेको भए त्यसको पनि जनताले मूल्याङ्कन गर्ने नै छन् । यस्तै, नेकपाभित्रै प्रतिपक्षको विषय जो उठान गरिएको छ, यो उपयुक्त होइन । वास्तवमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादलाई ग्रहण गर्दछ । माक्र्सवाद–लेनिनवादको दार्शनिक मान्यतालाई अंगिकार गर्ने भएकोले पार्टी र सरकारबीचको तादाम्यता कसरी मिलाउने, जनताको अपेक्षा बमोजिम सरकारका कार्यलाई अझ प्रभावकारी कसरी बनाउने, लाखौं नेता–कार्यकर्ताहरूलाई संगठनात्मक व्यवस्थापन गर्दै कसरी परिचालन गर्ने भन्ने विषयमा विभिन्न दृष्टिकोणबाट छलफल, बहस चल्नु स्वाभाविक हो । यहाँ काम गर्न नदिएको र काम गर्न नसकेको भन्ने दुवै कुरा सान्दर्भिक हुन सक्दैनन् ।

० प्रसङ्ग बदलौँ । आमजनतालाई कोरोनाको सङ्क्रमणबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने ओहदामा रहनुभएको तपाईं आफै कोरोनाबाट संक्रमित हुनु पुग्नुभयो । तपाईं कसरी संक्रमित हुनुभयो, र संक्रमित हुँदा कस्तो अनुभव सँगाल्नुभयो ?
– कोरोना भाइरस (कोभिड–१९) चीनको वुहानबाट विश्वब्यापी हुने सन्दर्भमा यसको प्रभाव नेपाल र अर्घाखाँची जिल्ला एवं सन्धिखर्क नगरपालिका पनि पनि अछुतो रहन सकेन । वास्तवमा कोरोना भाइरसले मानवजातिको बहुआयामिक क्षेत्रमा प्रचाव पारेको छ । जसको कारण भारत लगायत अन्य क्षेत्रबाट अर्घाखाँची तथा सन्धिखर्क नगरपालिकाका नागरिकहरू आउने क्रम जारी भयो । नेपाल सरकारले गरेको लकडाउनलाई प्रभावकारी बनाउन र कोरोना भाइरस (कोभिड–१९) लाई रोकथाम, नियन्त्रण र उपचारको व्यवस्थापनका विविध पक्षमा क्रियाशील भएका थियौँ । खास हामी सन्धिखर्क नगरपालिका जिल्लाको सदरमुकाम रहेको नगरपालिका भएकोले यसको महत्त्वपूर्ण भूमिकासम्मत हुँदोरहेछ । नगरपालिकाका १२ वटै वार्डमा क्वारेन्टाइन निर्माण, सुनौली नाकाबाट आउनुहुने नागरिकहरूलाई यातायात व्यवस्थापन र सम्बन्धित वार्डको क्वारेन्टाइनमा पठाउने, आइशोलेसन निर्माणलगायतका कार्यमा खट्ने क्वारेन्टाइनमा रहेका नागरिकहरूलाई हौसला प्रदान गर्ने, अनुगमन गर्ने राति १२ देखि २ बजे आएका गर्भवती महिला बालबालिकाहरूको व्यवस्थापन गर्ने आदिमा दिनरात खटिएका थियौँ । विशेषगरी भूमिकास्थान नगरपालिका वार्ड नं ९ निवासी ३४ वर्षीय कृष्णबहादुर गैरे भारतबाट आउने क्रममा मृत्यु भएको र निजको शव व्यवस्थापनमा सहभागी भएको र केही समयपछि उहाँलाई कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएकोले शव व्यवस्थापनको क्रममा म संक्रमण भएको भन्ने अनुमान छ । म कोरोना संक्रमण भएपछि व्यक्तिगत रुपमा मेरो स्वास्थ्यभन्दा कतै मबाट अरुमा संक्रमण भयो कि भन्ने विषयले पिरलिरहेको थियो । कन्ट्याक ट्रेसिङ अन्तरगत सम्पर्कमा रहेका परिवारसहित अन्यको स्वाब परीक्षणको रिपोर्ट पनि नेगेटिभ आउँदा सबभन्दा खुसीको अनुभूति भयो । म संक्रमित भएपछि आफ्नै निवासमा एकान्तवासमा बसेँ । शरीरमा पसिना आउने, थकावट हुने, निकै कमजोर भएको, देब्रेछातिमा अप्ठ्यारो भएको, उत्तानो परेर सुत्दा श्वास–प्रश्वासमा समस्या भएको, ४–५ दिन ज्वरोसमेत आएको र सुख्खा खोकी लागेको थियो । विशेषगरी जिल्ला आयुर्वेदिक कार्यालयबाट उपलब्ध भएका अश्वगन्ध चुर्ण, यष्टिमधु चुर्ण, गिलोए, च्यावनप्रास र अन्य थुप्रै घरायसी जडिबुटी सेवन र नियमित योगा गरेर छोटो समयमा कोरोनालाई परास्त गर्न सफल भएँ । मुख्यगरी नगरवासी आमजनसमुदायको माया–ममता र सद्भावले मेरो उच्च मनोबल बन्यो, जसको कारण छिटो निको भयो ।

० कोरोनाको परीक्षणमा सरकारी कदम अत्यन्त फितलो देखियो भन्ने कुरा स्वीकार गर्नुहुन्छ ?
– संक्रमित भएका व्यक्तिहरूको पहिचान गर्ने कार्य छिटो–छरितो हुन नसकेको कुरा सत्य हो । यसपछाडिको कारणमा यो नौलो रोग भएकोले पनि हो । हामी मात्र होइन विश्वका सक्षम भनिएका मुलुक पनि कोरोनाबाट थला परेका छन् । यस्तोमा हामीले आफ्नो आलोचना गरिरहनु त्यति जायज छैन ।

० विश्व महाव्याधिका रूपमा देखिएको ‘कोभिड–१९’ले २१औं शताब्दीको सिङ्गो मानव समुदायलाई के पाठ सिकाएको छ भन्ने लाग्छ तपाईंलाई ?
– कोरोना भाइरसको महामारीले २१औँ शताब्दीमा सिङ्गो मानवजातीलाई चुनौती र अवसरको ढोका खोलिदिएको छ । यतिबेला सबभन्दा विकसित र सम्पन्नशाली देशहरूलाई कोरोनाको संक्रमणले थला पारेको छ । अहिलेसम्म गरिव वा विकासोन्मुख देशलाई मात्र नभई अझ सबभन्दा सम्पन्नशाली देशहरूलाई क्षतविक्षत बनाएको छ । धनी–गरिव, कालो गोरो, जातीय–लिङ्गीय र क्षेत्रीय नभनी सबैलाई कोरोनाले आक्रमण गरेकोले अब मानव जातिको रक्षार्थ एकता र संकल्पले मात्र यसलाई प्रतिरोध गर्न सकिन्छ भन्ने मान्यतालाई स्थापित गरेको छ । अर्काेतर्फ हाम्रो देश नेपालवाट रोजगार वा अन्य कारणले देश बाहिर जाने जुन लहर थियो, पुनः आफ्नो जन्मभूमि फर्केर बााँझो जग्गा खनजोत गरी आत्मनिर्भर बन्नुपर्ने सन्देश पनि दिएको छ । मुख्यतः विश्व स्तरमा पारेको आर्थिक सङ्कटलाई टार्न नयाँ तरिकाले सोच्नुपर्ने वा आफ्नो माटोमा टेकेर उत्पादन बढाइ आत्मनिर्भर बन्नुपर्ने शिक्षा दिएको छ ।

० तपाईंको बुझाइमा यतिबेला कोरोना संक्रमणको अवस्था कस्तो छ, बढेर महामारी चर्किएला कि घटेर जाला भन्ने लाग्छ ?
– विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्डलाई सबै नागरिकले आत्मसात गर्ने हो भने कोरोना संक्रमण क्रमशः घट्दै जान्छ । विशेषगरी कोरोजा भाइरस जोखिम क्षेत्रबाट आउनुहुने नागरिकहरूलाई व्यवस्थित रुपले मापदण्ड बमोजिम प्रबन्ध गर्ने हो भने त्यति जटिल हुँदैन । अर्कोतर्फ मापदण्डलाई आत्मसात नगर्ने सबै क्षेत्रलाई खुला छोडिदिने हो भने इटली र अमेरिकाभन्दा भयावह अवस्था हुन सक्छ । तसर्थ कोरोना भाइरसलाई फैलिन दिने या नदिने आमनागरिकको हातमा छ ।

० जोखिम बढेर अनियन्त्रित माहामारीको अवस्था भएमा रोकथाम र उपचारका लागि कुनै विशेष तयारी छ अर्घाखाँची नगरपालिकाको ?
– अर्घाखाँचीका ६ वटै स्थानीय तहले कोरोना संक्रमणबाट कसरी बच्ने वा नागरिकको रक्षा कसरी गर्ने भन्ने बारेमा पूर्वयोजना बनाएर लागेका छौँ । त्यसैले ठुलो महामारीको रुपमा आउन सक्ला जस्तो लाग्दैन, किनकि अर्घाखाँचीका सचेत नागरिकहरू आफैले उच्च सतर्कता अपनाउनुभएको छ । हामीले जिल्लावासी तथा नगरवासीहरूलाई परिचालन गर्ने र कोरोना भाइरस फैलिन नदिने अहिलेसम्मका अनुभवबाट संश्लेषित गरेका मूल्य–मान्यता र मापदण्डहरूलाई प्रभावकारी रूपले कार्यन्वयन गर्न अन्य विकासे बजेट काटेर भए पनि मानवजातीको लागि चुनौतीको रुपमा आएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि बजेट व्यवस्थापन गरेका छौँ । आवश्यक पर्ने जनशक्ति तथा परीक्षणका लागि चाहिने किटको पनि प्रबन्ध गर्ने कार्ययोजना रहेको छ ।

० नगरवासीलाई कोरोना संक्रमणबाट सुरक्षित गर्न नगरपालिकाले खासै भूमिका निर्वाह गर्न नसकेको गुनासो छ । यो आरोप हो कि यथार्थ ?
– नागरिकहरूको रक्षाका लागि हामी जनप्रतिनिधिहरू दिनरात नभनी खटेका छौँ । स्थानीय तमाम नागरिकले जनप्रतिनिधिहरूले राम्रो कार्य गरेका छन् भनेर प्रशंसा गरेको पाइयो । एकाध व्यक्तिहरूले अझ राम्रो काम गरून् भनेर सकारात्मक टिप्पणी गर्नुभएको छ, उहाँहरूलाई हामी सम्मान गर्छाैँ । तर, दिनलाई रात र रातलाई दिन भन्ने पूर्वाग्रही मानसिकताबाट धारणा राख्नेहरूलाई हाम्रो भन्नु केही छैन ।

० न्यायिक समितिको संयोजकका जिम्मेवारी तपाईंको काँधमा छ, यस क्रममा कस्तो उपलब्धि हासिल भएको छ या कठिनाई झेल्दै हुनुहुन्छ रु के–कस्ता झमेला आउँदा रहेछन् ?
– नेपालीको संविधानको धारा २१७ बमोजिम स्थानीय तहको उपप्रमुख वा उपाध्यक्ष न्यायिक समितिको संयोजक बन्ने व्यवस्थाबमोजिम स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार हामी निर्वाचित भएको पहिलो नगरसभाबाट नगरसभा सदस्यबाट दुई जना न्यायिक समितिमा निर्वाचित गरी सन्धिखर्क नगरपालिकामा न्यायिक समिति क्रियाशील भएको छ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७ को उपदफा १ बमोजिमका १३ वटा प्रकृतिका विवादलाई निरुपण गर्ने र दफा ४७ को उपदफा २ बमोजिमका १३ वटा प्रकृतिका विवाद मेलमिलापको माध्यमबाट विवादलाई समाधान गर्ने कानुनी व्यवस्थाबमोजिम नगरपालिकाले विभिन्न विवादहरू निरुपण गर्ने काम गरेका छौँ । हालसम्म आएका वा न्यायिक समितिमा दर्ता भएका विवादहरू मेलमिलापबाट समाधान गर्ने गरेका छौँ । न्यायिक समितिको संयोजक भएर काम गर्दा राम्रो अनुभूति भएको छ । न्यायिक समितिको क्षेत्राधिकार लगायतका विषयमा वार्ड स्तरमा सचेतना फैलाउने, वार्ड स्तरमा मेलमिलाप केन्द्र गठन गरी न्यायिक समितिको कार्यलाई अझ प्रभावकारी बनाउने सोच बनाएका छौँ ।

० नगरपालिकाको योजना अनुगमन गर्दा योजनाहरूको अवस्था र समस्या के पाउनुभएको छ ? तर्जुमा गरेका योजनाहरू सोचअनुरुप कार्यान्वयन भएका छन् वा छैनन् ?
– स्थानीय सरकार संचालन ऐन २०७४ र स्थानीय तहको वार्षिक योजना तर्जुमा दिग्दर्शन २०७४ (परिमार्जित) बमोजिम स्थानीय तहबाट संचालन भएका सम्पुर्ण वार्षिक योजना तथा कार्यक्रमहरूको सुपरिवेक्षण तथा अनुगमन गर्नको लागि उपप्रमुख तथा उपाध्यक्षको संयोजकत्वमा योजना अनुगमन तथा सुपरिवेक्षण समिति रहने व्यवस्था भएअनुसार सन्धिखर्क नगरपालिकामा मेरो संयोजकत्वमा योजना अनुगमन तथा सुपरिवेक्षण समिति क्रियाशील रहेको छ । समग्र योजना अनुगमन गर्दा विगतमा भन्दा धेरै सुधार भएको छ । विगतमा जनप्रतिनिधि नभएको सन्दर्भमा भएका काम कार्य र त्यतिबेलाको काम गर्ने कार्यशैलीमा गुणात्मक सुधार भए तापनि अझै पनि केही अवशेषहरू बाँकी रहेका छन् । कोभिड–१९ को कारण भएको लकडाउन र छिट्टै वर्षाद सुरु भएकोले अपेक्षाअनुसार कार्य हुन नसके तापनि कोरोना संक्रमणको जोखिमबाट नगरवासिहरूलाई जोगाउन नगरपालिकाबाट गरेका कार्य अनुकरणीय छन् ।नगरपालिकाको वार्षिक योजना तथा कार्यक्रमलाई आर्थिक वर्ष २०७७–७८ लाई प्रभावकारी बनाउन ‘सबै नगरवासीको रहर सुन्दर समृद्ध सन्धिखर्क नगर’ भन्ने नारालाई सार्थक बनाउन तपाईं–हामी सबैको सहकार्यबाट सम्भव छ । त्यसको लागि हामी सबैले आ–आफ्नो ठाउँमा योगदान दिन अनुरोध गर्दछु ।