दलदलमा फसेँ

दलदलमा फसेँ


■ सरिता लामिछाने

समाज भन्छ मोज अनि मस्ती गरी बसेँ
थाहा छैन कुन्नि कुन दलदलमा फसेँ
यौवन धान्न भन्दा पनि गारो पऱ्यो पेट पाल्न
खुशी दिन ग्राहकलार्ई सोह्र श्रृङ्गार घसेँ
थाहा छैन कुन्नी कुन दलदलमा फसेँ
इच्छा अनि मन्जुरी त लिलामीमा गइसक्यो,
प्यास मेट्न आतुर भइ अङ्ग–अङ्ग डसे
थाहा छैन कुन्नी कुन दलदलमा फसेँ
दिनहुाँजसो ४–५ जना फरक–फरक भोगाइ छ,
अब यही अनुभवमा रम्ने सुर कसेँ,
थाहा छैन कुन्नी कुन दलदलमा फसेँ,
साँझ पखको श्रृङ्गारदेखि घुर्दै हेर्छन् घरबेटीले,
कलङ्किनी बनी समाजको नजरबाट खसेँ
थाहा छैन कुन्नी कुन दलदलमा फसेँ
श्रीमतीलाई तर्साउँछन् मलाई पैसा वर्षाउँछन्,
श्रीमती भुली यौनकर्मीको सैयाभित्र पसेँ
समाज भन्छ मोज अनि मस्ती गरी बसेँ,
थाहा छैन कुन्नि कुन दलदलमा फसेँ ।

(सर्जक अपाङ्गता भएकी महिला अभियन्ता हुन् ।)