नेपालमा कोरोना भाइरसबाट संक्रमित संख्या १७,६५८

नेपालमा कोरोना भाइरसबाट संक्रमित संख्या १७,६५८


नेपालमा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङमा आइतबार (४ साउन) दिइएको जानकारी अनुसार अब नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ६ सय ५८ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५८ जना कोरोना संक्रमित डिस्चार्ज भएको बताए । यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या ११ हजार ६ सय ९५ पुगेको छ । देशभरका २७ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको पनि उनले बताए ।

हाल २२ हजार ६ सय ६२ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै, काठमाडौं उपत्यकामा आइतबार थप तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाडौंका एक तथा ललितपुरका दुई जनामा संक्रमण पुष्टि भएको हो ।

यसैबीच कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिले धेरै संख्यामा नेपाली रहेका देशहरुमा उद्दार उडानलाई प्राथमिकता दिने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले धेरै श्रमिकलाई उद्धार गर्न बाँकी रहेका देशहरुबाट श्रमिकहरुलाई ल्याउन हवाई उडानलाई प्राथमिकता दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिएअनुसार कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लक डाउनको सन्दर्भमा परिमार्जन गर्न सम्बन्धित मन्त्रालयबाट मन्त्रिपरिषदमा प्रस्ताव लैजाने गरी छलफल गर्ने निर्णय भएको छ ।